बुटवल उपमहानगरपालिकाको पाठ्यक्रम विवादमा, इसाई धर्मको ‘प्रचार’ गरेको आरोप

बुटवल उपमहानगरपालिकाको पाठ्यक्रम विवादमा, इसाई धर्मको ‘प्रचार’ गरेको आरोप

बुटवल : बुटवल उपमहानगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बुटवल’ पुस्तक प्रकाशनमा पुन त्रुटि भेटिएको छ। उपमहानगरपालिकाले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम विकास गरी लागू गर्न पाउने शिक्षा नियमावली अन्तरगत प्रकाशन गरिएको कक्षा ७ को ‘हाम्रो बुटवल’ विषयको पुस्तकमा कुनै धर्मसँग जोडेर ‘पाप, धर्म’को ‘प्रचार’ गरिएको छ।

पाठ ६ मा रहेको ‘इसाई धर्म’ शीर्षकमा लेखिएका अंशलाई कुनै पनि धर्मको विरोध वा समर्थन गर्ने गरी तयार गरिएको भन्दै विरोध भएको हो।  पाठ्यपुस्तकमा भनिएको छ‘इसाई धर्मका अनुसार जीव हत्या, अनावश्यक हरिया रुखहरू काट्नु, कसैलाई व्यर्थमा आघात पुराउनु, व्यर्थमा पानी बगाउनु आदि पाप हुन।’

कुनै पनि धर्मको पाठमा पाप र धर्म सिकाइनुले अन्य धर्मको विरोध हुने गरेको र यसले इसाई धर्म नै ठिक हो भन्ने गरी घुमाउरो भाषामा धर्मको ‘प्रचार’ भएको भन्दै विरोध सुरु भएको छ।

बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख टिकाराम पन्थीले जीव हत्या गर्नु हुँदैन भनेर बालबालिकालाई नैतिक शिक्षा दिन पाठ्यक्रममा यो विषय समेटिएको बताए। उनले पहिलो चरणमा स्थानीय तह पाठ्यक्रम बनाउन केही त्रुटि भएको स्वीकार गर्दै आगामी संस्करणमा त्रुटि सच्चाउने बताए। उनले इसाई धर्म पाठका सन्दर्भमा कुनै पनि धर्म इसाई, हिन्दु, मुस्लिम लगायतका धर्मको समर्थन वा विरोधमा लागि पाठ्यक्रममा उक्त अंश नराखेको दाबी गरे।

‘यो त्रुटि होइन, समाजले नराम्रो भनेका कुरालाई पाप हो भनेर लेखिएको हो। इसाईहरूले के-के गर्ने अनि पाप के हो ? धर्म के हो ? भनेर सिकाउने भनेर बेअर्थ टिप्पणी गरिएको हो’ उनले दाबी गरे।

बुटवल उपमहानगरपालिकाले तयार पारेको पाठ्यक्रमको त्रुटि यो पहिलो भने होइन। यस अघि पनि ‘आवर बुटवल’ पुस्तकको ‘आवर टुरिस्ट साइटस्’ हाम्रो पर्यटकीय स्थलहरू शीर्षकको पाठमा बुटवलको मणि मुकुन्द पार्क (फूलबारी) को तस्बिर राखी ‘लुम्बिनी बसपार्क’ भन्दै व्याख्या गरिएको थियो।

त्यस्तै कक्षा २ को अङ्ग्रेजी संस्करणको ‘आवर बुटवल’ विषयको पुस्तकमा पनि गलत सामग्री भेटिएको थियो। ८८ पेजमा प्रकाशित उक्त पुस्तकको पेज नम्बर ४८ मा गलत सामग्री भेटिएको थियो ।

बुटवलको जीतगढी किल्लादेखि उत्तरमा रहेको बुटवलसँगै जोडिएको तिनाउ गाउँपालिका–२ मा अवस्थित नुवाकोट गढीको विषयमा जानकारी गराउने उद्देश्यले तयार पारिएको (पुरानो बुटवल) शीर्षकको पाठमा नुवाकोट चिनाउन प्रयोग गरिएको तस्बिर गलत राखिएको थियो।

उक्त पुस्तकमा बुटवलको नुवाकोट गढी नभई नेपालकै नुवाकोट जिल्लामा अवस्थित नुवाकोट दरबारको तस्बिर छापिएको थियो।

उपमहानगरपालिकाले तयार गरेको पाठ्यक्रममा बारम्बार त्रुटि भइरहँदा पाठ्यक्रम तयार गर्ने समय देखिनै पाठ्यक्रम शिक्षा नीति अनुसार नभएको भन्दै विरोध गरिएको थियो।

‘बुटवलको बच्चालाई बन के हो ? फूलबारी के हो ? भनेर पाठ्यक्रममा देखाउन आवश्यक छैन। यस्ता विषय २ घण्टा गाडीमा चढाएर हिँडाए पनि देख्न सक्छन्। पाठ्यक्रमले कसरी सिप र रोजगारी बढाउने हो यो विषय जोड्न पर्थ्यो। तर जोडिएन’ शिक्षा तथा वातावरणविद् युवराज कँडेलले भने।

उनले पाठ्यक्रम निर्माण हुने समयमै पाठ्यक्रम स्थानीय तह मुखी नभएको बताए पनि कसैले यस बारे चासो नदिएको भन्दै बुटवलको स्थानीय पाठ्यक्रम नै गलत भएको बताए।

जीवन चलाउने कसरी, सिप, रोजगारी सिर्जना, व्यापार, पर्यटनको विकास, कृषिको सम्भावना बुटवलमा के छ भनी पाठ्यक्रममा हुनुपर्नेमा अनावश्यक विषय पाठ्यक्रममा समावेश भएको उनले बताए।

१ असार, २०७९, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।