मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग

मङ्किपक्स आशङ्कामा गरिएको व्यक्तिमा कुष्टरोग

काठमाडौँ : मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिइन्। 

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो। दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्किपक्सको आशङ्कामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। 

अहिलेसम्म २९ वटा देशमा मङ्किपक्स देखापरेको र एक हजारभन्दा बढी सङ्क्रमित भएका छन्। मन्त्रालयका प्रवक्ता डा मिश्राले नेपालमा अहिलेसम्म मङ्किपक्सको बिरामी नेपाल फेला नपरेको बताए। दुबईबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्किपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो। 

'मन्त्रालयले विश्वव्यापी रुपमा बढ्दै गएको मङ्किपक्स सङ्क्रमणबारे सचेत रहेको र सर्तक अवस्थामा रहेको छ। यस सम्बन्धमा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई मङ्किपक्सको कुनै पनि शंकास्पद सङ्क्रमणहरु मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दछौँ', आज मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ती बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए।

३ असार, २०७९, २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।