'शेयर अनि हाउजिङतिर लगानी गर्ने कर्पोरेट हाउसहरू अब पुस्तक प्रकाशनमा आउनुपर्‍यो, नत्र टिक्न कठिन छ'

'शेयर अनि हाउजिङतिर लगानी गर्ने कर्पोरेट हाउसहरू अब पुस्तक प्रकाशनमा आउनुपर्‍यो, नत्र टिक्न कठिन छ'

साहित्यिक पुस्तक प्रकाशन गर्ने सरकारको समेत लगानी रहेको साझा प्रकाशनको अवस्था नाजुक छ। साझाको तुलनामा निजी प्रकाशन गृहहरूको अलग्गै चमकधमक देखिन्छ। पुस्तकको ब्रान्डिङदेखि विक्री शैलीसम्म निकै भिन्न छ साझा भन्दा निजी प्रकाशनको। हरेक वर्षका बेस्ट सेलर पुस्तकमा पनि निजी प्रकाशन गृहकै कब्जा बराबर छ।

बाहिरबाट देखिए जस्तै निजी प्रकाशन गृहहरू मस्तीमै छन् त ? यस्तै विषयमा केन्द्रित भएर फाइन प्रिन्टका सञ्चालक अजित बरालसँग उकेराकर्मी प्रजु पन्तले गरेको संवादको सम्पादित अंश :

पठनमा रुचि भएको तपाईँ आफैँ पुस्तक प्रकाशक हुनुभयो। किन ?

प्रकाशन गृह स्थापना नहुन्जेल एउटै काम लामो समय गर्नै सकिन। रुटिनमा बाँधिएर बस्न नसक्ने रहेछु म भन्ने बुझेँ। घर पोखरा, बस्न मन लाग्ने काठमाडौँ। काठमाडौँमा बस्न मन लाग्नुको एउटै कारण थियो यहाँ सङ्गत। सङ्गत पढ्नेहरूसँग हुन्थ्यो। म पहिले किताब समीक्षाहरू गर्थे। मार्टिन चौतारीले सञ्चालन गर्थ्यो म समन्वयकर्ता भएँ।

काठमाडौँमा नै बस्ने भएपछि केही न केही त गर्नै पर्ने बाध्यता अनि रहर पनि। मेरो बुबा वात्सायन दुर्गा बरालको किताब छाप्नुपर्ने भयो। म सँग व्यावसायिक ज्ञान भन्दा पनि सम्पादन कला चाहिँ थियो। निरज भारीसँग व्यावसायिक ज्ञान। बुबाको किताब छाप्न अर्को प्रकाशन गृहले जति लाग्छ भनेको थियो त्यो अलि महँगो भयो भने निरजले। पछि हामीले आफ्नै प्रकाशन गृह सञ्चालन गर्ने निर्णय गर्यौ।

पुस्तक पढ्न औधी मन पर्ने र सम्पादन कला पनि सिकेको थिएँ। भारतको वामपन्थीहरूले पुस्तक छाप्ने लेफ्ट वर्ल्डमा समेत इन्टर्नसिप गरेको थिएँ। आफ्नो प्रकाशन गृह खुल्ने भएपछि चैतन्य मिश्रको किताबमा काम गरेका थियौँ। दोस्रो भयो हाम्रो किताब। सन् २००६ मा आफ्नै प्रकाशन गृह स्थापना भयो। व्यावसायिक ज्ञान र ग्राफिक्समा निरजको दक्षता भएकाले पनि हामीले प्रकाशन गृह सञ्चालन गर्न सक्यौँ। बुबाको कार्टुनको किताब भएकाले गुणस्तरीय कागज प्रयोग गरिएको थियो। बजारमा यस्तो राम्रो किताब निस्कन सक्दो रहेछ भनेर विश्वास पनि भयो।

त्यति बेला नेपाली प्रकाशन गृहको बजार कस्तो थियो?

माओवादी द्वन्द्व भर्खरै सकिएको थियो फाइन प्रिन्ट खुल्दा। हामीले सुरुवात गर्दा अहिलेको जस्तो थिएन पुस्तकको बजार। परम्परागत नै थियो।

एक हजार प्रति भन्दा छापिँदैनथ्यो साहित्यिक किताब। बिस्तारै बजार बन्दै गयो। किताबको पेपर देखि डिजाइनसम्म नयाँ भए। प्रोमोशनको तरीका बदलियो। बुक लन्चको नयाँ शैली अपनायौँ। बजारीकरणमा नयाँ पन प्रयोग गर्यौ। म्युजिक भिडियो समेत बन्यो किताबको। कहिलेसम्म यो व्यवसाय गरिन्छ भन्ने थाहा थिएन।

अर्को के भने, हामी लेखकसँग पारदर्शी हिसाब-किताब गर्नुपर्छ भन्नेमा प्रस्ट थियौँ। सुरु गर्दा २ लाख ५० हजारबाट सुरुवात गरेका थियौँ। अहिले सम्झिँदा पनि हाँसो लाग्छ। एउटा किताब छाप्नै नपुग्ने रकम थियो त्यति बेला पनि। तर बिस्तारै बजेट जुटाउँदै गयौँ।

१६ वर्ष अघि र पछि नेपाली पुस्तक बजार कत्तिको बदलियो त?

सुरुमा त बजार नै थिएन नि। बजार मात्र हेरेर आएको भए त काम गर्न सकिँदैनथ्यो। एक हजार प्रति छापेर त्यो पनि दुई वर्ष लगाएर बेच्ने चलन थियो। द्वन्द्वपछि कर्ण शाक्यको पुस्तकले विक्री बढायो। नारायण वाग्लेको 'पल्पसा क्याफे', झमक घिमिरे, जगदीश घिमिरे लगायतका पुस्तकहरू बढी विक्री भए। बजार बदलिँदै गएको थियो। तर ४ वर्ष जति भयो बजार खस्कँदै गयो।

प्रकाशन गर्ने पुस्तक तपाईँ आफैँ छान्नु हुन्छ रे। छनौटको आधार के हुन्छ ?

छनौटको आधार सम्पादन कम गर्न परोस् भन्ने नै हो। अर्को नलेखिएको विषय हुनुपर्यो। कि एकेडेमीकभ्यालु कि कर्मसियल भ्यालु हुनै पर्यो। लेखाइमा तिक्खरता हुन पर्यो।

नयाँले त्यत्ति मौका पाउँदैनन् है फाइनप्रिन्टमा ?

त्यस्तो छैन। हामीले धेरै नयाँ लेखकको पुस्तक छापेका छौँ। त्यसैले नयाँलाई अवसर नदिने भन्ने हैन। इच्छुक जति सबैको पुस्तक प्रकाशित नभएकाले यस्तो भनेको हुनसक्छ। तर किताब स्तरीय त हुनुपर्छ नि। स्तरीय नभएको किताब कसरी छाप्ने ?

पुस्तक विक्रीको संयन्त्र ?

हामीले सुरु गर्दा प्रत्यक्ष पार्टीहरूलाई पठाउँथ्यौँ। विक्रेताको भर पर्दैनथ्यौँ। धेरै जनालाई पठाइन्थ्यो। यसरी पठाउँदा पैसा फस्ने डर हुने भयो। पछि विक्रेतालाई दिने नियम बनायौँ। सीमित पसलमा मात्रै प्रत्यक्ष जाने व्यवस्था बनायौँ।

नेपालको पहिलो र पुरानो प्रकाशन गृह साझा भेन्टिलेटरमा छ। आफ्नै चल अचल सम्पत्ति र सयौँ कर्मचारी हुँदा समेत चलाउन सकेका छैनन्। तर तपाइको कुरा सुन्दा त बजार राम्रै देखिन्छ। साझाको हविगत चैँ किन त्यस्तो भा होला ?

पुस्तकको  बजार अति आकर्षक छैन। यो अरू बजार जस्तो पनि हैन। पुस्तकालय नै धेरै छैनन् हाम्रोमा। भए पनि किताब किनेर लैजाने चलन छैन। भारतमा पुस्तकालयले नै हजारौँ पुस्तकहरू लैजान्छन्। हाम्रो त त्रिविले समेत लिँदैनन्। पुस्तकालयहरूमा कलेक्सनै छैन किताबको। हाम्रो क्रयशत्ती पनि कम छ। त्यसो हुँदा पुस्तकालयमा त पुस्तक विक्री हुनु पर्ने हो।  पठन संस्कृति पनि कमै छ। छोराछोरीलाई पढ्न लगाउने बानी छैन।

अनि निजी क्षेत्रका प्रकाशन गृहले किताब बेचेर नै टिक्नुपर्छ। सरकारीसँग त्यो बाध्यता नभएर होला साझाले चलाउन नसकेको। अन्य कारण पनि जोडिनै हाल्छन् । लेखकलाई रोयल्टी नदिने, संस्था राम्रोसँग चलाउने दक्ष व्यवस्थापक नभएपछि संस्था t ओरालो लाग्ने न हो। केबल बजारलाई मात्र दोष दिएर पनि हुँदैन। 

पाण्डुलिपि छान्ने, ग्राफिक्स सेन्सदेखि बजारीकरणसम्म ध्यान दिन सक्ने हुनुपर्यो। तर राजनीतिक नियुत्तीले गर्दा क्षमता भएका साझाका अध्यक्ष भए पनि काम गर्न नपाउने, काम गर्न नसक्ने र क्षमतै नहुनेले पनि नियुत्ती पाएर   साझा चल्न नसकेको होला।

अहिले भारतको चेन ननफिक्सन किताब बढी भइरहेका छन्। नेपालमा पनि इतिहासका पुस्तकमा रुचि देखिन्छ पाठकको। त्यही अनुसार हामीले छापेका पनि छौँ। निजी क्षेत्रले विविध पुस्तक छापेकाले नै राम्रा किताबहरू आइरहेका हुन्।

रोयल्टीमा पारदर्शी छौँ भन्नुहुन्छ कस्तो  छ नियम?

लेखकका कृति अनुसार हुन्छ रोयल्टीको दर। ६-६ महिनामा दिने कि एड्भान्स दिने भनेर करार गर्छौ।

गोष्ठीलाई फेस्टिभल बनाइदिनुभयो है तपाईँहरूले ?

पहिला साहित्यिक गोष्ठी हुन्थे। फेस्टिभल नै भनेर हुँदैनथे। हामीले फेस्टिभल भनेर सुरु गरेपछि यसले किताबलाई चर्चा-परिचर्चा गर्ने वातावरण बनायो। बिस्तारै सबै क्षेत्रका मान्छेहरू बोल्ने, प्रश्न गर्ने हुनुभएको छ। यो हिसाबले राम्रै भइरहेको छ। तर आर्थिक रूपमा हेर्ने हो भने फेस्टिभलले फाइदा छैन। घाटा नै हुन्छ।

सरकारले पुस्तक प्रकाशन गृहको क्षेत्रमा यस्तो चैँ गरिदिए हुन्थ्यो भन्ने केही छ ?

सरकारले अनुदानहरू दिन सक्थ्यो। कागजमा १५ प्रतिशतसम्म भन्सार छ। त्यो हटाउन सक्थ्यो। पुस्तकको मामिलामा सरकारी पुस्तकालयमा पुस्तकहरू विक्रीको लागि समन्वय गर्न सक्थ्यो। गरेको छैन। तर यो पाली लेखकको रोयल्टी कर घटाएर स्वागतयोग्य निर्णय गरेको छ।

केही प्रकाशन गृहले भारत किताब छापेर नेपालमा छापेको हो भनेर बेच्छन् भन्ने नि छ। सँगै कर छल्न भारत गएको भन्ने आरोप पनि लाग्छ। यो के हो ?

गलत बुझाइ हो। हामीले १५ प्रतिशत भन्सार बुझाएकै छौँ। कर पनि बुझाएकै छौँ। विदेशी किताबलाई सरकारले पहिले भन्सार लगाएको थियो। उनीहरूले सोचेँ नेपाली किताबलाई लगाएको हो। त्यसो होइन। अङ्ग्रेजीमा भाषामा पुस्तक छापिदा लाग्दैन तर नेपाली छापिदा भन्सार लाग्छ।

अर्को कुरा भारत लैजानुको कारण कागजमा अप्सनहरू टन्नै हुन्छ उता। यहाँ त्यो सम्भावना नै छैन। आफूले चाहे अनुसारको कागज हैन छाप्नेसँग जस्तो ५ त्यस्तैमा छाप्नुपर्छ।

निजीले विविधता भन्दा पनि व्यवसायका हिसाबले मात्र पुस्तक छाप्ने भएकाले नाफामा छन्। साझा जस्ता संस्थाले भने नाफा मात्रै हेर्ने नहेरी सबै विधाको किताब छाप्ने भएकाले घाटामा गएको हो भन्ने पनि सुनिन्छ। हो त ?

हामीले विविधताको अभ्यास गरिरहेका छौँ। पुस्तक छाप्दा भारतमा कस्ता किताब गइरहेका छन्, के-के लेखिएका छन् भनेर अनुसन्धान पनि गर्छौँ। अहिले भारतको चेन ननफिक्सन किताब बढी भइरहेका छन्। नेपालमा पनि इतिहासका पुस्तकमा रुचि देखिन्छ पाठकको। त्यही अनुसार हामीले छापेका पनि छौँ। निजी क्षेत्रले विविध पुस्तक छापेकाले नै राम्रा किताबहरू आइरहेका हुन्।

निजी प्रकाशन गृह  ४ वर्ष अघि देखि सङ्कटमा पर्दै आयो भन्नुभयो। कारण के हो ?

हो। अहिले प्रकाशन गृह बचाउनुपर्ने स्थितिमा छन्। ठुला लगानीकर्ता प्रकाशन गृहमा आर्कषीत छैनन्। उद्योगको रूपमा विकासै भएन प्रकाशन क्षेत्र। सरकारले पनि यसलाई उद्योगको रूपमा हेरेको छैन। ज्ञानको हिसाबले पनि हेर्न सक्थ्यो। तर हेरेको देखिँदैन। अर्को कोरोना लगायतकाले आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभाव प्रकाशन क्षेत्रमा पनि पर्ने नै भयो।

प्रकाशन गृह आर्थिक रूपमा बलियो हुने सम्भावना छैन त ?

कर्पोरेट हाउसहरूको लगानी घर,जग्गा, शेयर अनि हाउजिङतिर छ। पुस्तक प्रकाशनतिर छैन। राज्यले पनि कर कम उठ्छ भनेर होला यो क्षेत्रको विकासमा पर्याप्त ध्यान दिएको देखिँदैन। समग्र शिक्षामा राज्यले ध्यान दिने हो भने प्रकाशन गृहहरूमा लगानी बढाउनु पर्ने हो। तर दीर्घकालीन भन्दा पनि अल्पकालीन सोच्ने भएपछि कसरी अघि बढ्ला र! त्यसैले कर्पोरेट हाउसहरूले पनि अब पुस्तक प्रकाशनमा लगानी गर्नुपर्ने देखियो।

उकेराले साझा प्रकाशनबारे श्रूंखलाबद्ध सामाग्री प्रकाशन गर्यो। समग्र हेर्दा बिजोग अवस्थामा पुगिसकेको रहेछ। साझा। साझाबारे तपाइको बुझाई ?

तलब भत्तामा करोडौँ खर्च गर्ने साझाले आफ्नो दायित्व भुलेको छ। दायित्व नै बिर्सने भएपछि त्यो संस्था किन राखिरहनु भन्ने मेरो बुझाइ हो। राजनीतिक नियुत्ती र भागबन्डाको लागि आउने र काम पनि गर्न नसक्ने हो भने साझा प्रकाशन हुनु र नहुनुको अर्थ छैन। साझाका नेतृत्वले सुधार चाहने हो भने पुस्तकको छनौटदेखि विक्री रणनीतिसम्म ध्यान दिन सक्नुपर्यो। काम गर्नुपर्यो। सुधार्ने चाहना हुनुपर्यो।

साझा सिरिज

८ असार, २०७९, १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।