काठमाडौँ महानगरका ’नमुना विद्यालय’ जसलाई नमुना भन्दा हेडमास्टरै लजाए

काठमाडौँ महानगरका ’नमुना विद्यालय’ जसलाई नमुना भन्दा हेडमास्टरै लजाए

सामुदायिक विद्यालयको घट्दो साख जोगाउन सरकारले २०७४ मा नमुना विद्यालयको कार्यक्रम ल्यायो। अभिभावक अनि विद्यार्थीहरूलाई सामुदायिक विद्यालयप्रति आकर्षित गर्न  त्यही वर्ष एक सय विद्यालयलाई ’नमुना विद्यालय’ भनेर घोषणा पनि गर्यो।

स्थानीय तह कार्यान्वयनमा आएसँगै विद्यालयहरू उसको जिम्मामा पुग्यो। तर केन्द्रीय मापदण्ड अनुसार आफ्नो निकायमा कुनै पनि विद्यालय नमुनामा नपर्ने देखेपछि निकायहरूले आफ्नै मापदण्ड बनाएर 'नमुना विद्यालय' को सङ्ख्या बढाउन थाले।

०७८ असारमा काठमाडौँ महानगरले ३२ वटै वडामा एउटा-एउटा नमुना विद्यालय बनाउने ३२ वटै विद्यालयलाई नमुना भनेर छनौट गर्यो। यो वर्ष त त्यो सङ्ख्या पनि बढाएर ८९ वटै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा अघि बढाउने तयारीमा छ।

महानगरले ’नमुना’ भनेका विद्यालयमा पुग्दा नमुनै बढी देखिन्छन्। महानगरको यो योजना विद्यालयको स्तरोन्नति बढाउन भन्दा पनि नतिजा देखाउन जबरजस्ती ’भिराइएको ट्याग’ हो भन्ने प्रस्टै हुन्छ।

हरेक वडामा एउटा नमुना विद्यालय बनाउने घोषणा कार्यान्वयन गर्दा एउटा वडामा एउटा मात्रै विद्यालय छ भने त्यो स्वतः नमुना विद्यालयमा परिहाल्यो। त्यस्तै कुनै वडामा २ वटा नमुना विद्यालय भएका छन्।

'नमुना विद्यालय' ले अन्य विद्यालयको तुलनामा सकारात्मक नमुनायोग्य केही विशेषता भएको विद्यालय भएको हुनुपर्ने हो। विद्यालयको भौतिक सुविधा, पठनपाठन शैली, विद्यालयले अपनाएको सिकाई शैली अनि वातावरण अन्यको भन्दा फरक हुनुपर्ने हो।

’नमुना विद्यालय’ कस्ता हुने रहेछन् भनेर विद्यालयमा पुग्दा विद्यार्थी सङ्ख्या २ सय पनि नपुगेको अनि २ हजार  बढी भएको विद्यालय पनि नमुना विद्यालयमै परेको देखियो। तीन आना जग्गामा विद्यालयको भवन भएकोदेखि ७ रोपनी जमिन भएको विद्यालय पनि नमुनैको सूचीमा भेटिए। अनि ती विद्यालय नमुनाको सूचीमा पर्दा पाउने सुविधा वर्षको २ लाख।

नमुनाको सूचीमा परेका विद्यालयले अनुभव गर्ने भनेको 'हामी पनि नमुनामा पर्यौ' भन्ने मात्र देखियो।

स्थलगत अवलोकनमा भेटिएका अधिकांश नमुना विद्यालयका प्रधानाध्यापकहरूले ’महानगरले नमुना भनेको विद्यालय जोकसैले पनि हेर्न आउँदा थाहा भइहाल्ने' प्रतिक्रिया दिँदै आफैँले पाएको 'नमुना' माथि ब्यङग्य गरे।

महानगरको शिक्षा विभागका अधिकारी केन्द्रले बनाएको नमुना विद्यालयको आधारहरू महानगरको परिवेश नमिल्ने भएकाले आफ्नै मापदण्ड बनाएको बताउँछन्।

केन्द्रीयको आधार मात्र हेर्दा काठमाडौँ महानगरको सन्दर्भमा कुनै पनि सामुदायिक विद्यालय नमुना नहुने देखिएको विभाग प्रमुख राम प्रसाद सुवेदी स्विकार्छन्। त्यसैले आफ्नो परिवेश अनुसार मापदण्ड तोकिएको उनको तर्क छ।

विद्यालयमा न्यूनतम किसिमले बैठक बसेको हुनुपर्ने, शिक्षक अभिभावक सङ्घहरू गठन भएको हुनुपर्ने, शिक्षकको दरबन्दीहरू पुरा भएको हुनुपर्ने, कक्षा कोठाहरू पुरा र विद्यार्थीमैत्री भएको हुनुपर्ने, लगायतको विद्यालयहरू हेरेर ’नमुना विद्यालय’ घोषणा गर्ने गरेको उनले बताए।

उनका अनुसार यदि ती सब मापदण्ड नभए पनि हरेक न्यूनतम विद्यार्थीको सङ्ख्या, भौतिक पूर्वाधार, सरसफाइ, विद्यालयको गुणस्तर वृद्धि, शिक्षकहरूले निर्वाह गरेको भूमिका, विद्यालय व्यवस्थापन समितिले गरेका निर्णय, विद्यालयले गरेका थप नमुना अभ्यास जस्ता विषयहरूलाई आधार बनाएर नमुना विद्यालय छनोट हुने गरेका छन्।

महानगरका ’नमुना विद्यालय’ कस्ता छन् ?

वडा नम्बर १ : नन्दी मावि

यस वडामा ४ वटा सामुदायिक विद्यालय छन्। त्यसमध्ये नमुना भनेर छनौट भएको विद्यालय हो श्री नन्दी मावि। नक्सालको नाग पोखरी क्षेत्रमा छ यो। पाँच सय विद्यार्थी रहेको यस विद्यालयमा शिक्षक ३७ जना र कर्मचारी ४ जना छन्।

सुरुमा प्राथमिक तह मात्र भएको विद्यालय हाल मावि सम्म पुगेको छ। यो मात्र काठमाडौँको त्यस्तो विद्यालय हो जहाँ एउटै भवनमा नन्दी रात्रि मावि र नन्दी मावि गरी २ वटा विद्यालय चलिरहेका छन्।

२०४६ अघि सम्म संयुक्त भएर रहेको विद्यालय त्यसपछि छुट्टिए। करिब ७ रोपनी क्षेत्रफल भएको विद्यालयको जग्गा भने गुठीको नाम छ। मन्दिर सहितको जग्गा विद्यालयमा समावेश छ। जग्गामा खासै विवाद नभए पनि भवनमा तला भने विद्यालयले थप्न पाउँदैन।

विद्यालय नमुनाको सूचीमा परेपछि आएको पैसाले खाने पानीको फिल्टर हालेको प्रधानाध्यापक गीता काफ्लेले बताइन्।

'नमुना विद्यालय त भन्यो तर कुन शीर्षकमा कति खर्च गर्ने भनेर छुट्टाएको छैन’ उनी भन्छिन्, 'त्यो बजेटले शिक्षकको तालिम गर भनेको छ। त्यति बजेट खाजा र यातायात खर्चमै जान्छ।’

उनी नमुनाको सूचीमा पर्नु र नपर्नुमा खासै भिन्नता नरहेको बताउँछिन्। सरकारले दिने वार्षिक बजेटमा जम्मा २ लाख मात्र थपिने भएकाले थप सुधारका काम समेत केही गर्न नसकिने उनले उकेरासँग बताइन्।

'बाल विकासका विद्यार्थीहरूलाई राम्रो फर्निचर छैन। खेलकुदको सामग्रीहरू पर्याप्त छैन। सरसफाइमा पनि उत्तिकै चुनौती भइरहेको छ।  त्यसमा सुधार गर्न त्यत्ति बजेटले के गर्ने?’ उनले भनिन्' वडाको एउटा विद्यालयलाई नमुना मान्ने भनेर २ लाख रुपैयाँ बढी दिएको नमुना विद्यालय कस्तो नमुना हुन्छ र! महानगरको यो योजना नराम्रो त होइन। तर, यसलाई नमुना भन्दा पनि विद्यालय सुधारको लागि अलि बढी आर्थिक सहयोग मात्र भनेको भए हुने।'

यस विद्यालयको नजिक अन्य पनि धेरै सामुदायिक विद्यालय छन्। टंगाल मावि, धुम्रबराह मावि, शिवपुरी मावि, बाँसबारी मावि, पद्मकन्या र विजय स्मारक मावि। सामुदायिक विद्यालय पढ्ने विद्यार्थीलाई जुन नजिक पर्यो त्यतै जान्छन्।

वडा नम्बर ६ : जनकल्याण मावि

यस वडामा ३ वटा सामुदायिक विद्यालय छन्। त्यस मध्ये नमुना छनौट भएको विद्यालय हो श्री जनकल्याण मावि। बौद्धको महांकाल पानी ट्याङ्की हुँदै आरुवारि जाने बाटोमा यो विद्यालय छ।

यस विद्यालयमा अहिले २३ समय भन्दा बढी विद्यार्थी पढिरहेका छन्। शिक्षकहरू ६० जना छन्। विक्रम संवत् १९९० साल भन्दा अगाडी देखिनै लुरे नामक गुरुले मन्दिरको सत्तलमा पढाउन सुरु गरेको विद्यालय २०१० मा औपचारिक रूपमा ३ जना विद्यार्थी लिएर कक्षा ३ सम्मको पढाइबाट विद्यालय सुरु भएको हो।

०४६ सालमा कक्षा ५, ०५४ मा ६, ०५६ मा ७ र ८ को अनुमति लिँदै निमावि सम्म भएको र ०५८ सालमा एसएलसीको पहिलो ब्याच जम्मा १५ जना विद्यार्थी सहित सामेल भएको थियो। ०६४ देखि भने दश जोड दुइको पढाई पनि सुरु भयो।

’नमुना विद्यालय’ हुनु भन्दा अगाडी महानगरले धेरै कागजातहरू मागेको भए पनि मापदण्ड अनुसारको कार्य भने नभएको विद्यालयको प्रधानाध्यापक कुमारी कमला राई बताउँछिन्।

'महानगरले आफ्नो योजना सफल भएको देखाउन कुनै वडामा विद्यालय नै नभएको कारणले र कुनै वडाको भने २ वटा विद्यालयलाई पनि नमुना छनौट गरेका छन्'  उनी भन्छिन्, 'प्रतिस्पर्धात्मक रूपमा महानगर भरिनै जम्मा ३, ४ वडा मात्र विद्यालय छनौट भएको भए यसलाई ठुलो मान्न सकिन्थ्यो। तर मेयर साबले त महानगरमा भएको ३२ वटै वडामा एउटा-एउटा दिऊँ भनेर दिएको हो। त्यसरी सबैलाई दिइसके पछि त्यसको खासै अर्थ रहेन।’

भौतिक संरचना अनि विद्यार्थीको सङ्ख्याका कारण महानगरले नमुना नभने पनि विद्यालय नमुनै रहेको उनको तर्क छ। उनी आफू कार्यरत विद्यालयभन्दा कमजोर विद्यालयलाई पनि नमुना घोषणा गर्दा आफ्नो विद्यालयको स्तर बढेको भन्दा घटेको अनुभव हुने बताउँछिन्।

' न विद्यार्थी सङ्ख्या न भौतिक संरचना केही नभएको नमुनासँग हाम्रो विद्यालय पनि नमुना बनाउँदा विद्यालयको स्तर बढेको भन्दा पनि घटेको छ भनेर मैले पहिला देखि नै बोल्दै आएको हुँ,' उनले भनिन्।

वडा नम्बर १८ :  भक्त विद्याश्रम

यस वडामा एउटा मात्र सामुदायिक विद्यालय हो श्री भक्त विद्याश्रम मावि। वडा भरिमै एउटा मात्र सामुदायिक विद्यालय भएकाले यो स्वतः नमुना भइहाल्यो।

विद्यालयका प्रधानाध्यापक सुदर्शन कट्टेल नै कुनै विशेषताका आधारमा भन्दा पनि वडामा रहेको एक्लो सामुदायिक विद्यालय भएकाले नमुनाको सूचीमा परेको स्विकार्छन्। विद्यालय भवन जम्मा ८ आनामा छ। त्यस बाहेक विद्यालयमा कुनै पनि जग्गा छैन।

२००४ सालमा व्यक्तिको घरको पीढीबाट सुरु भएको यो विद्यालयमा प्राथमिक तहबाट सुरु भएको थियो। ०४१ साल देखि मात्र यहाँको विद्यार्थीहरूले एसएलसी दिएको रेकर्ड भेटिएको प्रधानाध्यापक कट्टेलको भनाई छ।

विद्यालयमा जम्मा २ सय विद्यार्थी छन्। ती अधिकांश निम्न आय भएका र दुर्गमका विद्यार्थीहरू देखिए। खानेपानीको समेत राम्रो जोहो नभएको विद्यालयमा मेलम्चीको पानी आएपछि भने त्यो समस्या नरहेको देखियो।

स्थानीयहरूले आफ्नो आवश्यकता अनुसार विद्यालय बनाए पनि अहिले भने स्थानीयका सन्तान यहाँ पढ्दैनन्। नमुना विद्यालय भइसके पछि शिक्षक तथा कर्मचारीहरू केही खुसी हुने बाहेक थप केही नभएको उनले बताए। नमुना विद्यालयका लागि भनेर छुट्टाएको रकमले विद्यालयमा कोचिङ कक्षाको व्यवस्था गरेको उनले बताए।

'कोचिङको लागि कहाँबाट पैसा जुटाउने भइरहेको थियो। नमुनामा परेर २ लाख आउँदा पनि सहज भयो,' उनले भने।

उनले विद्यालयलाई ’नमुना’ भनिदिँदा जनमानसमा भ्रम सिर्जना गरेको पनि बताए।

'महानगरले ३२ वटा विद्यालयलाई नमुना बनाएको रहेछ ल जाऊँ हेर्न भनेर कतैबाट कोही हेर्न आयो भने त उनीहरूले सोचेको भन्दा त फरक पाउनु हुन्छ नि,' उनी भन्छन्, 'नमुना विद्यालय भनिएको धेरै विद्यालयको अनुगमन गर्न गयो भने ए ! यस्तोलाई पो नमुना भन्छ विद्यालय ! यही हो नमुना विद्यालय भन्ने जस्तो कुरा सुन्नुपर्छ।’

विद्यालयलाई नमुना भनेर भनिराख्नु भन्दा पनि कसरी गुणस्तर बढाउन सकिन्छ भनेर हेडमास्टरहरू सँग छलफल मात्र गरेको भए उपयुक्त हुने उनको तर्क छ।

वडा नम्बर ३० : ज्ञान विकास आधारभूत विद्यालय

यस वडामा पनि यो एक्लो सामुदायिक विद्यालय भएकाले स्वतः नमुना। ज्ञानेश्वरको भैरवथान मन्दिर नजिकै छ विद्यालय। जम्मा ३ आनामा जग्गामा छ। विद्यालय भित्र छिर्ने बित्तिकै कम्पाउन्ड हैन सिधै कक्षा कोठामा पुगिन्छ।

’काठमाडौँको सन्दर्भमा विद्यालय हेर्ने हो भने विद्यालयको जग्गा जमिन भौतिक रूपमा प्रशस्त हुँदैन र छैन पनि’ विद्यालयको प्रधानाध्यापक श्याम कुमार थापा भन्छन्, 'हाम्रै विद्यालयमा पनि त्यो सम्भव छैन। बाटोबाट सिधै विद्यालयको कम्पाउन्ड पनि होइन कक्षा कोठामै प्रवेश गर्नु पर्ने अवस्था छ।'

२०२१ सालमा स्थापना भएको विद्यालयको स्थापना हुँदा आफ्नै भवन पनि थिएन। पंचायतकालमा महिला सङ्गठनले एउटा सानो जस्ताको टहरा र त्यसकै निश्चित कक्षा कोठाहरू प्रयोग गरेर सुकुलमा बसेर सुरु गरेको रहेछ यो।

 

पछि त्यो टहरा विद्यालयको नाममा ल्यायो अनि भत्काएर नयाँ भौतिक संरचना निर्माण गरियो। शिक्षा विभागकै सहयोगमा यत्तिको भवन बनेको भन्दै अहिले कम्तीमा विद्यालयमा हुनुपर्ने न्यूनतम कुरा  भएको प्रधानाध्यापक थापा बताउँछन्। भवनले ओगटेको बाहेक खाली जग्गा नहुँदा विद्यार्थीहरूलाई खेलकुदको लागि प्राय सानो गौचरण लग्नु पर्ने उनले बताए।

यहाँ जम्मा १ सय ५० जना विद्यार्थी छन् भने १० जना शिक्षक र एक जना कर्मचारी छन्। नमुना विद्यालय भनेर खासै त्यति ठुलो फरक नपरे पनि आर्थिक रूपमा केही सहयोग भने भएको भन्दै शिक्षक र कर्मचारीहरूलाई पनि प्रेरणा मिलेको उनले बताए।

’हाम्रो विद्यालय पनि नमुना भयो भन्न पायौँ। अब हामी झन् कस्सिएर लाग्नु पर्छ है भन्ने भयो। जम्मा २ लाख बढी बजेट आउने भए पनि त्यसले केही फरक भने पर्यो। हामीले त त्यो भौतिक पूर्वाधारमै खर्च गर्यौँ। त्यसले बालमैत्री फर्निचरको व्यवस्था गर्यौँ। २ वटा कक्षामा टिभी राखेर प्रविधि मैत्री बनायौँ। अनि एउटा प्रशासनिक कार्यका लागि ल्यापटप किन्यौँ’ उनले भने।

९ असार, २०७९, २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।