गण्डकीलाई समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

गण्डकीलाई समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई समृद्ध बनाउने सपना पूरा गर्न निजी क्षेत्रको साथ अपेक्षा गरेको बताएका छन्।

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले खबरदारीसँगै रचनात्मक सहयोग गरेको अवस्थामा समृद्धिको सपना पूरा गर्न सकिने बताए। उनले भने,‘गण्डकीलाई समृद्ध बनाउने हाम्रो सपना छ। त्यो सपना पूरा गर्न प्रदेश सरकारले सामर्थ्य, क्षमता हेरेर निजी लगायत सबै क्षेत्रसँग सहकार्य गर्न तयार छ।’

मुख्यमन्त्री पोखरेलले गण्डकीले जलविद्युतबाट मात्र पनि पर्यटन,कृषि लगायत अन्य धेरै क्षेत्रमा पनि सहकार्य गर्ने सक्ने बताए। उनले भने, ‘कालिगण्डकी करिडोरमा एउटा मात्र बिद्युत्को टावर नबन्दा बिजुली खेर गइरहेको छ। त्यहाँ एउटा टावर बनेको अवस्थामा रातको समयमा प्रयोगमा नआएको बिजुली भारत बेच्न सकिन्छ । जलविद्युतमा अरू धेरै सम्भावना र अवसर छ।’ 

प्रदेशभित्रका विगतको महामारीबाट अर्थतन्त्र तहसनहस हुँदा निजी क्षेत्र अघि बढ्दा प्रदेश सरकार समन्वयसँगै सहजीकरण गर्न तत्पर रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले रचनात्मक रूपमा साथ दिएमा निजी क्षेत्र र सरकार सँगै अघि बढेर प्रदेशलाई समृद्ध बनाउन सकिने बताए। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा।रघुराज काफ्लेले नीतिगत रूपमा समस्या परेका क्षेत्रकाको समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउँदै अड्चन परेका क्षेत्रमा छलफल गर्न तयार रहेको बताए। 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले प्रदेशमा पर्याप्त काम हुन नसकेको बताए। उनले तीन तहका सरकारबीच समझदारी नहुँदा निजी क्षेत्रले प्रदेशबाट पर्याप्त लाभ लिन नसकेको बताए। 

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का गण्डकी अध्यक्ष जगत पोखरेलले गण्डकीमा जलविद्युतमा आधारित अर्थतन्त्र बलियो बन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले यसमा भूमिका खेल्नु पर्ने बताए। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताए। उनले विदेशमा पर्यटन खुले पनि नेपालमा अझै सहज नभएको भन्दै सरकारले बनाएको प्रोटोकलका कारण पर्यटकलाई आउन समस्या भएको उल्लेख गरे।  उनले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार सँग मिलेर काम गर्न तयार रहेको जनाए। 

११ असार, २०७९, २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।