…त्यसपछि मुर्दा घर पुर्‍याइएका नरबहादुर फर्किए

…त्यसपछि मुर्दा घर पुर्‍याइएका नरबहादुर फर्किए

बिहान पौने ४ बजे उठ्नु। गाडामा रेडियो बजाउँदै चिया पकाउनु। १० बजेपछि पसल बन्द गरेर नजिकैको बगैंचामा केहीबेर काम गर्नु र पुन: गाडामा आएर चिया बेच्न थाल्नु नरबहादुर श्रेष्ठको दैनिकी हो। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको मुख्य गेट नजिकै छ, नरबहादुरको चिया बेच्ने गाडा। अर्थात्, चिया पसल।

उमेरले ६८ वसन्त पार गरेका उनी काभ्रेको कोशीपारिमा जन्मिए। कान्छो छोराको रुपमा जन्मिए पनि उनी घरमा कसैको प्यारो भएनन्। पढ्ने उमेर हुँदा उनको गाउँमा स्कुल थिएन। जब स्कुल खुले, पढ्न पठाइएन। 'बुबाले किन पढ्नुपर्यो, काम गरे भइहाल्यो नि भन्नुहुन्थ्यो,’ उनी भन्छन्, 'त्यसबेला पढ्नुपर्छ भन्ने नै भएन।’

नरबहादुरको बाल्यकाल खेल्ने र घरको काम गरेरै बितिरहेको थियो। जब १० वर्ष भए, बुबा गुमाउनु पर्यो उनले। नरबहादुर बुबाको मृत्युपछि आमासँगै विराटनगर गए। विराटनगर त गए तर नयाँ ठाउँ, के गर्ने, कसो गर्ने केही पत्तै पाएनन्। 

विराटनगरमा गोठालो जानुका साथै चिया बेच्ने काम गर्न थाले। तर, आमाको पनि क्यान्सरका कारण मृत्यु भयो। आमा-बुबा दुवै बितेपछि दाजुभाइबीच अंशबण्डाको कुरा चल्यो। तर दाइले भएको जग्गा पहिल्यै भाउजुको नाममा गरिसकेको थाहा पाए नरबहादुरले। यो थाहा पाएपछि उनी घरमा झगडा गरेर काठमाडौँ आए।

'यति धेरै घर बनेकै थिएनन्। काठमाडौंमा सबै जंगल नै जंगल थियो। त्यो बेला पनि यहाँ काम पाउन त गाह्रै थियो,' उनले भने, काठमाडौं आएपछि केही दिन आफन्तकहाँ बसें। त्यसपछि भीमसेनगोलामा डेरा लिएर बस्न थालें।'

एक्लै बस्न थालेपछि घर बनाउने काममा लागेका नरबहादुर दिनभरिमा जम्मा २ रुपैयाँ मात्र कमाउँथे। घरभाडा १५० रुपैयाँ थियो। कमाइले भाडा तिर्न निकै गाह्रो परेको उनी सुनाउँछन्।

सिंहदरबार अगाडि घर बनाउने काम गर्दा ज्याला बढेर एकै चोटी ९ रुपैयाँ पाउँदा दङ्ग परेको उनलाई अहिले पनि याद छ। ज्यामी काम गर्दागर्दै नरबहादुर मिस्त्री बने। मिस्त्रीको काम गर्दागर्दै उनी विभिन्न ठाउँ पुग्न थाले। धेरैजसो काम बबरमहलमा भयो। डेरा पनि त्यतै सरे। त्यहाँ काम गर्दागर्दै दिनको २५ रुपैयाँसम्म पाउन थालेको उनी सम्झन्छन्। त्यसपछि उनले रङको काम सिकेर घरघरमा रङ लगाउन थाले।

'त्यतिखेर मेरा कोही मान्छे भएको भए मलाई जलाउन घाट लैजाने रहेछन्। तर कोही नभएपछि बेवारिसे लासका रुपमा मुर्दाघरमा राखिएको रहेछ।'

भोटेबहालमा काम गर्दै थिए। सोही समयमा नरबहादुरले विवाह गरे। नरबहादुर विवाहको कुरा कोट्याउँछन्, 'दु:ख पाएकी केटी रहिछन्। मेरो छिमेकमा बस्थिन्। एक जना दाइले चिनजान गराइदिनुभयो। उहाँले नै तिमीहरु मिलेर बस भन्नुभयो। अनि हामीले विवाह गर्यौं।'

तर, नरबहादुरको उनीसँगको वैवाहिक जीवन लामो समय टिक्न सकेन। तीन वटा बच्चा भएपछि आफूहरु अलग्गिएको उनी सुनाउँछन्।

२०४७ सालमा ७ सय रुपैयाँमा उनले बागमती किनाराको सुकुम्बासी वस्तीमा जग्गा किनेका। सुरुमा प्लास्टिकको टहरा बनाएर बसेका नरबहादुरले पछि काठ र माटोको टहरासम्म बनाए। बर्खामा खोलाको बहाव बढ्दा पानी घरभित्रै आउने गरेको उनी सम्झिन्छन्।

घर नहुँदा नरबहादुरका श्रीमान्-श्रीमतीबीच दिनहुँजसो झगडा भइरहन थाल्यो। विवाद लम्बिँदै जाँदा अलग्गिने अवस्थासम्म पुग्यो। 'बर्खामा खोला घरभित्रै आउँथ्यो। छाप्रो घर टालटुल गरेर बस्ने बाहेक उपाय थिएन। अर्को ठाउँमा बस्न पैसा पनि थिएन। अनि दु:ख भयो भनेर श्रीमतीले छाडेर गइन्,’ उनी भन्छन्।

छोरा-छोरी भएर पनि एक्लो जीवन बाँचिरहेका छन् नरबहादुर। उनी भन्छन्, 'छोरीको विवाह भइसक्यो। छोरालाई अहिले पनि मैसँग पैसा माग्दैछ।'

श्रीमतीले छाडेर गएको डेढ वर्षपछि दुर्घटनामा परेर नरबहादुर खुट्टा भाँच्चियो। अहिले पनि धेरै बेरसम्म उभिन सक्दैनन् उनी। 'छाउनीमा सेफ्टी ट्यांकीमाथि पाल हालेर वाल लगाउँदै थिएँ। त्यत्तिकैमा पहिरो म पुरिएँ। म बेहोस भएँ। मलाई उद्धार गर्न नै ३/४ घण्टा लागेछ। उद्धार त गरेछन् तर मर्यो भन्ठानेर टिचिङ हस्पिटलको मुर्दा घर पुर्याएछन्,' नरबहादुर भन्छन्, 'त्यतिखेर मेरा कोही मान्छे भएको भए मलाई जलाउन घाट लैजाने रहेछन्। तर कोही नभएपछि बेवारिसे लासका रुपमा मुर्दाघरमा राखिएको रहेछ।'

दैवको लिला, ६ घण्टापछि मेरो होस् आयो। होसमा आउँदा मेरो खुट्टा नचल्ने अवस्थामा थियो। खुट्टाको उपचार भयो। हस्पिटलबाट निस्केपछि दुई वर्ष त केही गर्नै नसक्ने अवस्था पुगेको उनी सुनाउँछन्।

अलिअलि हिँड्न थालेपछि भने नरबहादुर मिस्त्री काम छोडेर व्यापारतिर लागे। सुरुमा बदाम, सुन्तला बेच्थे। पछि रत्नपार्कमा चिया बेच्न थाले। तर त्यहाँ उनले धेरै समय पसल राख्न पाएनन्। त्यहाँबाट सुन्धारा पुगे। नगरपालिकासँग लुक्दै नरबहादुरले सुन्धारामा करिब २० वर्ष चिया-सेल बेचे।

एक दिन अचानक महानगरले उनको गाडा नै लिएर गयो। सामान फिर्ता नपाउने थाहा पाएपछि चित्त दुखाउँदै उनी घर फर्किए।

एक्लो जीवन बाँच्न सकस भएको महसुस गर्दै नरबहादुरले दोस्रो विवाह पनि गरे। तर एक वर्ष अगाडि उनकी श्रीमतीको मृत्यु भयो। 'सुगर थियो उनलाई। चिन्ता पनि धेरै भयो। बल्लबल्ल बुढेसकालमा एउटा सहारा पाएको थिएँ। त्यही पनि गयो,’ उनले भावुक हुँदै सुनाए।  

यतिबेला भने टेकु क्षेत्रमा चिया बेचेर बसिरहेका छन्। दिनको दुई घण्टा नेपाल उद्योग वाणिज्य महासंघको बगैंचामा काम पनि गर्छन्। महासंघले राति उनको गाडा राख्ने अनुमति पनि दिएको छ। उनी भन्छन्, 'यो ठाउँ फापेको छ। यहाँबाट कसैले जा भन्दैनन्। ग्राहक पनि धेरै आउँछन्।’

छोरा-छोरी भएर पनि एक्लो जीवन बाँचिरहेका छन् नरबहादुर। उनी भन्छन्, 'छोरीको विवाह भइसक्यो। छोरालाई अहिले पनि मैसँग पैसा माग्दैछ। कान्छालाई दशैँ अगाडि भिजिट भिसामा दुवै पठाएको थिएँ। ८ महिनामा जम्मा २ महिनाको मात्र पैसा पाएर फर्कियो। अहिले पनि म्यानपावर धाइरहेको छ। यता बसेर बिग्रियो भनेर बल्लबल्ल विदेश पठाएको, साढे २ लाख खर्च भयो।’

रत्नपार्कमा हुँदा ५० पैसामा चिया बेच्न थालेका नरबहादुर अहिले २५ रुपैयाँ पुग्दा पनि चिया नै बेचिरहेका छन्। हात-खुट्टा चलुन्जेल काम गरिरहने अठोट छ उनको। 'अरुले देलान् भन्ने आश छैन। सकुन्जेल आफैं दु:ख गरेर खान्छु। नसकेको खण्डमा जे होला होला।'

६ असार, २०७९, १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।