काठमाडौँ : रुटिन अफ नेपाल बन्द लगायतका सामाजिक सञ्जाल परिचालनमा रकम खर्च गरेको आरोप लागेकै दिन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन्। उनले सोमबार सार्वजनिक गरेको चुनावी खर्च विवरणमा सोसल साइट प्रमोसनमा कुनै खर्च नभएको उल्लेख छ।
स्थानीय सरकार
नेपाली कांग्रेसकी नेतृ आरजु राणाले बालेनले निर्वाचनमा रुटिन अफ नेपाल बन्दको प्रयोग गरेर मतदाता समक्ष पुगेको भन्दै त्यसमा कति पैसा खर्च भएको हो भन्ने प्रश्न गरेकी थिइन्। निर्वाचन र निर्वाचनको परिणाम आएपछि पनि आरओएनबी लगायतका पेजले शाहको सकारात्मक सामाग्री प्रकाशनकोक्रम भने रोकेका छैनन्।
स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरणमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ मात्र खर्च भएको उल्लेख छ। उनले विवरणमा खर्च भएको उल्लेख त गरेका छन् तर सो खर्चको स्रोत व्यक्तिगत हो या चन्दा भन्ने खुलाएका छैनन्।
खर्च विवरण अनुसार निर्वाचनमा मतदाता नामावली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको उनले दाबी गरेका छन्।
कार्यालय सञ्चालनमा १७ हजार २ सय ५० र विविधमा २८ हजार ५ सय गरी कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च बालेन्द्रले फेसबुकमा राखेको विवरणमा उल्लेख गरेका छन्।
२०७९ असार ०६ गते २३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।