चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी र सम्झना उप्रेतीको प्रतिस्पर्धा, निर्णायक आरजु देउवा

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी र सम्झना उप्रेतीको प्रतिस्पर्धा, निर्णायक आरजु देउवा

काठमाडौँ : सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापनमार्फत चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन मागे पनि अध्यक्ष बन्न चाहनेहरूले तयारी गरेको भने ६ महिना बढी भइसक्यो। एमाले नेतृत्वको सरकारले नियुक्त गरेका दयाराम दाहालको कार्यकाल सकिएपछि सार्वजनिक प्रतिस्पर्धामा नयाँ नेतृत्व छान्न मन्त्रालयले सूचना जारी गरे पनि नियुक्त हुने राजनीति सोर्सफोर्सले नै हो।

त्यही भएर अध्यक्ष हुन अनुकूल वातावरण बनाउन कांग्रेस पार्टी प्रवेश गर्नेदेखि लिएर प्रभावशाली नेता निकट हुने क्रम पार्टीको १४ औँ महाधिवेशन र स्थानीय तह निर्वाचन अगाडिबाटै सुरु भएको थियो। त्यसमा सबैभन्दा अगाडि देखिएका छन् निर्माता सम्झना उप्रेती रौनियार अनि भुवन केसी।

मन्त्रालयले आइतबार जारी गरेको सूचनामा बोर्डको अध्यक्ष बन्न ३० वर्ष पुरा भएको तर ६४ ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने उल्लेख छ। कुनै विषयमा स्नातक तह उर्तिण गरी नेपाली फिल्मको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर दश वर्ष काम गरेको अर्को सर्त छ।

अथवा, प्रवीणता पत्र तह वा सो सरह उर्तीण गरी नेपाली फिल्मको स्थापना, विकास, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर २० वर्ष काम गरेको व्यक्तिले बोर्डको अध्यक्ष पदमा आवेदन दिन सक्नेछन्।

१७ जना आकाङ्क्षी

विज्ञ नियुक्त गर्नका लागि सरकारले सार्वजनिक आव्हान गरेर उनीहरूको योग्यता र कार्य योजनाको आधारमा नियुक्तिको सिफारिस गर्ने र सोही अनुसार मन्त्रीपरिषद्ले नियुक्त गर्ने संरचना बनाइए पनि नियुक्ति योग्यताको आधारमा भन्दा पनि दल र दलका नेतासँगको निकटताको आधारमा हुने गरेको देखिन्छ। बोर्डमा पनि यस अगाडिबाटै हुँदै आएको यही हो। त्यसैले यस पटक पनि नियुक्त हुने व्यक्तिको योग्यता मापदण्डसँगै कांग्रेस निकट हुन अनिवार्य नै देखिन्छ।

बोर्डको अध्यक्षका लागि कांग्रेस निकट देखिएका नै १७ जना आकाङ्क्षी रहेका छन्। अहिलेसम्म बोर्डको अध्यक्षका लागि सम्झना उप्रेती रौनियार, भुवन केसी, नरेश पौडेल, नारायण पुरी, सुचित्रा श्रेष्ठ, मनिष पण्डित, नवल खड्का लगायतको नाम अगाडि देखिन्छ। तर टक्कर रौनियार र केसीबिच देखिएको छ।

सम्झना लामो समयदेखि नै काँग्रेसमा आबद्ध भएर पार्टीगत राजनीतिमै सक्रिय छिन्। उनी पार्टीको १४ औँ महाधिवेशनमा खुलेरै लागेकी थिइन्। उनी काँग्रेसकी नेतृ सिर्जना सिंहसँग निकट छिन्। सिर्जना प्रकाशमान सिंहकी श्रीमती समेत हुन्।

सिंहको सम्बन्ध प्रधानमन्त्री पत्नी आरजु देउवासँग समेत निकट छ। एक महिनाकै तयारीमा कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरको टिकट पाउनुमा प्रकाशमानसँगै आरजुको समेत सहयोग थियो नै। तर उनी पराजित भइन्।

कांग्रेस सदस्यतालिँदै भुवन अनी महाधिवेशन प्रतिनिधीको उम्मेदवार बन्दाको उप्रेतीको प्रचार सामाग्री

सम्झनाको अर्को बलियो पाटो नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका विनोद चौधरी समेत हुन्। उनले चौधरीकै लगानीमा 'मेघा' फिल्म बनाएकी थिइन्। उनले फागु नामका फिल्म पनि निर्देशन गरिन्। भारतको मुम्बईमा दुई वर्ष बसेर उनले केही हिन्दी फिल्ममा सहायक निर्देशकका रूपमा काम गरेको अनुभव समेत छ उनीसँग।

पद्मकन्या क्याम्पसमा अध्ययन गर्दादेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध रहेर राजनीति गरेकी थिइन्। उनी तीन दशकदेखि काँग्रेसको क्रियाशील सदस्य समेत हुन्। पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित समेत भएकी थिइन्।

तर सम्झना चलचित्र मेघामा प्रयोग गरेको गोपाल योञ्जनको एक गीतको प्रतिलिपी अधिकार उलंघनको विवादमा परेकी थिइन्। उनले फिल्मका लागि अनुमती लिएको सो गीत योञ्जन परिवारको अनुमती नै नलिई युट्युवमा राखेर ब्यापारिक प्रयोजनमा प्रयोग गरेको आरोप लागेको थियो।

अर्का प्रतिस्पर्धी भुवन केसी स्थानीय तह निर्वाचन अगाडि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन्। भुवन यसअघि एमालेमा थिए। एमालेमा प्रवेश गर्दा उनको नाम बोर्डको अध्यक्षको रूपमा आएको थियो। उनले आवेदन समेत दिएका थिए। तर एमाले निकट अर्का निर्देशक दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका थिए।

उनलाई निर शाहलगायतकाको साथ देखिन्छ। स्थानीय तह निर्वाचन अगाडि कलाकारको हुलसहित कांग्रेस प्रवेशको सर्त बोर्डको अध्यक्षको वचन रहेको चर्चा चलेको थियो। केसीले यो केवल चर्चा मात्रै नभएको पुष्टि गर्दै जिम्मेवारी आए आफू तयार रहेको बताएका थिए। 

५ असार, २०७९, २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।