काठमाडौंका ६ जनामा हैजा देखियो, महानगरको समन्वयमा खानेपानीको स्रोत जाँच गरिँदै

काठमाडौंका ६ जनामा हैजा देखियो, महानगरको समन्वयमा खानेपानीको स्रोत जाँच गरिँदै

काठमाडौंमा असार २ गतेयता ६ जनामा हैजा पुष्टि भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ६ जनामा हैजा पुष्टि भएको जनाकारी दिएका हुन्। निर्देशक दासका अनुसार बागबजारमा दुई, सानेपामा एक, डिल्लिबजारमा एक, कपनमा एक र बालाजु क्षेत्रमा एक जनामा हैजा देखिएको हो।

६ जना संक्रमितमध्ये चार जनामा कल्चर पोजेटिभ, बाँकी दुई जनामध्ये एक जनामा आरडिटी र एक जनामा ह्यांगिङ पोजेटिभ देखिएको हो। संक्रमितमध्ये कोही शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन् भने अन्यको सामान्य लक्षण भएकाले घरमा नै छन्। अस्पताल भर्ना भएका संक्रमित दुई जना बाहेक अन्यको लक्षण सामान्य नै रहेको बताइएको छ।

टेकु अस्पतालमा भएका दुई संक्रमित दिदी बहिनी भएको र उनीहरूलाई पनि वार्डमा सारिएकाले खतरामुक्त भएको डा. दासले जानकरी दिए।

‘सुरुको दुई जनामध्ये एक जनाको अवस्था गम्भीर थियो। आईसीयूमा नै राख्नुपर्यो,’ निर्देशक डा. दासले भने, ‘उहाँहरू आज आईसीयूबाट वार्डमा आइसक्नुभयो।’

जेठ दुई गते टेकुमा भर्ना भएका १८ र २३ वर्षका झाडापखाला लागेका ती महिलामा नमूना परीक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो। 

मन्त्रालयका अनुसार ती दुवै जना काठमाडौं महानगरपालिका वडा नं. २८ (बागबजार) का हुन्।

संक्रमितमध्ये १७ र १८ वर्षदेखि ५५ वर्ष उमेर समूहका व्यक्तिमा हैजा देखिएको महाशाखाले जनाएको छ।

बुधबार सुरुमा दुई महिलामा हैजा संक्रमण देखिएको घरको धारा र ट्युबेलको पानी परीक्षण गर्दा पानीमा इकोलाई र कोलिफर्म देखिएको निर्देशक डा. दासले बताए।

झाडापखाला संक्रमितको संख्या धेरै भने नबढेको महाशाखाले जनाएको छ। तर, केही सातायता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाको बिरामी बढेको अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए।

उनले भने,‘केही हप्तायता झाडापखालाका बिरामी बढेको देखिन्छ। दैनिक करिब ८-१० जना झाडापखालाका बिरामी आएको देखिन्छ। बढी युवा अवस्थाका नै छन्।’ 

संक्रमण देखिएको क्षेत्रको खानेपानी संकलन गरेर परीक्षणको काम पनि भइरहेको उनले जानकारी दिए। खानेपानीको स्रोत ताथ पानी आउने बाटोको पनि संक्रमण भएको आशंकामा जाँच भइरहेको उनले बताए।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं र ललितपुरका स्वास्थ्य कार्यालय, स्थानीय निकाय लगायत सरोकारवालासँग समन्वयमा छलफल भइरहेको उनले जानकारी दिए।

हैजा नियन्त्रण, रोकथाम तथा व्यवस्थापन लगायतको लागि आइमतबारदेखि नै विभिन्न निकायसँग निरन्तर छलफल भइरहेको निर्देशक डा. दासले बताए।

हैजा सम्बन्धी कुनै लक्षण देखिए  तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

दूषित पानी सेवन गरेको खण्डमा झाडापखाला, बान्ता, आउँ, हैजा, जन्डिस (हेपाटाईटिस),टाइफाइटजस्ता समस्या देखापर्नेतर्फ सजग रहनुपर्ने डा. पुनको सुझाव छ।

गर्मी तथा वर्षा याममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलने हुँदा सतर्क रहन विशेषज्ञले सुझाव दिएका छन्। यस्ता रोगको समयमा सावधानी नअपनाउनाले र समयमा निदान तथा उपचारको व्यवस्थागर्न नसक्नाले महिामारीको रूप लिन सक्नेतर्फ स्वास्थ्य मन्त्रालयले सजग गराइसकेको छ।

त्यसैले पानी उमालेर खान वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न ,व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सडे गलेका र बासी खानपान नगर्न डा. पुनले सजग गराएका छन्।

खुला रूपमा दिसा पिसाब नगर्न र दिसा पिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुन पनि चिकित्सकको सुझाव छ।

९ असार, २०७९, ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।