रवीले खुलाएनन् पार्टीका २० नेताको नाम, राजेश हमाल र विजय लामा आएनन्

रवीले खुलाएनन् पार्टीका २० नेताको नाम, राजेश हमाल र विजय लामा आएनन्

काठमाडौँ : राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका रवी लामिछानेले दलको कार्यसमितिमा रहेका २० जनाको नाम गोप्य राखेका छन्। उनले दल दर्ताको प्रक्रियामा रहेको भन्दै उनले आफू बाहेक अन्यको नाम सार्वजनिक गर्न चाहेनन्।

आयोगमा दल दर्ताको निवेदन दिएर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू पार्टीको सभापति रहेको र अन्यहरू देशले चिनेको अनुहार नहुन सक्छ तर देश चिनेका अनुहारहरू रहेको बताए।

'दलको सभापति म छु। निर्वाचन आयोगले प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक गर्नेछौँ।'

'तपाईँहरूले चिनेका अनुहारहरू खोजेको हो भने त्यस्तो छैन। देश चिनेकाहरू छन्। समावेशी बनाएका छौँ' उनले भने। लामिछानेले ग्यालेक्सी टेलिभिजन छाडे लगत्तै अभिनेता राजेश हमाल र क्याप्टेन विजय लामा पनि राजनीतिमा आउने तयारीमा रहेको समाचार सार्वजनिक भएको थियो। उनीहरू कतै लामिछानेसँगै राजनीतिमा आउने चर्चा भए पनि लामिछाने आफैँले प्रस्तावित २१ जनाको कार्यसमितिमा दुवैको नाम नभएको बताए।

'उहाँहरूले मसँग राजनीतिमा आउने बारेमा छलफल गर्नुभएको छैन। उहाँहरू आउने भए त म रातो कार्पेट ओच्छ्याएर स्वागत गरिहाल्छु नि।'

उनले आफ्नो दलको नीति संवैधानिक समाजवाद रहेको बताउँदै दलको अन्य सैद्धान्तिक विषय टुङ्ग्याउन बाँकी रहेको बताए।

७ असार, २०७९, १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।