रवीले भने : रमेश खरेलसँग छलफल भयो, बालेन र हर्कलाई स्वागत गर्न तयार छौँ

रवीले भने : रमेश खरेलसँग छलफल भयो, बालेन र हर्कलाई स्वागत गर्न तयार छौँ

काठमाडौँ :  प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शुक्रवार गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता सबै आफूहरूले मान्ने बताए। पार्टीको राजनीतिक एजेन्डादेखि आफूमाथि लागेका आरोप र दाजु हरिशरण लामिछानेसँगको सम्बन्धबारे पत्रकार सम्मेलनमा उनी खुलेर बोले।

उनले सङ्घीयता खर्चिलो रहेको र यसमा व्यापक सुधार चाहिने भए पनि आफूहरू यही व्यवस्थाभित्र बसेर अवस्था बदल्ने पक्षमा रहेको बताए।

केही समयदेखि उनका दाजु हरिशरण लामिछानेले उनीमाथि कटाक्ष गर्दै आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गरिरहेका छन्। स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका हरिशरणले रवीले सार्वजनिक गरेको नातावादबारे कटाक्ष गरिरहेका छन्।

उनले दल घोषणा गर्नु पहिले र आफू राजनीतिमा आउनु पुर्वको समयमा दाइँसँग छलफल र परामर्श गरेको दाबी गरे।

अहिलेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको पक्षमा राम्रो माहौल देखिएकोले आगामी संसदीय निर्वाचनमा प्रभावकारी बनाउन सकिन्छ भनेर पार्टीको नाम स्वतन्त्र राखिएको उनले लुकाएनन्।

रमेश खरेल र रवीन्द्र मिश्रसँग मिल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा सम्भावना रहेको सुनाए। तर, अहिले एकता वा सहकार्यको विषयमा छलफल नचलेको उनले बताए।

'रमेश खरेलसँग कुराकानी भएको छ। सौहार्दपूर्ण रूपमा कुराकानी भएको छ। हर्क साम्पाङ र बालेन्द्र शाहसँग छलफल हुन पाएको छैन। उहाँहरू काममा हुनुहुन्छ। अहिले सम्पर्क हुन पाएको छैन,' उनले भने' बरु, तपाईँहरुले यो आइडिया दिनुभएको छ। बालेन, हर्कहरूलाई पार्टीमा जोड्न पाउनु खुसीको कुरा हो। स्वागत गर्न तयार छौँ।'

१० असार, २०७९, २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।