१२ वर्षमा बल्ल बन्यो मणिग्राम-मोतीपुर पुल

१२ वर्षमा बल्ल बन्यो मणिग्राम-मोतीपुर पुल

बुटवल : इन्जिनियरको गलत डिजाइनका कारण रुपन्देहीको तिलोत्तमास्थित तिनाउ नदीमा निर्माण भइरहेको एउटा पुल १२ वर्षपछि बल्ल निर्माण सकिएको छ। बुद्ध सर्किट सडकमा पर्ने मणिग्राम–मोतीपुर जोड्ने उक्त पुल २५ असार २०६७ सालमा सम्झौता भई निर्माण सुरु भएको थियो।

६ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलका तीन वटा फाउन्डेसनमा चट्टान परेका कारण निर्माणको काम रोकिएको थियो। निर्माण सुरु भएको ११ वर्षपछि गतबर्ष सो पुलको डिजाइन नै परिवर्तन गरी काम थालिएको थियो।

वैकल्पिक डिजाइन स्वीकृत भएपछि गतबर्ष पुलको काम सुरु भएको थियो। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले १२ वर्षमा पुलको काम सकिएको बताए। पुलको भोलि शनिवार गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम छ।

पुलको लम्बाई १८५ मिटर छ। चौडाइ ११ मिटर छ। त्यसमा दुवै तर्फ १ दशमलव ७५ मिटर फुटपाथ रहेको छ भने साढे ७ मिटरको डवल लेनमा सवारी चलाउन सकिन्छ।

पुलको तीन वटा फाउन्डेसन (जग) र दुई स्ल्याप ढलान भएपछि पुल रोकिएको थियो। यसअघि बेल फाउन्डेसन (कुवा जस्तो) डिजाइनमा स्वीकृत भएको थियो। तर सम्झौता र डिजाइन अनुसार १७ मिटर जमिनबाहेक जानुपर्ने फाउन्डेसनमा कडा चट्टान परेपछि जम्मा ७ देखि १० मिटरसम्म भित्र गएको थियो।

त्यसपछि सडक विभागको पुल महाशाखाबाट विभिन्न चरणमा छलफलपछि बेल फाउन्डेसनलाई परिवर्तन गरी पाइल फाउन्डेसन बनाउने वैकल्पिक डिजाइन स्वीकृत भएपछि गतबर्षदेखि पुनः निर्माण थालिएको थियो।

पहिलो चरणमा २०६९ पुस २४ गते सक्ने गरी १२ करोड रुपैयाँमा काठमाडौँको एलिट कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको ठेक्का पाएको थियो। तर निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीको अन्तिम म्याद २०७७ फागुन १३ गतेसम्म थप गरिएको थियो। त्यसपछि ०७९ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो।

पुल निर्माणपछि बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८, शुद्धोदनको मानपकडी, मानमटेरिया देखि सुर्यपुरा, सियारीका स्थानीयलाई बुटवल आउन सहज र नजिक पर्नेछ।

अहिले त्यहाँका स्थानीयले मटरघाटको पुल प्रयोग गर्दै आएका थिए। यो पुल निर्माण सम्पन्न भएपछि मगरघाटमा हुने जाम कम हुने डिभिजन प्रमुख मरासिनीले बताए।

१० असार, २०७९, २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।