सिल्क उद्यमी जानकी जो व्यवसायमा जमिन्, राजनीतिमा डुबिन्

सिल्क उद्यमी जानकी जो व्यवसायमा जमिन्, राजनीतिमा डुबिन्

समाजसेवी तथा उद्यमी जानकी प्रधान श्रेष्ठ यतिबेला विभिन्न मेला तथा कार्यक्रममा व्यस्त छिन्। नेपाल चेम्बर अफ कमर्सको वुमन चेम्बर कमर्स, लिडिङ वुमन एसोसिएसन, नेपाल साना तथा घरेलु उद्योग महासंघ ललितपुर महानगर समिति लगायत विभिन्न संस्थामा आवद्ध रहेकी जानकी महिला सशक्तीकरण अभियानमा पनि सक्रिय छिन्।

रेशमका कपडा उत्पादन, डिजाइनिङ र व्यापारमा संलग्न जानकीले गोसाई भेन्चर र किम्बु द शेरी वर्ल्ड कम्पनी सञ्चालन गरेकी छिन्। किम्बु द शेरी वर्ल्ड कम्पनीले नेपालमा रेशम किरासँग सम्बन्धित र अर्गानिक वस्तुसँग सम्बन्धित रहेर एग्रो इको टुरिजम सम्बन्धी कार्य गर्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘महिलालाई उद्यमी बनाउनु नै मेरो मुख्य उद्देश्य हो।’

सानैदेखि सिल्कको कपडा भनेपछि हुरुक्कै हुने जानकी आमाको सिल्कका सारीहरु झिकेर काटकुट पारी नयाँ डिजाइन गरेर लगाउँथिन्।

परिवारकी कान्छी छोरीको रुपमा जन्मिएकी जानकीको बाल्यकाल पुल्पुलिएरै बित्यो। ८ कक्षामा पढ्दै गर्दा बुबा गुमाएकोले पनि परिवारबाट धेरै माया पाएको उनको अनुभव छ।

पढाइमा सानैदेखि अब्बल जानकी ८ कक्षाबाट एकै चोटी १० कक्षामा भर्ना भएकी थिइन्। एसएलसी पनि राम्रो अंकका साथ उत्तीर्ण भइन्। र, एसएलसी पास गरेको भोलिपल्टैदेखि नजिकैको स्कुलमा पढाउन थालिन्।

एसएलसीपछि घरबाट डाक्टर बन्नुपर्छ भन्दै उनलाई साइन्स विषयमा भर्ना गरिदिए। ‘पहिला-पहिला राम्रो पढ्ने विद्यार्थीलाई साइन्स नै पढ्नुपर्ने दबाब हुन्थ्यो। मैले पनि साइन्सका लागि परीक्षा दिएँ। नाम पनि निस्कियो,’ जानकीले भनिन्।

कलेज पढ्ने तयारी हुँदै गर्दा उनको विवाह भयो, जतिबेला उनी १६ वर्षकी मात्र थिइन्। विवाहपछि पनि उनले आफ्नो जागिरलाई भने निरन्तरता दिइन्। स्कुल पढाउने क्रममै जाडो महिनाको बिदामा उनी नारी विकास संस्थान र युएनडिपीको संयुक्त आयोजनामा भएको रेशमबाट धागो काट्ने तालिममा सहभागी भइन्।

स्कुलमा रेशमको जीवनचक्र पढेकी जानकी प्रत्यक्ष रुपमा तालिम लिन पाउँदा औधि खुसी भइन्।

जानकी भन्छिन्, ‘मलाई सिल्क एकदमै मनपर्ने। यसकै तालिम आएपछि त नलिने कुरै भएन। नेपालमै सिल्क बनाउन सकिने रहेछ भनेर थाहा पाएपछि रुचि झन् बढ्दै गयो।’

एक महिनाको तालिमबाट उनले सिल्कका बारेमा धेरै जानकारी प्राप्त गरिन्। रेशमको कोयाबाट धागो काट्न सिकिन्। धागो काट्दै गर्दा नेपालमै धागो उत्पादन गर्ने सोच पलायो।

तर, विवाहपछि उनको जीवन त्यति सहज रुपमा चलेन। विवाह भएको वर्ष दिनमै बच्चा जन्मियो। बच्चा भएपछि बाहिर जागिर खान असहज हुँदै गयो। बच्चा माइतीमा राखेर स्कुल पढाउन जान थालिन्। विवाहपछि पढाइमा निरन्तरता पनि दिन सकिनन्। उनले बच्चा दुई वर्षको भएपछि मात्र प्लस टु पूरा गरेकी थिइन्। त्यसको चार वर्षपछि नै जानकीले अर्को सन्तान जन्माइन्। २२ वर्षकी हुँदा उनी दुई सन्तानकी आमा भइसकेकी थिइन्।

दोस्रो सन्तान भएको केही वर्षपछि पढाउने काम छोडेर उनी एउटा प्रिन्टिङ अफिसमा सेक्रेटरीको रुपमा काम गर्न थालिन्। त्यहाँ काम गर्दा उनले धेरै मान्छेसँग संगत गर्न पाइन्।

त्यहाँ केही वर्ष काम गरेपछि उनले युनाइटेड पार्सल सर्भिसमा सेल्समा एक्जिक्युटिभको जिम्मेवारी सम्हालिन्। त्यहाँ चार वर्ष काम गरिन्। त्यतिखेरसम्म उनका तीन सन्तान भइसकेका थिए।

घरमा परिवारको संख्या बढेसँगै जिम्मेवारी पनि बढेको कारण उनले त्यस काममा निरन्तरता दिन सकिनन्। त्यसपछि डेढ वर्ष सम्म उनि त्यत्तिकै गृहिणी भएर घरमै बसिरहिन्। तर, सिल्कप्रति मोह भने कम भएको थिएन। त्यसैले ८ वर्ष अगाडि आफूले लिएको तालिमको सदुपयोग गर्दै उनले सिल्कको व्यवसाय गर्ने योजना बनाइन्।

२०५९ सालमा जानकीले ४० जना महिलालाई सिल्कको कपडा बनाउने तालिम दिइन्। त्यसपछि सानेपामा सिल्कको सानो कारखाना खोलिन् र २५ जना तालिमप्राप्त महिलालाई रोजगारी पनि दिइन्।

जानकीले सुरुमा फ्याक्ट्रीको लागि पाँच वटा तान किनिन्। रेशमका लागि खोपासी पुगिन्। कपडा रंग्याउन र बुट्टा भर्नको लागि जेकार्ड मेसिन पनि किनिन्। लुगा सिलाउनका लागि भारतबाट मास्टर ल्याइन्। आफ्नो उनको फ्याक्ट्रीमा मास्टर र हेल्पर बाहेक अन्य सबै महिला रहेको उनी बताउँछिन्।

२०६४ मा जानकीको नेतृत्वमा पहिलो पटक नेपालमै २०० ग्रामको रेशमको सारी बन्यो। अनि उनले रेशमकै विभिन्न कपडा बनाइन्। आफूले उत्पादन गरेका कपडाको प्रचार गर्न विभिन्न फेसन शोहरुमा भाग लिइन्। यसरी शोहरुमा भाग लिने क्रममा युरोपियन युनियनको बीटुबी कार्यक्रममा भाग लिएको र नेपालबाट ११ जना सहभागी भएकोमा आफू एक्लै महिला रहेको उनी अहिले पनि सम्झिन्छिन्। ‘त्यसमा पनि नेपाली रेशमको मात्र गर्ने चाहिँ म मात्र थिएँ। त्यहाँ मेरो कपडाको धेरै माग भयो। तर माग अनुसारको कच्चा पदार्थ थिएन, उनले भनिन्।

कच्चा पदार्थ सीमित हुँदा जानकीले माग भएजति सामान बिक्री गर्न सकिनन्। उनी भन्छिन्, ‘टाई मात्र एक कन्टेनर देऊ भनेका थिए। मलाई त सपना जस्तै लागेको थियो।’

२०५९ सालमा भाडामा लिएर फ्याक्ट्री खोलेकी जानकीले ठाउँ अपुग र भाडा महँगो भएकोले पछि आफ्नै दिदीको खाली जग्गामा टहरा बनाएर फ्याक्ट्री बनाइन्। त्यहाँ उनले फ्याक्ट्री सँगसँगै तालिम केन्द्र पनि चलाइन्। 

नेपालमै पनि एउटा शोरुममा महिनाको ३० वटा सारी दिनको लागि धौधौ भएको जानकी सम्झिन्छिन्। ग्राहकको माग अनुसारले काम गर्न नसक्दा २०६५ सालमा उनले आफ्नो फ्याक्ट्री नै पूर्ण रुपमा बन्द गर्नुपर्यो। फ्याक्ट्री बन्द भएपछि जानकीले कर्मचारीलाई नै चर्खा, तान लगायतका समानहरु दिइन्। 

फ्याक्ट्री बन्द भएपछि उनले गाउँ-गाउँ गएर सिल्क कपडा बनाउने तालिम दिइन्। अहिले भने उनी रेशमका कपडा आउटसोर्सिङ गर्छिन्। आउटसोर्सिङ गर्दा पनि कच्चा पदार्थको कमी भइरहेको उनको भनाइ छ। 

कच्चा पदार्थको समस्या भएसँगै २०७१ सालमा उनले किम्बु द शेरी वर्ल्ड कम्पनी दर्ता गरेकी हुन्। नेपालमा सरकारी निकाय अन्तर्गत भएका जति पनि रेशम खेतीका जग्गा छन् त्यहाँ आवद्ध भए काम गर्ने उनको योजना छ। उनका अनुसार कच्चा पदार्थ बढाउन पहिला किम्बु खेती गर्न आवश्यक हुन्छ। त्यसपछि रेशम किरा पाल्नुपर्छ। अनि कोकुनबाट कोया बनाउँदै धागो निकाल्नुपर्ने हुन्छ। नेपाल रेशम खेतीका लागि सबैभन्दा उपयुक्त ठाउँ भएको उनी बताउँछिन्।

विदेशी लगानीकर्ता समेत आकर्षित भएकोले रेशम खेतनी गर्ने जानकीको योजना थियो। २०७१ को अन्तिममा त्यो योजना कार्यान्वयन गर्ने तयारी रहेको भए २०७२ को सुरुमै भूकम्प आएका कारण आफ्नो योजना अधुरो नै रहेको उनी बताउँछिन्।

२०७३ सालदेखि यही योजना पूरा गर्न सम्बन्धित निकाय धाए पनि, लगानीकर्ताहरु आए पनि सरकारबाट भने सहयोग नपाएको उनको गुनासो छ। कोभिड महामारीपछि त आफ्नो योजना झनै पछाडि धकेलिएको उनी बताउँछिन्। ‘हिम्मत हारेकी छैन। कुनै न कुनै दिन पूरा गरेरै छाड्छु,’ उनी भन्छिन्। 

ललितपुर महानगरको उपप्रमुखमा उम्मेदवारी
राजनीतिक पृष्ठभूमि नभए पनि जानकीले भर्खरै सम्पन्न स्थानीय चुनावमा राष्ट्रिय सुशासन पार्टीबाट ललितपुर महानगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी थिइन्। पार्टीको नेतृत्व गरिरहेका पूर्वडिआइजी रमेश खरेलसँग पारिवारिक सम्बन्ध भएका कारण खरेलकै आग्रहमा आफू उम्मेदवार बनेको उनी बताउँछिन्।

‘रमेश खरेलले नयाँ पार्टी खोलेपछि मलाई पार्टीका अजेण्डा बताउनुभयो। त्यसपछि ल गरौं न त भनेर पार्टी प्रवेश गरें,’ उनी भन्छिन्।

जानकीले निर्वाचनमा ४६२ मत प्राप्त गरिन्। एक त राजनीति नै नगरेको व्यक्ति त्यसमाथि छोटो समयको चुनावी तयारीका बाबजुद आफूले प्राप्त गरेको मतप्रति उनी खुसी नै छिन्। ‘राजनीति विशाल र गहन विषय रहेछ,’ उनी भन्छिन्, ‘परिस्थितिले साथ दिए आगामी चुनावमा नगर प्रमुख वा सांसद नै हुने योजनाका साथ अघि बढ्ने छु।’

१३ असार, २०७९, १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।