बुटवलको 'लर्ड बुटवल क्लब' र प्रहरीबीच सेटिङ : मारमा स्थानीय

बुटवलको 'लर्ड बुटवल क्लब' र प्रहरीबीच सेटिङ : मारमा स्थानीय

बुटवलः बुटवलमा सञ्चालित रात्रिकालीन व्यवसाय र डान्सबारका कारण स्थानीयले हैरानी खेप्दै आएका छन्। प्रहरी भने रमिते बनेको छ।

डान्सबारमा आउने ग्राहकले रातभर हल्ला गर्दा स्थानीयले सुत्न समेत पाउँदैनन्। मदिरा सेवन गरी होहल्ला गर्ने, अश्लील शब्द बोल्ने, सडकमै मदिरा पिएर बस्ने, झगडा गर्ने, मध्यरात ठुलो-ठुलो स्वरमा मोटसाइकल चलाउँदा हैरान छन् बुटवल कालिकानगरका स्थानीय। 

तर प्रहरी अनि स्थानीय प्रशासनले थाहै नपाएजस्तै गर्ने गरेको स्थानीयको गुनासो छ। स्थानीयले बिहान २ देखि ३ बजेको बीचमा गस्ती बढाउन आग्रह गरे पनि प्रहरीले वास्ता नगरेको उनीहरूको गुनासो छ। 

बुटवलको कालिकानगरमा होराइजन चोकदेखि एक सय मिटर उत्तर पश्चिममा लर्ड बुटवल डान्सबार एण्ड क्लब छ। यही क्लबमा आएका ग्राहकले स्थानीयलाई हैरान बनाएका हुन्। डान्सबार साँझ ८ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ। 

क्लबभित्रको गतिविधिले स्थानीयलाई असर गरेको छैन। क्लबभित्र जान नपाएकाहरु सडकमै बसेर हल्ला गर्ने, क्लब बन्द भएपछि निस्कने समूहबीच हुने झगडा, होहल्लाले निदाउनै नदिने गरेको स्थानीयको गुनासो छ।

कालिकानगरका स्थानीय लीला अर्याल डान्सबार व्यवस्थित ढंगले चलाउनुपर्ने बताउँछन्। भित्रको सांगीतिक कार्यक्रमका आवाज बाहिर नआए पनि डान्सबार बाहिर हुने होहल्लाबाट स्थानीय आजित भएको उनले बताए। 

‘व्यवसाय गर्न पाउने उहाँको अधिकार हो। हामीलाई कुनै पनि गुनासो छैन। यसमा प्रहरीले स्थानीयलाई शान्तसँग बस्ने वातावरण बनाउनुपर्छ। त्यसका लागि कम्तीमा राती २ बजे तिर २/३ पटक प्रहरीको गस्ती त्यहाँ बढाए पनि होहल्ला कम हुन्छ’, उनले भने।

विशेषगरी युवा पुस्ताहरू डान्सबारमा गएर होहल्ला गर्ने, सडकमै झगडा गर्ने, अश्लील शब्द प्रयोग गर्ने गरेको गुनासो त्यहाँका स्थानीयको छ। 

लर्ड बुटवलले ६ महिनाअघि मात्र रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने भन्दै प्रशासन र प्रहरी कार्यालयलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो। मुद्दाको फैसला लर्ड बुटवलकै पक्षमा भएपछि अहिले डान्सबार निर्वाध रूपमा राति २ बजेसम्म चल्ने गरेको छ।

डान्सबारभित्र जान नपाउनेहरूले सडकमै गीत गाउने, जथाभावी बोल्ने र राती २ बजे डान्सबारबाट निस्कदा पनि होहल्ला गर्ने, ठूलो आवाजमा मोटरसाइकल कुदाउँदा रातभर सुत्न समेत नसक्ने अवस्था रहेको स्थानीय शालिकराम पौडेलले बताए।

‘भित्र के हुन्छ हामीलाई थाहा हुन्न। तर राति बाइकमा हर्न बजाएर रातभर दौडाउने, अश्लील शब्द बोल्ने गर्न भएन। यो डान्सबारले जिम्मेवारी लिनुपर्छ’, उनले भने।

उनले शुक्रबार अझ बढी होहल्ला हुने समेत बताए। यतिसम्मकी डान्सबारका कतिपय ग्राहक अबेर बिहानसम्म डान्सबार बाहिर वियरका बोतलसँगै सडकमै पल्टिने गरेका छन्।

लर्ड बुटवलका म्यानेजर रविन केसी डान्सबारभित्र साउण्ड प्रुफ भएको र भित्रको आवाज बाहिर नजाने र बाहिर हुने हल्लाले आम नागरिकलाई अप्ठयारो नपारेको दाबी गर्छन्।

उनले घर जाने बेला राति सामान्य हल्ला हुनु स्वाभाविक भए पनि डान्सबार बाहिर हुने गतिविधिमा आफूहरू जवाफदेही नहुने बताए।

‘भित्र केही हुँदैन। घर जाँदा केही खाएको बेला अलि अलि हल्ला हुन्छ नै। मोटरसाइकलको आवाजले पनि केही डिस्टर्व गर्ला। यसलाई सामान्य ढंगले स्थानीयले लिनुपर्छ’, उनले भने।

उनले अदालतबाट राति व्यवसाय सञ्चालनका लागि अनुमति नै पाएको बताउँदै डान्सबारको परिभाषा स्थानीयले पनि बुझ्नुपर्ने बताए। अहिले कालिकापथ होटल, रेष्टुराँको हब बनिरहेको अवस्थामा हल्ला भयो भन्ने गुनासो आउनु स्वाभाविक भएको उनले बताए।

यता प्रहरीले पनि अदालतबाट रातिसम्म व्यवसाय सञ्चालनको अनुमति ल्याएको भन्दै यसबारे केही गर्न नसक्ने बताउँदै आएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले राति व्यवसाय सञ्चालन गर्न उसले पाउनुपर्ने तर त्यही व्यवसायका कारण समाजलाई खलल पुग्ने गतिविधि भने डान्सबारले गर्न नपाउने बताए। 

उनले डान्सबारबाहिर राति गस्ती बढाइने समेत बताए।

यता बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले डान्सबारबाट स्थानीयले पाएको सास्तीबारे वडामा कुनै पनि गुनासो नआएको बताए। 

डान्सबारका कारण लडाइँ झगडा हुने गरेको, स्थानीयहरूले सास्ती व्यहोर्नुपरेको यथार्थ भए पनि स्थानीयबाटै वडामा गुनासो भने नआएको बताए। 

उनले होहल्ला गर्ने, अश्लील शब्द बोल्ने युवायुवती नै भएको भन्दै आफूले पनि प्रहरीलाई त्यहाँ रातमा गस्ती बढाउन आग्रह गर्ने बताए।

१३ असार, २०७९, ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।