निश्चल बस्नेतमाथिको 'अभिनय' भ्रम जति चाँडो तोडिए उति राम्रो

निश्चल बस्नेतमाथिको 'अभिनय' भ्रम जति चाँडो तोडिए उति राम्रो

काठमाडौँ : कुनै एक काममा सफलहुँदैमा ती व्यक्ति अन्य काममा पनि उत्तिकै सफल हुन्छन् भन्ने भ्रम देखिन्छ। अझ यो भ्रम नेपाली फिल्म क्षेत्रमा त भाइरलै बनेर फैलिएको छ। त्यस्तै एक भाइरल हुन निश्चल बस्नेत। बस्नेतले आफूलाई फिल्म निर्देशकको रूपमा अब्बल प्रमाणित गरिसकेका छन्। उनले निर्देशन गरेका सबै फिल्मको स्तर एकै नभए पनि नेपाली फिल्मको ट्रेन्ड बदल्न उनको निर्देशनमा बनेको'लुट' को योगदान थियो नै।

उनी निर्देशनमा अब्बल हुँदैमा अभिनयमा पनि उत्तिकै अब्बल हुने योग्यता त हैन। कसैलाई अभिनय गराउन सके भन्दैमा आफू पनि उत्तिकै अभिनय गर्न सक्छन् भन्ने पनि हुन्न। तर त्यसपछिको बस्नेतको यात्रा हेर्ने हो भने निर्देशन कम अभिनय ज्यादा देखिन्छ।

म्युजिक भिडियोदेखि लिएर फिल्महरूमा समेत उनी अभिनयमा व्यस्त हुन थाले। तर उनी निर्देशनमा जति बलियो देखिएका थिए अभिनयमा त्यतिकै काँचो। उनी अभिनयमा कमजोर भए पनि करले हो या रहरले हो उनले अभिनयको रफ्तार घटाइ नै रहे।

तर एकै फिल्मबाट राम्रो निर्देशकको छवि बनाएका उनले जति अभिनय गरे पनि कच्चा नै रहिरने। उनको अभिनयमा न नयाँपन आउन सक्यो न कुनै सकारात्मक सुधार। तै पनि उनको डिमान्ड भने घटेन। प्रसादमा पनि उनको अभिनय उस्तै नै थियो। विपिन अनि नम्रताको खारिएको अभिनयका कारण फिल्म सफल हुँदा हल्का क्रेडिट त उनले पनि पाउने नै भए। तर फिल्ममा उनको अभिनयको स्तर हेर्ने हो भने फिल्म सुहाउँदो थिएन।

प्रसाद सफल भएपछि त्यही टोलीले प्रसाद-२ बनाउने भएपछि चल्तीका नायक बराबरको पारिश्रमिकमा उनलाई अनुबन्ध गरेको थियो। फिल्ममा विपिन कार्की अनि नम्रता श्रेष्ठ त हुने नै भए। सँगै निश्चल पनि पक्का भएका थिए।

तर फिल्मको औपचारिक घोषणा हुनुभन्दा अगाडि नै निश्चल फिल्मबाट बाहिरिए। उनको स्थानमा फिल्म निर्माण टोलीले अर्पण थापासँग सम्झौता भइसकेको छ। फिल्मको मिश्रित प्रतिक्रिया आए पनि चिसो मान्छेमा अर्पण र स्वस्तिमाले राम्रो अभिनय गरेका छन्। अर्पण खारिएका अभिनेता हुन्। निश्चलले अभिनय गर्ने भूमिकामा अर्पण देखिँदा फिल्म कमजोर हैन पक्का थप बलियो देखिन सक्छ। विपिनलाई अर्पणले भूमिकामा मात्रै हैन अभिनयमा पनि टक्कर दिन सक्छन्।

१२ असार, २०७९, १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।