उपत्यकामा हैजा संक्रमण झन् फैलँदै: १२ जनामा पुष्टि, झाडापखालाले भक्तपुरमा बालकको मृत्यु

उपत्यकामा हैजा संक्रमण झन् फैलँदै: १२ जनामा पुष्टि, झाडापखालाले भक्तपुरमा बालकको मृत्यु

काठमाडौं उपत्यकामा हैजा संक्रमित हुनेको संख्या बढिरहेको छ। उपत्यकामा असार १२ गते (आइतबार) सम्ममा हैजा संक्रमितको संख्या १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए।

शनिबारसम्म नौ जनामा देखिएको हैजा आइतबार थप तीन जनामा पनि पुष्टि भएको थियो।

डा. दासका अनुसार संक्रमितमध्ये आठ जना पुरुष र चार जना महिला छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना, पाटन अस्पतालमा दुई जना र वयोधा अस्पतालमा एक जना उपचाररत रहेको उनले जानकारी दिए।

त्यसैगरी स्टार अस्पतालमा उपचार गराइरहेका एक जना संक्रमित भने डिस्चार्ज भएको उनले जानकारी दिए। अस्पताल भर्ना भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

हालसम्म काठमाडौंको बागबजार, डिल्लीबजार, बोहराटार, बल्खु, नैकाप, कपन, थानकोट र ललितपुरको सानेपामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ।

१२ संक्रमितमध्ये आठ जनामा कल्चर पोजेटिभ र बाँकी चार जनामा आरडीटी पोजेटिभ देखिएको महाशाखाले जनाएको छ।

असार २ गते हैजा संक्रमण (जीवाणु) देखिएयता संक्रमितको संख्याको ग्राफ निरन्तर उकालो लागेको छ। सुरुमा संक्रमित भई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई दिदी बहिनी शनिबार डिस्चार्ज भइसकेको टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।

अस्पतालका अनुसार ती दिदी बहिनी नौ दिनमा डिस्चार्ज भएका हुन्।

निर्देशक डा. दासका अनुसार जेठ २ गते टेकुमा भर्ना भएका १८ र २३ वर्षका झाडापखाला लागेका ती दुईमध्ये एकको स्वास्थ्य अवस्थामा जटिलता समेत निम्तिएको थियो। उनलाई आइसीयूमै राख्नुपरेको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार ती दुवै जना काठमाडौं महानगरपालिका वडा नं. २८ (बागबजार) का बासिन्दा थिए।

हालसम्म भेटिएका संक्रमित (१२ जना) पनि स्वास्थ्य परीक्षण गराई संक्रमण पुष्टि भएका संक्रमित हुन्। अस्पताल नै नगई परीक्षण नगराएका कति संक्रमित छन् भन्ने यकिन तथ्याङ्क छैन।

दैनिक औसत १० जना झाडापखालाका बिरामी टेकु अस्पताल पुग्ने गरेको सूचना अधिकारी गौतमले जानकारी दिए। यो टेकु अस्पतालमा मात्रै पुग्नेको संख्या हो। अरू अस्पतालमा पनि शंकास्पद बिरामी थुप्रै पुग्ने गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन व्यक्ति कति सचेत हुन्छन् र यसको नियन्त्रणका लागि कस्तो कदम चालिन्छ भन्ने विषयले आगामी दिनमा हैजाको प्रकोपले कस्तो स्वरूप लिन्छ भन्ने भर पर्ने बताउँछन्। 

असोजसम्म नै हैजाको संक्रमणको बढी जोखिम हुने डा. पुन बताउँछन्। निर्देशक डा. दास पनि हैजा संक्रमण कति समयसम्म रहने हो भनेर अनुमान गर्न नसकिने बताउँछन्। उनी भन्छन्,‘यो त ठ्याक्कै यतिसम्म भन्न सकिँदैन। हामी सबै सचेत हुनुपर्छ।’

विभिन्न ठाउँमा हैजा देखिएकाले हैजाले कुन रूप लिन्छ भन्ने विषयमा अहिले आकलन गरिहाल्न नसकिने चिकित्सक बताउँछन्।

मेयर बालेन्द्रसँग हैजाको विषयमा छलफल
पहिलो हैजा संक्रमण पुष्टि भएदेखि नै हैजा नियन्त्रण, रोकथाम र उपचारका लागि विभिन्न सरोकारवालासँग छलफल भइरहेको निर्देशक डा. दासले जानकारी दिए।

खानेपानी विभाग, केयूकेएल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्यूसी), युनिसेफ, विश्व स्वास्थ्य संगठन, इकोएन, काठमाडौं महानगरपालिका, काठमाडौं र ललितपुरको स्वास्थ्य कार्यालयलगायतसँग निरन्तर बैठक बसिरहेको उनी बताउँछन्।

त्यसैगरी काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग समेत हैजाका विषयमा छलफल भएको महाशाखाका निर्देशक डा. दासले जानकारी दिए। मेयर शाहलाई जनचेनतना बढाइदिने लगायतका विषयमा अनुरोध गरिएको उनले सुनाए। मेयर शाहले पनि यसमा सक्रियता देखाएको उनले जानकारी दिए।

उनले भने,‘उहाँ (मेयर)ले जनचेतना बढाइसक्नुभएको छ। कल सेन्टर राख्नुभएको छ। उहाँ पनि लाग्नु भएको छ।’

त्यसैगरी काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठी बागबजारमा हैजा देखिएदेखि नै जनचेतना र घरदैलोदेखि  अनुगमनलगायतको काम गरिएको बताउँछन्। प्रत्येक विद्यालयमा बालबालिकाका लागि सरसफाइका बारेमा कक्षा लिन भनिसकिएको उनले बताए। 

‘एफएम र काठमाडौंबाट हुने कार्यक्रमबाट पनि सूचना जारी गरेका छौं। माइकिङ गरेका छौं,’ अर्यालले भने, ‘समस्या चाहिँ खानेपानी र फुटपाथका खानपान हो कि भन्ने अड्कल गरियो।’

पानीमा संक्रमण 
केयूकेएलले गरेको परीक्षणका क्रममा कतिपय बोरिङ र संक्रमितले प्रयोग गरेको पानीमा हैजाका जीवाणु देखिएको त्रिपाठीले बताए। 

काठमाडौंको बागबजार, डिल्लिबजार र ललितपुरको सानेपा गरी संक्रमण देखिएको तीन ठाउँको ट्युबेल र धाराको पानीको नमूना लिएको निर्देशक डा. दासले जानकारी दिए।

तीमध्ये बागबजार र डिल्लिबजारको नमूनाको रिपोर्टमा कोलिफर्म र इकोलाई देखिएको छ। अन्य ठाउँको नमूना लिए पनि रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

बूढानीलकण्ठ नगरपालिकाले जाँच गरेको पानीको नमूनामा पनि कोलिफर्म र इकोलाई देखिएको निर्देशक डा. दासले जानकारी दिए। ‘बूढानीलकण्ठले हेरेकोमा जारको पनि इकोलाई देखिएको छ,’ उनले भने, ‘सबै ठाउँमा हेर्दा पानी दूषित भएको देखिएको छ।’

अन्य खाद्यपदार्थको भने जाँच नभएको उनले बताए।

तर, कहाँबाट पानी दूषित भयो भन्ने यकिन भइनसकेको उनले बताए। एक ठाउँमा मात्र नभइ धेरै ठाउँमा संक्रमण देखिएकाले कहाँबाट संक्रमण भयो भन्ने पत्ता लगाउन चुनौती हुने चिकित्सक बताउँछन्।

बिरामीको सर्भिलेन्स भइरहेको र संक्रमण पुष्टि भएका वरिपरि भने अन्य संक्रमित नदेखिएको महाशाखाले जनाएको छ।

भक्तपुरमा तीन वर्षे बालकको मृत्यु
भक्तपुरमा झाडापखाला तथा बान्ता भएका करिब तीन वर्षका बालकको मृत्यु भएको छ। भक्तपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीधर अर्यालका अनुसार ती बालकको शनिबार अस्पताल पुग्नुपूर्व नै मृत्यु भइसकेको थियो। 

‘एक दिनअघि (बच्चालाई) झाडाबान्ता भएको रहेछ। अलि गम्भीर (सिभियर) जस्तै’, डा. अर्यालले भने, ‘गाह्रो भयो भनेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो।’

तर, झाडापखालाको कारणले हो वा अन्य के कारणले बच्चाको मृत्यु हो भन्ने यकिन नभएको उनले बताए। झाडापखालाको मौसम भएकाले छानबिनका लागि बच्चाको मृत्युबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र झक्तपुर स्वास्थ्य कार्यालयमा खबर गराएको डा. अर्यालले जानकारी दिए।

भक्तपुर अस्पतालमा दैनिक ३/४ जना झाडापखालाका बिरामी आउने गरेको डा. अर्यालले जानकारी दिए।

१३ असार, २०७९, ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।