कान्ति बाल अस्पताल पुग्ने ६० प्रतिशत बालबालिकामा उच्च ज्वरो, बेड भरिभराउ 

कान्ति बाल अस्पताल पुग्ने ६० प्रतिशत बालबालिकामा उच्च ज्वरो, बेड भरिभराउ 

काठमाडौं : केही सातायता कान्ति बाल अस्पतालको ओपिडीमा जँचाउन गएका बालबालिकामध्ये करिब ६० प्रतिशतमा उच्च ज्वरो तथा रुघाखोकी देखिएको छ। 

अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार चैतदेखि जेठसम्म तीन महिनाको अवधिमा कान्ति बाल अस्पतालको ओपिडीमा करिब ५० हजार बालबालिका पुगेका थिए। जसमध्ये करिब दुई हजार बालबालिका अस्पताल नै भर्ना हुनु परेको थियो।

अस्पताल पुग्नेमध्ये अधिकांश बालबालिकामा ज्वरो, रुघाखोकी, टाइफाइड र जन्डिसजस्ता समस्या देखिएको निर्देशक डा. बसौलाले जानकारी दिए। 

कान्ति बाल अस्पतालको ओपिडिमा दैनिक पुग्ने करिब एक हजार बालबालिकामध्ये ५०/६० प्रतिशतमा ज्वरो तथा रुघाखोकी देखिने गरेको डा. बसौलाले जानकारी दिए। ओपिडीमा पुग्ने बालबालिकामध्ये दैनिक दसदेखि १५ जना भर्ना भइरहेको उनले बताए। 

के कारणले उच्च ज्वरो आएको हो भनेर निर्क्योल गर्न समेत मुस्किल पर्ने गरेको डा. विष्टले सुनाए। उनले क्लिनिकमा (आफूकहाँ) असार लागेपछि ज्वरो आएर स्वास्थ्य जाँच तथा उपचारका लागि पुग्ने बालबालिकाको संख्या ह्वात्तै बढेको जानकारी दिए। 

‘पहिलाको भन्दा ओपिडीमा आउनेको संख्या बढेको छ,’ निर्देशक डा. बसौलाले भने, ‘ज्वरो उच्च छ। १०२/१०३ ज्वरो छ।’ वैशाखको सुरुवातीबाटै अस्पताल पुग्ने बालबालिकाको चाप बढेको उनले बताए।

दैनिक ओपिडीमा बिरामी बालबालिकाले भीड हुने गरेको र अस्पतालमा बेड समेत भरिभराउ भएको निर्देशक बसौलाले जानकारी दिए। उनले भने, ‘ओपिडीमा चाप बढेको छ। बेड लगभग सबै प्याक छन्।’

बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्ट पनि उच्च ज्वरो आएर चिकित्सककहाँ पुग्ने बिरामी बालबालिकाको चाप बढिरहेको बताउँछन्। ज्वरो नियन्त्रण गर्न समेत कठिन हुने गरेको उनले बताए।  

‘अहिले ज्वरोका बिरामी बढी छन्,’ डा. विष्टले भने, ‘एकदमै ठूलो ज्वरो आउँछ। ज्वरो नियन्त्रण गर्नै गाह्रो छ। १०३/१०४ नै ज्वरो आउँछ।’

के कारणले उच्च ज्वरो आएको हो भनेर निर्क्योल गर्न समेत मुस्किल पर्ने गरेको डा. विष्टले सुनाए। उनले क्लिनिकमा (आफूकहाँ) असार लागेपछि ज्वरो आएर स्वास्थ्य जाँच तथा उपचारका लागि पुग्ने बालबालिकाको संख्या ह्वात्तै बढेको जानकारी दिए। 

ज्वरोको लक्षण लिएर उपचारका लागि पुग्ने बालबालिकको घाँटीको दुवैपट्टिका ग्रन्थी (ग्ल्याण्ड) बढेको देखिने गरेको डा. विष्ट बताउँछन्। धेरैजसो पाँच वर्षमुनिका बालबालिकामा यस्तो समस्या बढेको उनले जानकारी दिए। 

त्यसैगरी अस्पताल पुग्नेमध्ये घ्यार-घ्यार गर्ने तथा दमजस्तो, श्वास-प्रश्वासमा समस्या, झाडापखाला तथा बान्ता हुने जस्ता लक्षण लिएर बालबालिका अस्पतालमा पुग्ने गरेको अस्पतालका निर्देशक डा. बसौलाले जानकारी दिए। उपत्यका बाहिरबाट रिफर भएर आएका बालबालिका पनि अधिकांश ज्वरोकै समस्या भएर आउने गरेको उनले सुनाए।

यो ज्वरो आउने तथा झाडापखालाको मौसम समेत भएकाले सजग हुनुपर्नेतर्फ चिकित्सकको जोड छ। काठमाडौंमा हैजा पनि पुष्टि भइसकेकाले सजग हुनुपर्ने चिकित्सकको सुझाव छ।

बालबालिकामा जन्डिसको लक्षण देखिएको छ। दूषित पानीका कारण जण्डिस देखिएकाले स्वस्थ पानी सेवन गर्न चिकित्सकको सुझाव छ।

झाडापखालाको समस्या भएर उपचारका लागि अस्पताल पुगिरहेका भए पनि कान्ति बाल अस्पतालमा हैजाका बिरामी भने पुष्टि नभएको निर्देशक डा. बसौलाले जानकारी दिए। चैतदेखि वैशाखसम्म तीन महिनामा अस्पतालमा दस जना बालबालिका झाडापखालाको समस्या भएर भर्ना भएको उनले जानकारी दिए। 

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा. चुमनलाल दास पनि झाडापखालाका बिरामी तुलनात्मक रुपमा बढे पनि ठूलो रुपमा नबढेको बताउँछन्। उनी भन्छन्, ‘बच्चाहरुमा त (झाडापखालाका बिरामी) फाट्टफुट्ट सधैं आइरहेकै हुन्छ।’ ठूलो अस्पतालमा सधैं सर्भिलेन्स हुने उनले बताए।

डा. विष्ट पनि झाडापखाला लागेर चिकित्सककहाँ पुग्ने बालबालिकाको संख्या भने कमै रहेको बताउँछन्। 

त्यसैगरी बालबालिकामा ज्वरो आए, खानपान नगरे, झाडाबान्ता गरे तुरुन्तै अस्पताल लानुपर्ने चिकित्सकको सुझाव छ। 

यसरी जोगिन सकिन्छ
दूषित पानी, सडेगलेका तथा बासी खानपानका कारण झाडापखाला, जन्डिस तथा टाइफाइड लगायतको जोखिम हुने भएकाले उमालेर सफा पानी सेवन गर्न चिकित्सकको सुझाव छ। 

यो ज्वरो आउने तथा झाडापखालाको मौसम समेत भएकाले सजग हुनुपर्नेतर्फ चिकित्सकको जोड छ। काठमाडौंमा हैजा पनि पुष्टि भइसकेकाले सजग हुनुपर्ने चिकित्सकको सुझाव छ।

हावा तथा श्वास-प्रश्वासको माध्यमबाट रुघाखोकीको जोखिम बढी हुने भएकाले बालबालिकालाई भीडभाडमा नलान निर्देशक बसौलाको सुझाव छ। उनले भने, ‘धेरै भीडभाडमा, हुलमुलमा जान भएन।’

रुघा, खोकी तथा ज्वरोको समस्याबाट जोगिनका लागि मास्क लगाएर हिँड्नुपर्ने हुन्छ। अभिभावकले यसमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। 

बलबालिकाले फ्लु विरुद्धको खोप तथा नियमित लगाउनुपर्ने खोप लगाउन नछुटाउन निर्देशक डा. बसौलाको सुझाव छ।

बजारका रासायनिक तत्व (केमिकल) हालिएका आँप खाएर झाडाबान्ता गरेर अस्पताल पुग्ने बालबालिका समेत हुने गरेकाले त्यस्ता आँप नखान चिकित्सकको सुझाव छ।

७ असार, २०७९, १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।