जनप्रतिनिधिको अभिमुखिकरण कार्यक्रममा एमाले नेताको 'मोबाइल-मोह'

जनप्रतिनिधिको अभिमुखिकरण कार्यक्रममा एमाले नेताको 'मोबाइल-मोह'

काठमाडौंः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिहरूलाई आज पार्टीले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम राखेको छ। आज र भोलि दुई दिन चल्ने प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुख सहभागी छन्।

कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजना हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्।

यता कार्यक्रम सुरु हुनुपूर्व भने एमालेका नेताहरूमा 'मोबाइल-मोह' देखिएको थियो। उकेरालाई प्राप्त तस्बिरमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल घोत्लिएर मोबाइलमा हेर्दै गरेको देखिन्छ। उपाध्यक्ष विष्णु पौडेल मोबाइलमा केही देखाइरहेका छन्। उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली पौडेलले देखाएको हेर्दैछन्।

अर्को तस्बिरमा उपमहासचिव ज्ञवालीले आफ्नो ट्याबमा केही देखाइरहेका छन्। पौडेल र रिमालको ध्यान अब ज्ञवालीको ट्याबमा देखिएको छ।

एकैछिनमा नेम्वाङ पनि त्यहाँ आइपुग्छन्। उनी कुनामा फोनमा गफ गरिरहेका थिए। यता आउँदा पनि उनको हातमा मोबाइल छँदैछ।

अब मोबाइल शोअफ गर्ने पालो रिमालको। उनले केही देखाइरहेका छन्। ध्यान दिएर हेरिरहेका छन्- नेम्वाङ, पौडेल र ज्ञवाली।

छेउमै पार्टीका नेताहरू ग्रुप मिलाएर गफ गरिरहँदा ईश्वर पोखरेल भने आफ्नै सुरमा थिए। उनलाई न पौडेलले देखाएको कुरामा चासो छ, न रिमाल न ज्ञवालीले। न त नेम्वाङ छेउमा आउँदा नै उनको ध्यान गएको छ।

नेम्वाङ अगाडितिर आएर बोल्दा भने मुसुक्क हासेका थिए पोखरेल। तर त्यो पनि नेम्वाङको कुराले हो वा मोबाइलकै कुराले हो भन्ने चाहिँ ठ्याक्कै भन्न सकिन्न।

अन्तिममा भने एक पटक पोखरेलले पौडेललाई केही भनिरहेको देख्न सकिन्छ। तर यतिबेला पौडेलको ध्यान भने मोबाइलमै हुन्छ।

२ असार, २०७९, १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।