फिल्म हेर्न गएका दर्शकलाई विज्ञापन देखाएर हैरान बनाउँछन् हल सञ्चालक, उल्टै भन्छन्- 'पङ्चुअल नहुँदाको परिणाम'

फिल्म हेर्न गएका दर्शकलाई विज्ञापन देखाएर हैरान बनाउँछन् हल सञ्चालक, उल्टै भन्छन्- 'पङ्चुअल नहुँदाको परिणाम'

केही साताअघि सिभिल मलको क्यूएफएक्समा 'कबड्डी ४: द फाइनल म्याच' हेर्न पुगेका थिए गौशाला बस्ने किशोर राईका परिवार। किशोर दयाहाङ राईका फ्यान भएकाले पनि परिवारै बोकेर फिल्म हेर्न गएका थिए। छोराछोरी र श्रीमतीसहित।

उनले बिहान ११:४५ को शो हेर्न भनी चार वटा टिकट किने। अनलाइनबाट टिकट काटे पनि जाममा फसिएला भनेर १० बजे नै घरबाट निस्किए उनीहरू। 

नभन्दै गौशलादेखि सुन्धारा आइपुग्दा साढे ११ भयो। फिल्म छुट्ला भनेर हतार हतार लिफ्ट्मा चढे। हलभित्र जान थालिसकेका रहेछन्, दर्शकहरू।

११:४५ भयो, हलका बत्ती निभे। स्क्रिन चल्न सुरु भयो। पर्दा खुल्यो। तर, स्क्रिनमा फिल्म होइन विज्ञापन बज्न थाल्यो।

विभिन्न कलेजका विज्ञापन, सिमेन्टका विज्ञापनदेखि कन्सल्टेन्सी, कार, बाइक सबैका विज्ञापन आए। कुनै-कुनै विज्ञापन त चार पटकसम्म दोहोरियो। १२ बज्यो, अब सकियो विज्ञापन भन्ने लाग्यो किशोरलाई। तर, होइन रहेछ। 

अब फिल्मका ट्रेलरहरूको विज्ञापन आउने पालो रहेछ। सुरुमा विदेशी फिल्मका ट्रेलरहरू आए। 

साना छोराछोरी लिएर सबैले हेर्न मिल्ने सर्टिफिकेट पाएको फिल्म हेर्न गएका उनी आक्रमक दक्षिण भारतीय फिल्मका ट्रेलर, हलिउडका साइन्स फिक्सन फिल्मका ट्रेलर, कुनै कुनै रोमाञ्चकताको सीमा नाघेका फिल्मका ट्रेलर हेर्न बाध्य भए।

साना केटाकेटी उकुसमुकुस भए। किशोर आफैं पनि त्यस्ता दृश्य बालबालिकासँग बसेर हेर्नुपर्दा चिँढिए।   

विदेशी फिल्मको ट्रेलर सकिएपछि पालो आयो नेपाली फिल्मको। करिब १० मिनेटपछि बल्ल फिल्म सुरु भयो। त्यहाँ पनि कलाकारको नामभन्दा पहिला आयो, स्पोन्सर र विज्ञापन।

'अझै केही दर्शक त अनलाइनबाट टिकट काट्छन्, शो सुरु भइसकेको १५ मिनेटमा फोन गरेर- हिँड्न लागेको केही समय थप विज्ञापन बजाउन सकिन्छ भनेर फोन गर्छन्।'

कबड्डी फिल्मभरि पनि निर्माण पक्षले घुसाएको स्पोन्सर र विज्ञापन हेरे किशोरका परिवार र हलमा उपस्थित दर्शकले। फिल्मको मध्यान्तर भयो। तर मध्यान्तरपछि पनि विज्ञापनको सिलसिला रोकिएन।

साढे २ बजेतिर फिल्म सकियो। दुई घण्टाको फिल्म हेर्न उनको परिवारले हलभित्र मात्रै झण्डै तीन घण्टाको समय खर्चिए।

०००
हल छिरेदेखि नै विज्ञापन। फिल्मभित्र पनि विज्ञापन। मध्यान्तरमा पनि विज्ञापन। हिजोआज सिनेमा हल जाने दर्शकका लागि अनिवार्यजस्तै बनेको छ यो। 

क्यूएफएक्सकै कुरा गर्दा एउटा टिकटको सरदर मूल्य चार सय रुपैयाँ हुने गरेको छ। कुनै कुनै बहुप्रतीक्षित फिल्म त साढे चार सय पनि हुन्छ। तर, त्यत्रो पैसा तिरेका दर्शकले हल सञ्चालकले कर गरेर देखाएको विज्ञापन पनि हेर्नुपर्छ।

हल सञ्चालक भन्छन्- नेपाली पङ्चुअल नहुँदाको परिणाम
'केही दर्शक स्वाँस्वाँ गर्दै तोकिएको समयभन्दा ढिलो हल छिर्छन्। नेपालीको बानी नै समयमा नपुग्ने छ', सिभिल मलमा रहेको क्यूएफएक्सका व्यवस्थापन हेर्ने कर्मचारी सुशील मानन्धर भन्छन्, 'केही समय विज्ञापन बजाउँदा ढिला गर्नेहरू आइपुग्न भ्याउछन्।'

नेपालीको पङ्चुअल नहुने बानीका कारण हलमा विज्ञापनले केही असर नगरेको उनको दावी छ। मानन्धरले भने, 'अझै केही दर्शक त अनलाइनबाट टिकट काट्छन्, शो सुरु भइसकेको १५ मिनेटमा फोन गरेर- हिँड्न लागेको केही समय थप विज्ञापन बजाउन सकिन्छ भनेर फोन गर्छन्।'

अल्छी दर्शकका लागि विज्ञापनले फाइदा भएको तर समय हिसाब गरेर हिँड्नेहरू भने मर्कामा परेको उनको स्वीकारोक्ति छ।

मानन्धरले भने, 'समय व्यवस्थापन गर्न नसक्नु हाम्रै दर्शकको कमजोरी हो। औंला उठाउने ठाउँ नदिनुस्, सबैतिर क्लिनफिड लागू होस्, हामी पनि अवस्य त्यसलाई कार्यान्वयन गर्नेछौं।'

मानन्धरकै कुरामा सहमत छन्, अर्का हल व्यवसायी नरेन्द्रमान महर्जन पनि। उनका अनुसार हलभित्र बजेको विज्ञापनले केही समस्या पार्दैन। 

उनले भने, 'बाटोमा जाम पर्छ, हरेक प्राविधिक समस्या पर्छ र तोकिएको समयमा दर्शक हलभित्र छिर्न सक्दैनन्। केही समय कुर्नका लागि विज्ञापन गतिलो माध्यम हो।'

उनका अनुसार, हतार हतार हलभित्र छिरेर फिल्म हेर्न थाल्नुभन्दा एकछिन रिल्याक्स गर्न विज्ञापन उपयोगी बनेको छ। सुरुदेखि नै आएर सिटमा बसेका दर्शक पनि मोबाइलमा व्यस्त हुने भएकाले 'बोर' नहुने उनको भनाइ छ। 

उनी भन्छन्, 'सिटमा बसेपछि मोबाइल साइलेन्टमा राख्ने या अफ गर्ने गर्नुपर्छ। कोही महत्त्वपूर्ण मानिसलाई आफू फिल्म हेर्न लागेको र फोन उठाउन नसक्ने खबर गर्नुपर्ने हुन्छ। स्क्रिनमा विज्ञापन बजिरहेको समयमा उनीहरू यस्ता काम पूरा गर्न भ्याउछन्।'

एजेन्सी, हल र फिल्म सबैको विज्ञापन दिनै प्रतिस्पर्धा
हलमा बज्ने विज्ञापन विभिन्न विज्ञापन एजेन्सीले उपलब्ध गराउँछ। विज्ञापनको समयअनुसार उनीहरू ती प्रचार सामग्रीको पैसा लिन्छन्।

फिल्मका टिजर, ट्रेलर लगायतका विज्ञापन वितरकबाट प्राप्त गर्छन्। यी विज्ञापन कति पटक बजाउने, कुन समयमा बजाउने लगायतका सम्झौता वितरकबाटै हलवालाले गर्छन्।

त्यस्तै फिल्मभित्रै पनि विज्ञापनहरू राखिएको हुन्छ। हालै प्रर्दशनमा आएको सर्वाधिक कमाइ गर्ने फिल्म कबड्डी ४ को अधिकांश दृश्यमा विज्ञापन थियो- पात्रले लगाउने कपडादेखि रक्सीसम्ममा।

 

* संशोधन : यस अगाडि नेपाल सरकारले टेलिभिजनका लागि ल्याएको क्लिनफिड नीति हलमा प्रशारण हुने बिज्ञापनमा समेत लागु हुने उल्लेख भएकोमा सो प्रशंग हटाइएको छ। संघीय संसद्बाट पारित विज्ञापन (नियमन गर्ने) ऐनमा भएको ब्यवस्था नेपालमा प्रशारण हुने विदेशी च्यानलको हकमा मात्र लागु हुने भएकाले हामीले गरेको मिसकोटप्रति क्षमा चाहन्छौँ। 

-प्रधान सम्पादक

 

९ असार, २०७९, ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।