भस्मे डनले दिक्क विपिनले पशुपति प्रसाद-२ नखेल्ने

भस्मे डनले दिक्क विपिनले पशुपति प्रसाद-२ नखेल्ने

काठमाडौँ : अभिनेता विपिन कार्कीको अभिनय करिअरको टर्निङ पोइन्ट' पशुपति प्रसाद' को भस्मे डनको भूमिका नै हो। त्यसपछि नै फिल्महरूमा उनको माग बढ्न थाल्यो। तर अधिकांश फिल्मकर्मीले उनीबाट त्यही भस्मेकै क्यारेक्टर खोज्न थालेपछि उनलाई मन परेन।

प्राय हरेक अभिनयमा नयाँ चरित्र रुचाउने उनी निर्देशकहरूमा रहेको भस्मे डनको ह्याङबाट यति बिच्किए कि निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने ‘पशुपति प्रसाद २’ मा अभिनय नै नगर्ने भएका छन्।

फिल्ममा खगेन्द्र लामिछाने नै मुख्य भूमिकामा छन् तर विपिन छैनन्। यो फिल्ममा विपिनले अभिनय गर्न नचाहनुको कारणबारे निर्माण पक्षले सेयरसँग लगेर समेत जोडेका छन्।

विपिनले फिल्मको नाफाको ५० प्रतिशत सेयर मागेको चर्चा समेत छ। यसबारे दुबै पक्ष मौन छन्। विपिन निकट स्रोतका अनुसार सेयरभन्दा पनि उनी भस्मे डनको भूमिकामा पुन पर्दामा दोहोरिन नचाहेका हुन्।

'बल्ल-बल्ल भस्मे डनको छविबाट बाहिर आएकाले पुन त्यही भूमिकामा अभिनय गर्न नचाहेको हो,' विपिन निकट स्रोतले भन्यो' सिक्वेल भन्दैमा उही क्यारेक्टर दोहोर्याउनुपर्छ भन्ने छैन। तर निर्माण पक्ष उहाँबाट पुरानै क्यारेक्टर खोजेपछि अस्वीकार गरेको हो।'

१० असार, २०७९, १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।