बीएण्डसी र नोबेलले असार २० बाट स्वास्थ्य बीमाको सेवा नदिने

बीएण्डसी र नोबेलले असार २० बाट स्वास्थ्य बीमाको सेवा नदिने

काठमाडौँ : झापास्थित बीएण्डसी अस्पताल र बिराटनगरको नोबेल मेडिकल कलेजले स्वास्थ्य  बीमा कार्यक्रम बन्द भएका छन्। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बीएण्डसी र नोभेलले असार २० गतेदेखि नै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी बताएका हुन्।

स्वास्थ्य  बीमा कार्यक्रमअन्तर्गत उपचार गरे वापतको रकम नपाएकाले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सञ्चालन गर्न नसकिने उनीहरूले बताएका हुन्। बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले मंसिरदेखि अस्पतालले पाउनुपर्ने  बीमा कार्यक्रमबापतको ४५ करोडभन्दा बढी रकम नपाएको दाबी गरेका छन्। घाटामा काम गर्नुपर्ने अनि पैसा नखुवाई फाइल अगाडि नबढ्ने गरेको समेत उनको दाबी छ।  उनले भने,‘त्यहाँ माथिदेखि तलसम्म पैसा बुझाउनुपर्छ।’

उनले बीएण्डसीमा दैनिक एक हजार बिमितलाई सेवा दिइरहेको बताए। त्यसैगरी नोबेल मेडिकल कलेज व्यवस्थापन समिति सदस्य भीम बहादुर चन्दले पनि  बीमा कार्यक्रमअनुसार बिमीतको उपचार गरेको बिमा बापतको रकम नपाएको भन्दै २० गतेबाट यो सेवा नै बन्द गर्ने बताएका हुन्। नोबेल मेडिकल कलेजमा मंसिरयता ५४ करोड ३८ लाख बिमा कार्यक्रम अन्तर्गतको रकम बाँकी रहेको चन्दले दाबी गरे।  उनले भने,‘ मंसिरदेखिको पूरै बाँकी छ।’

२० गतेसम्ममा सो रकम दिएर काम गर्ने वातावरण पाउनुपर्ने चन्दको तर्क छ। नोबेलले दैनिक एक करिब हजार पाँच सय बिमितलाई सेवा दिइरहेको बताए। उनले स्वास्थ्य बिमा बोर्डबाट सेवा बापतको रकम पाउनै मुस्किल पर्ने गरेको बताए। 

८ असार, २०७९, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।