पार्टीको कार्यक्रममा नदेखिएका किसन श्रेष्ठको दाबी' पार्टी एकता नभई एमालेमा जान्न'

पार्टीको कार्यक्रममा नदेखिएका किसन श्रेष्ठको दाबी' पार्टी एकता नभई एमालेमा जान्न'

काठमाडौँ : मन्त्रिपदबाट हटेसँगै एकीकृत समाजवादीको राष्ट्रिय परिषद् भेलामा नदेखिएका किसान श्रेष्ठले पारिवारिक समारोहका कारण भेलामा नदेखिए पनि आफू पार्टीमै रहेको बताए।

अन्तिम समयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समूह छाडेर उनी माधवकुमार नेपाल समूहमा सहभागी भएर पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा आएका थिए।

पार्टीले पहिलो चरणमा सरकारमा सहभागी गराएका सबैलाई मन्त्रीबाट हटाएर नयाँ पठाउने भएपछि उनीसहित चारै जना असन्तुष्ट बनेका थिए। पार्टीलाई धम्क्याउन १० सांसदको हस्ताक्षरसहित ध्यानाकर्षण पत्र दिए पनि त्यसको कुनै प्रभाव नपरेपछि मन्त्री पद छाडेर हिँडेका थिए।

त्यसपछि उनी पार्टीको कार्यक्रममा सहभागी भएका छैनन्। दल बदल्न खप्पिस श्रेष्ठ र अर्का मन्त्री प्रेम आलेले एमालेमै फर्कन ओलीसँग आफू निकटहरूलाई कुरा गर्न लगाएको सार्वजनिक भइरहेको बेला यी दुवै पार्टीको महत्त्वपूर्ण कार्यक्रममै देखिएनन्।

उनले एकीकृत समाजवादी पार्टी एमालेसँग एकता भए मात्र आफू पनि एमालेमा जाने बताउँदै अहिले एकीकृत समाजवादीमै रहेको बताए।

'पारिवारिक रूपमा वैवाहिक समारोह भएर अहिले तनहुँमा छु। संसद् पनि छैन। यो बेला पारिवारिक कारणले तनहुँमा भएकाले केन्द्रीय परिषद् बैठकमा नगएको हुँ,' उनले भने' एमालेमा जानेबारे कुनै सोच छैन। भोलि पार्टी नै एकता भएछ भने छुट्टै कुरा। असन्तुष्टि चित्त नबुझ्ने  भन्ने पनि केही छैन।'

१४ असार, २०७९, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।