रवी टिमले भन्यो : 'स्वतन्त्र शब्दमा निर्वाचन आयोगले असहमति जनाए नामको विकल्प छ'

रवी टिमले भन्यो : 'स्वतन्त्र शब्दमा निर्वाचन आयोगले असहमति जनाए नामको विकल्प छ'

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवी लामिछानेले आफ्नो पार्टी स्वतन्त्र उम्मेदवारहरूको विरोधमा नआएको बताएका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले स्वतन्त्रको नाम राखेर धेरैले तयारी गरिरहेको भन्दै अब पार्टीको नामबारे निर्वाचन आयोगले नै निर्णय गर्ने बताए।

'आयोगले स्वतन्त्र नाम जोड्दा हुँदैन भन्यो भने हामीले मात्र बल गरेर हुँदैन। स्वतन्त्रको मुभमेन्टको सदुपयोग गर्न सकिन्छ भनेर यो नाम राखेका हौँ। विश्वका धेरै देशमा स्वतन्त्र रहेछन्,' उनले भने।

उनले आफ्नो पार्टीले स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने दाबी गरे। उनले कुनै क्षेत्रमा स्वतन्त्र उम्मेदवार उठेमा सहयोगका लागि आफ्नो पार्टीबाट उम्मेदवारी नै नदिन समेत तयार रहेको दाबी गरे।

शुक्रवारको पत्रकार सम्मेलनमा पार्टीका दोस्रो व्यक्ति डा मुकुल ढकाल प्रवक्ताको रूपमा सार्वजनिक भएका थिए। निर्वाचन आयोगमा बुझाएको २१ जनाको नाम अझैँ सार्वजनिक भएको छैन। ढकालले पार्टीले जसलाई टिकट दियो उसैलाई जिताउन मतदाता बाध्य हुने गरेको भन्दै प्रस्तावित पार्टीबाट उम्मेदवार बन्न चाहनेहरूका लागि पहिला आन्तरिक निर्वाचनबाट चुनिएर आए मात्र टिकट दिइने दाबी गरेका थिए।

उनले आयोगले प्रस्तावित नामलाई मान्यता दिन्छ भन्ने विश्वास रहेको भन्दै दर्ता गर्न नमानेमा आफूहरूसँग विकल्प रहेको बताए। 

१० असार, २०७९, १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।