दिलमाया सुनार मृत्यु प्रकरण: हत्या भएको भन्दै परिवारले दियो किटानी जाहेरी

दिलमाया सुनार मृत्यु प्रकरण: हत्या भएको भन्दै परिवारले दियो किटानी जाहेरी

काठमाडौंः फेसबुकमा विरहको लामो सन्देश लेखेको भोलिपल्ट बाँनियाटारस्थित आफ्नै कोठामा मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको भन्दै मृतकका परिवारले प्रहरीमा उजुरी दिएका छन्। गायिका दिलमायाका पिता केशर विकले प्रहरी वृत बालाजुमा किटानी जाहेरी दिएका हुन्।

आत्महत्या गरेको दिन कोठामा सँगै भएको भनिएका सूर्य श्रेष्ठविरुद्ध परिवारले किटानी जाहेरी दर्ता गराएका हुन्। प्रहरीले उनलाई आइतबारै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ। अनुसन्धानका क्रममा उनी गायिकासँग लिभिङ टुगेदरमा बस्ने गरेको खुलेको थियो।

यस्तै अनुसन्धानमा उनले घटनाको रात आफू उनकै कोठामा रहेको र घटनामा प्रयोग भएको सल पनि आफैँले लगेको सम्म स्वीकारेका छन्। त्यो दिन रक्सी खाएकाले निदाएको र बिहान ब्युँझदा गायिका पासो लागेको अवस्थामा मृत देखेपछि डराएर सल बोकेर लगेर फालेको उनले दावी गरेका छन्।

प्रहरीले भने आत्महत्याका लागि प्रयोग गरिएको भनिएको सल महाराजगञ्ज र धुम्बाराहीको बीचतिरको नालीमा फेला पारेको थियो।

प्रहरीले अनुसन्धान जारी राखेको छ। श्रेष्ठलाई यतिबेला प्रहरीले बालाजु वृत्तको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

गायिका सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय थिइन्। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समयअघि काठमाडौंमा आयोजना गरेको छैठौं खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित भएकी थिइन्।

सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य थिइन्।

१३ असार, २०७९, ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।