भिटामिनका नाममा ठगी धन्दा, आफूखुसी मिति, मूल्य र लेबलिङ, डाक्टरकै संलग्नतामा बिक्री

भिटामिनका नाममा ठगी धन्दा, आफूखुसी मिति, मूल्य र लेबलिङ, डाक्टरकै संलग्नतामा बिक्री

बुटवल : बुटवलमा सञ्चालित फार्मेसीबाट भिटामिनका नाममा ठगी धन्दा हुने गरेको खुलेको छ। यस्तो ठगीमा डाक्टरकै संलग्नता पाइएको छ। 

प्रहरीले बुटवलको दीपनगरबाट ठूलो परिमाणमा अनाधिकृत 'न्युट्रासिटिकल फुट सप्लिमेन्ट्री' बरामद गरेसँगै यो ठगी धन्दाको पर्दाफास भएको हो। 

न्युट्रासिटिकल फुट सप्लिमेन्ट्री औषधि जस्तै भिटामिनको तत्व हो। यो भिटामिन दीपनगरमा सटर भाडामा लिएर दिपेन्द्र भण्डारी सहितको टोलीले अवैध रुपमा आफूखुसी उत्पादनको नयाँ मिति राख्ने, बजार मूल्य राख्ने, लेबलिङ गरी बिक्री-वितरण गर्दै आएको थाहा पाएपछि प्रहरीले उनीहरुको गोदाममा छापा मारेको थियो।

भण्डारीले बुटवलमै मेडी बैंक प्रालि सञ्चालन गर्दै आएका छन्। ९ महिनादेखि सटर भाडामा लिएर अवैध धन्दा गरेका भण्डारीले डाक्टरकै संलग्नतामा यो भिटामिन फार्मेसीमार्फत बिक्री गर्दै आएका थिए।

डाक्टरले यो भिटामिन सबै फार्मेसीबाट बिक्रीका लागि भने सिफारिस गर्दैनन्। न्युट्रासिटिकल फुट सप्लिमेन्ट्रीकै नाममा झोल, क्याप्सुललाई सिफारिस गर्ने र त्यस भिटामिन सिफारिस वापत डाक्टरले नै बढी शुल्क पाउने गरेको एक फार्मेसी सञ्चालकले बताए। फार्मेसी सञ्चालकहरुले कुन-कुन डाक्टरले यो औषधि सिफारिस गर्छन् भन्नेबारे बताउन भने चाहेनन्।

‘डाक्टरले लेखेको औषधि दिनुपर्यो। उनीहरुले भनेको नमान्ने हो भने डाक्टर फार्मेसीमै आउँदैनन्। हामीलाई यस वापत केही रकम आउने होइन। यो उत्पादनकर्ता र डाक्टरले मात्र पाउने हुन्,’ एक फार्मेसी सञ्चालकले भने।

डाक्टरहरुले क्यान्सर, मिर्गौला, हाडजोर्नीका बिरामीहरुलाई विशेषगरी यो भिटामिन सेवनका लागि सिफारिस गर्छन्। यो एक इनर्जी तत्व पनि हो। ‘यो भिटामिन भनेर आउँछ। भारतमा उत्पादित लेखिएको छ। तर यसमा के-के राखिएको हुन्छ थाहा हुँदैन। हामीले डाक्टरलाई खुसी बनाउन यो राख्न बाध्य भएका छौं,’ ती व्यवसायीले भने।

यसरी अनाधिकृत रुपमा बिक्री हुने औषधि जस्तै वस्तुबाट डाक्टर र सप्लायर्सले नाफा पाउने भए पनि जनता भने अनाधिकृत औषधिको नाममा ठगिएका छन्।

फार्मेसीमा औषधि विभागमा दर्ता भएका औषधि राख्न पाइने भए पनि बुटवलका फार्मेसीमा यो भिटामिनका नाममा ठगी हुने गरी अनाधिकृत औषधि बिक्री हुने गरेको पाइएसँगै बजार अनुगमन र नियमनमाथि पनि प्रश्न उठेको छ।

औषधि व्यवसायी संघ रुपन्देहीका महासचिव पुरुषोत्तम भट्टराईले लेबल नलगाई, रिलेबलिङ गरेर बिक्री गर्नु गैरकानुनी काम मात्र नभई कालोबजारी समेत भएको बताए। उनले यस्ता व्यवसायी वा सप्लायर्सलाई आफ्नो संस्थाले संरक्षण दिने नभई कालोबजारी गर्ने, अनाधिकृत रुपमा औषधि बिक्री गर्ने जो कसैलाई पनि कारबाही गर्नुपर्ने बताए।

भारतबाट खुला औषधिजन्य तत्व लिने र यहीं लेबलिङ गरेर आफूखुसी मूल्य राखेर बिक्रीका लागि भण्डारीको समूहले औषधि तयार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्रसिंह रेग्मीले मुख्य अभियुक्त अहिले फरार भए पनि त्यहाँ काम गर्ने तीन जना कामदारलाई पक्राउ गरिएको बताए।

उनीहरुलाई कालोबजारी अन्तर्गत अनुसन्धान भइरहेको उनले बताए। उनले यस्ता कथित व्यवसायीका कारण सिंगो व्यवसाय, संघ नै बदनाम हुने गरेको बताए।

जनताको प्रत्यक्ष स्वास्थ्यमा असर गर्ने गरी कतिपय म्याद गुज्रेका औषधिको नयाँ मिति समेत त्यहाँ राख्ने गरेको भेटिएको छ। एमआरपी नराख्ने, उत्पादन मिति समेत नराख्ने गरी बजारमा औषधि पठाउने गरेको फेला परेको छ। 

‘उनीहरुले डाक्टरले भने अनुसार औषधिको रकम राख्ने गरेका छन्। त्यस बापत ठूलो रकम कमिसनका रुपमा डाक्टरलाई जाने भएपछि यो धन्दा गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने। प्रहरीले दीपनगरमा छापा हानेको गोदामबाट ३ ट्रक औषधि र मूल्य प्रिन्ट गर्ने मेसिन जफत गरी लगेको छ।

‘यो भारतबाट ल्याएर त्यहाँ लेबल लगाउने, मिति राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ। यिनीहरुले नेपाली बजारमै यो औषधि पठाउने गरेको समेत अहिले खुलेको छ। बाँकी अनुसन्धान सकिएपछि थाहा हुनेछ,’ उनले भने। 

भारतबाट ल्याइने यस्ता लेबलविनाका औषधि तस्करहरुले सुनौली र रक्सौल नाकाबाट नेपाल भित्र्याउने गरेका छन्। सीमाबाट अवैध रुपमा भित्र्याउने र यहाँ लेबलिङ गर्ने, म्याद राख्ने, मूल्य आफूखुसी राख्ने गिरोह नै सक्रिय रहेको बताइएको छ।

बुटवलमा यस्ता अनाधिकृत औषधि बिक्री गर्ने १० भन्दा बढी स्थान रहेको र उनीहरुले करोडौं रुपैयाँको कारोबार यसैबाट गर्ने गरेको खुलेको छ। 

‘सप्लायर्सहरुले डाक्टरलाई किनेका छन्। डाक्टर त्यही आधारमा प्रेस्क्रिप्सन लेख्छन् अनि जबरजस्ती बिरामीलाई महँगो मूल्यमा यो भिटामिन बिक्री गरिन्छ,’ एक व्यवसायीले भने।

८ असार, २०७९, १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।