भरतपुर महानगरको बजेट पाँच अर्ब ४२ लाख : मासिक सात हजार लिटर पानी निःशुल्क दिँदा तीन करोड खर्च हुने

भरतपुर महानगरको बजेट पाँच अर्ब ४२ लाख : मासिक सात हजार लिटर पानी निःशुल्क दिँदा तीन करोड खर्च हुने

चितवन : भरतपुर महानगरपालिकाको पाँच अर्ब ७४ करोड ४२ लाखको बजेट पेस गरेको छ। चालु आर्थिक वर्षका लागि गत वर्ष बजेट प्रस्तुत हुँदा चार अर्ब ८४ करोड रहेको थियो। गत वर्षको सुरवाती बजेटको तुलनामा यस वर्षको बजेट ९० करोड बढी छ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगर सभा पेस गरेको बजेटमा आन्तरिक आयमा एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२  करोड ११ लाख र, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख , जनसहभागिताबाट ३७ करोड, बैङ्क मौज्दात एक अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट तीन करोड रहने प्रक्षेपण गरिएको छ।

महानगरपालिकाको एकीकृत सहरी विकास गुरुयोजना तर्जुमा गर्ने, महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सतह ढल निर्माण, विद्युतीय बसको खरिद गर्ने, महानगरभित्र अत्यावश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण, भरतपुरको मुख्य सहरी क्षेत्रलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन, हरियालीसहितको नमुना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, आकाशे पुल निर्माण, आयोजना बैङ्क निर्माणलगायतका सहरी सौन्दर्य र भू उपयोग तथा बस्ती विकाससम्बन्धी कामका लागि २८ करोड विनियोजन गरिएको छ।

शिक्षामा १३ करोड छुट्टाइएको छ। नक्सा प्रणालीलाई व्यवस्थित गर्नुका साथै विद्युतीय नक्सा पास प्रक्रियालाई सुदृढ गर्ने र भवन संहितासम्बन्धी तालिम सञ्चालन गर्ने, कृषि तथा पशु विकास महानगरपालिकाभित्र ग्राभेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्न बजेट छुट्टाइएको छ।

स्वास्थ्य सेवाका लागि सात करोड, महानगरपालिका भित्र मासिक सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महसुल महानगरपालिकाले भुक्तानी गर्न तीन करोड र फोहोर मैला व्यवस्थापन र पार्क एवं हरियालीका लागि सात करोड बजेट विनियोजन गरिएको छ।

१० असार, २०७९, १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।