अक्षय कुमारमाथि आपत्: जति माग्छन् पारिश्रमिक, त्यति पनि कमाउँदैन उनको फिल्मले

अक्षय कुमारमाथि आपत्: जति माग्छन् पारिश्रमिक, त्यति पनि कमाउँदैन उनको फिल्मले

एजेन्सीः बलिउड अभिनेता अक्षय कुमारको क्रेज दिनप्रतिदिन ओरालो लाग्दो छ। उनकै पछिल्ला केही फिल्मले यही पुष्टि गर्छ।

एक वर्षयता हेर्ने हो भने 'सूर्यवंशी'बाहेक उनका कुनै पनि फिल्मले लगानी सुरक्षित गरेनन्। लगानी त परको कुरा अक्षयले लिएको जति पारिश्रमिक पनि उठेन। अब प्रश्न उठ्छ- सूर्यवंशी पनि कतै अजेय देवगन र रणवीर सिंहको बलमा त चलेको होइन? किनकी रोहित शेट्टीको फिल्मको कन्क्लुजन हेर्ने हो भने सूर्यवंशी केवल 'सिंघम ३' को अनाउन्समेन्ट हो। 

'बेल बटम', 'अतरङ्गी रे', 'बच्चन पाण्डे' र पछिल्लो फिल्म 'सम्राट पृथ्वीराज' अक्षय कुमारको सुपर फ्लप फिल्मको नाम हो। र यो एक वर्षभित्रको फिल्महरू हुन्।

पृथ्वीराजकै कुरा गर्दा १७५ करोड भारुमा बनेको यस फिल्मले ८४ करोड भारुको कलेक्सन गर्यो। भारतीय सञ्चारमाध्यमको रिपोर्टलाई मान्ने हो भने यो पनि ग्रस कलेक्सन हो, नेट होइन। अनि यही फिल्ममा अक्षयको पारिश्रमिक थियो- ६० करोड भारु। झट्ट हेर्दा फिल्मले कम्तीमा अक्षयको पारिश्रमिक त उठायो भन्ने लाग्छ तर ग्रस कलेक्सनबाट नाफा निकाल्दा निर्माताले कहाँ ६० करोड पनि पाउलान् र!

अर्को सुपर फ्लप फिल्म बच्चन पाण्डेको लगानी १८० करोड भारु थियो। फिल्मले कमायो- ६८ करोड भारु। अनि यही फिल्ममा अक्षयको पारिश्रमिक चाहिँ ९९ करोड भारु थियो।

फिल्मको डिजिटल राइट्स सुरुमै २०० करोड भारुमा बेचेको भएर मात्र नत्र अतरङ्गी रे को पनि उस्तै हालत हुँदैन थियो भन्न सकिन्न। यस चलचित्रमा अक्षयले २७ करोड भारु पारिश्रमिक लिएका थिए। कमाइको आकडा सार्वजनिक नभए पनि यसले दर्शकबाट त्यति राम्रो प्रतिक्रिया भने पाएको थिएन।

बेल बटम फिल्म ७० करोड भारुमा बनाइएको थियो। र शेयरिङ बेसिसमा अक्षयले पारिश्रमिक ११७ करोड लिएका थिए। तर फिल्मले ५० करोड भारुभन्दा ज्यादा कमाएन। फिल्म सुपर फ्लप भयो।

अक्षयको पछिल्लो एक वर्षको करियरमा सूर्यवंशी मात्र हिट फिल्म हो। यस फिल्ममा अक्षयले पारिश्रमिक २५ करोड भारु मात्र लिए। फिल्मले २९५ करोड भारु कमायो। लगानी १६० करोड भारुको थियो।

७ असार, २०७९, ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।