चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदारले जगदीश घिमिरेको ‘साबिती’ मा अभिनय गर्दै

चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदारले जगदीश घिमिरेको ‘साबिती’ मा अभिनय गर्दै

काठमाडौँ :  चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित नाटक थिएटर भिलेजले मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा असार १७ गतेदेखि १९ सम्म शिल्पी थिएटरमा नाटक मञ्चन हुने भएको हो।

नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौँमा आइसकेकी छिन्। २०७० मा थिएटर भिलेजले यसै नाटक मार्फत शताब्दिपुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट 'सत्यमोहन जोशी नाटक घर' उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो।

तर प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो। त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो।

हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो। यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन्।

धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन्। उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठुलो धोको थियो। तर पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उनको मृत्यु भएपछि आफ्नो मनमा गहिरो चोट बसेको उनी बताउँछन्।

'नेपाली रङ्गमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तराष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्य अनुरूप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने सङ्कल्प गरेका थियौँ' उनी स्मरण गर्छन्।

अभिनयको लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एन्ड भिज्युअल आर्ट्स को अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसङ्गति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदाङ्गो पारेको बताउँछिन्।

मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लाग्ने उनी बताउँछिन् ।

थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ पनि मञ्चन गरेको थियो।

१२ असार, २०७९, १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।