झापा गाउँपालिकामा विपन्नका लागि ६३० घर निर्माण

झापा गाउँपालिकामा विपन्नका लागि ६३० घर निर्माण
साङ्केतिक तस्बिर

झापाः विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न झापा गाउँपालिकामा ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दीगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपालको साझेदारीमा ती घर निर्माण भएका हुन्।

गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले बताए।

अरू केही घर निर्माणको क्रममा रहेको उनले जानकारी दिए। सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।

परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिएको छ। एउटा घर निर्माणमा रु एक लाख ८५ हजार लागेको छ।

सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाअन्तर्गत आवास निर्माण गर्दै आएको छ। 

१३ असार, २०७९, ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।