भारतमा सेना भर्ना योजनाविरुद्ध प्रदर्शन: प्रदर्शनकारीले रेल जलाए, सरकारले इन्टरनेटमा प्रतिबन्ध लगायो

भारतमा सेना भर्ना योजनाविरुद्ध प्रदर्शन: प्रदर्शनकारीले रेल जलाए, सरकारले इन्टरनेटमा प्रतिबन्ध लगायो

एजेन्सीः भारतीय सेनाको भर्ना प्रक्रियामा 'अग्निपथ' नामको नयाँ योजना ल्याइएपछि यतिबेला भारतमा यसको विरोधमा चर्को प्रदर्शन भइरहेको छ। तीन दिनअघि केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले ल्याएको सेना भर्ती प्रक्रिया विरुद्ध विरोध चर्किएको हो।

सेना भर्तीको समयावधि छोटो भएको भन्दै थुप्रै युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। विरोधको दोस्रो दिन अर्थात् शुक्रबार विरोध प्रदर्शन हिंसामा परिणत भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूले बिहारका उपमुख्यमन्त्री रेणु देवी, बिहारस्थित भारतीय जनता पार्टी प्रमुख र अन्य लोकसभा सांसदको घरमा हमला गरेका छन्।

आक्रोशित प्रदर्शनकारीहरूको भीडले हरियाणा र बिहार जोड्ने रेलमार्गमा एउटा रेल र अन्य थुप्रै सवारी साधनमा आगजनी गरेका छन्। सो विरोध अझै चर्किन सक्ने भन्दै हरियाणा सरकारले त्यहाँको यातायात र इन्टरनेट सेवा अस्थायी रूपमा प्रतिबन्ध गरेको बीबीसी हिन्दीले जनाएको छ।

कुल १३ राज्यमा विरोध चर्किएको छ। उत्तर प्रदेश र बिहारमा बस र रेलसेवालाई लक्षित गर्दै प्रदर्शनकारीहरूले जलाउने तथा तोडफोड गर्ने गरिरहेका छन्। प्रदर्शनकारीहरूले भारत बन्दको घोषणा गरेका छन्। उत्तर प्रदेश, बिहार र तेलंगानामा गरी कुल १२ रेलमा आगजनी गरिएको छ। 

भारतीय सेनामा जम्मा चार वर्षे अस्थायी नियुक्ति, आजीवन स्वास्थ्य सुरक्षा र पेन्सनको व्यवस्था नभएको भन्दै त्यहाका युवाहरू विरोधमा उत्रिएका हुन्। विरोध नियन्त्रणका लागि बिहारमा मात्र झण्डै २५ हजार प्रहरी तैनाथ गरिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सेनामा ठूलो संख्यामा भर्ना लिने घोषणा गरेको थियो। अग्निपथ योजनाअन्तर्गत सेनामा भर्ना हुने उमेर १७ देखि २१ वर्ष तोकिएको छ। शैक्षिक योग्यता १० या १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने छ। सो भर्ना अवधि केवल चार वर्षको लागि मात्र हुनेछ भने तीन वर्षसम्म मासिक तलब ३० हजार हुने र चौथो वर्षको मासिक तलब ४० हजार हुने भारतीय सञ्चारमाध्यममा खबर छ।

सेवाको अवधि सकिएपछि मुल्यांकनको आधारमा २५ प्रतिशतलाई नियमित सेवामा राखिने र बाँकीलाई निकालिने बताइएको छ।

४ असार, २०७९, ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।