कारागार प्रशासनको कैदी साट्ने धन्दा : ६ वर्षमा दोहोरियो उस्तै घटना, तर गम्भीर छैन गृह प्रशासन 

कारागार प्रशासनको कैदी साट्ने धन्दा : ६ वर्षमा दोहोरियो उस्तै घटना, तर गम्भीर छैन गृह प्रशासन 

काठमाडौं: ६ वर्ष अगाडि जेलमा हुनुपर्ने एक कैदी सुन्धाराको डिस्कोमा भेटिए। लागुऔषधको मुद्दामा दोषी ठहर १० वर्ष कैद तोकिएका रावणजित तामाङ सुन्धाराको डिस्कोमा फेला परेपछि उनी एक वर्षदेखि कारागार बाहिर रहेको पुष्टि भयो। तर कारागार प्रशासनको रेकर्डमा भने उनी कारागारमै थिए भिमफेदीमा। भिमफेदीमा जो रावणजित बनेर बसेका थिए ती थिए राजकुमार तामाङ।

६ वर्षपछि रोल्पा कारागारमा ठ्याक्कै उस्तै घटना दोहोरियो। अवैध हतियार र जवर्जस्ती रकम असुलीको मुद्दामा सजाय तोकिएका व्यक्ति जेलमुक्त भएर उनको ठाउँमा भेटिए मोबाइल चोरीमा जेल परेका सुन्दर हरिजन।

रावणजितको घटनामा उनी काठमाडौँका परिचित गुन्डा हुँदाहुँदै सार्वजनिक हुँदा प्रहरी नजरमा परेका थिए। हरिजन ज्युँदै भएको भए यो घटना सार्वजनिक हुने सम्भावना देखिन्न। उनको आत्महत्यापछि हरिजन जुन नक्कली कैदी बनेर कारागारमा बसेका थिए उनैको परिवारले उनी हैनन् भन्ने पुष्टि गरेको थियो।

यी दुवै घटनामा धेरै समानता छन् जसले कैदी साटफेर हुने घटना केवल संयोग मात्रै हैन यसमा कारागार प्रशासन र सुरक्षाकर्मीबिच मिलेमतोका प्रशस्त प्रमाणहरू देखाउँछ। तर परम्परागत विवरण राख्ने शैली अनि कैदी बुझ्ने र बुझाउनेक्रममा त्रुटि भएकाले सचेत गराउने जस्ता सामान्य कारबाहीमै टुङ्गिन्छ गम्भीर मिलेमतोमा घटना।

जबकि यी दुई घटनाले सार्वजनिक परिचय नभएकाहरू जो लामो अवधिको जेल सजाय पाएका छन् तीनको नाममा जो जेलमा छन् ती सक्कली नै हुन् या हरिजन र राजकुमारहरू हुन् भन्ने गम्भीर प्रश्न उठाउँछ। यसले कारागारका कैदीको पुन पुष्टि हुनुपर्ने देखाए पनि जिम्मेवार निकाय भने गम्भीर घटनालाई पनि सामान्य घटना जस्तै बनाउने प्रयास गरिरहेका छन्।

 

पहिला हरिजनकै घटना। 
रोल्पा कारागार कार्यालयमा जेठ ४ एक कैदीले झुण्डिएर आत्महत्या गरेका थिए। कारागारको रेकर्डमा विजयविक्रम शाह भएका उनी विजय नभइ सुन्दर रहेको खुलेपछि गृहले छानबिन गर्न समिति गठन गर्यो।

उनीहरूलाई २०७७ मङ्सिर ८ गते बाँके कारागारबाट एकै दिन एउटै पत्रबाट सरुवा गरेर रोल्पा कारागार लगियो। रोल्पा पुग्दा सुन्दर विजय भइसकेका थिए अनि विजय सुन्दर। कैदीपूर्जी साटफेर गरेर उनीहरूको विवरण समेत बदलिएको थियो। 

समितिले छानबिनबाट कैदी स्थानान्तरण गर्दा गम्भीर त्रुटि भएको औंल्याउँदै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझायो। 

प्रतिवेदनमा खुलेका विवरण सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार छानबिनले भने कारागार प्रशासनको गतिविधिमाथि प्रशस्त शंका उठाएको छ। 

यस्तो छ हरिजनको घटना
जेल प्रशासनको रेकर्डमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ घरवारी टोलका १७ वर्षीय सुन्दर हरिजन २०७७ पुस २८ मै जेलमुक्त भएका थिए। 

रेकर्ड अनुसार हरिजन ४८ हजार पाँच सय रुपैयाँ जरिवाना तिरेर थुनामुक्त भएका थिए। कागजातमा मुक्त हुनेको नाम हरिजनको भए पनि उनी कारागारमै थिए। 

कागजमा सुन्दर हरिजन नाम लेखाएर मुक्त भएका थिए विजय विक्रम शाह। शाह हातहतियार तथा खरखजाना र अपराधिक लाभ मुद्दामा कारागारमा थिए। 

जिल्ला अदालत बाँकेले हरिजनलाई चोरी कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना सुनाएको थियो। शाहलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। 

उनीहरूलाई २०७७ मङ्सिर ८ गते बाँके कारागारबाट एकै दिन एउटै पत्रबाट सरुवा गरेर रोल्पा कारागार लगियो। रोल्पा पुग्दा सुन्दर विजय भइसकेका थिए अनि विजय सुन्दर। कैदीपूर्जी साटफेर गरेर उनीहरूको विवरण समेत बदलिएको थियो। 

पुस २८ मा सुन्दर बन्दै शाह जेल मुक्त भए। सुन्दर शाह बनेर जेलमै बसे। जेठ ४ मा शाहको नाममा रहेका हरिजनले आत्महत्या गरे। जेल विवरणका आधारमा शाहको परिवारसँग सम्पर्क गर्दा शाहको आमाले आफ्नो छोरो घर आएर श्रीमती लिएर भारत गएको बताइन्।

प्रशासनले फोटो पठायो। आमाले आफ्नो छोरो होइन भनेपछि शंका लागेर सँगै आएका अर्का कैदीको परिवारमा सम्पर्क राख्दा उनी सुन्दर हरिजन भएको खुलेको थियो।

के-के देखियो छानबिनमा ? 

घटना सार्वजनिक भएपछि विरोध सुरु भयो। कारागार व्यवस्था विभागले छानबिन गरायो। प्रतिवेदनमा कारागार प्रशासन निर्दोष छ भनियो। विवाद बढ्ने देखिएपछि मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्त्वमा समिति गठन गर्यो। 

अनुसन्धानमा लागुऔषधको अभियोग पुष्टिसँगै काठमाडौं जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएका रावणजित भूकम्पपछि होइन, डेढ वर्षअगाडिबाटै स्वतन्त्र जीवन बिताइरहेको खुल्यो। रावणजितको सजाय  नुवाकोट काउलेका राजकुमार तामाङले भोगिरहेका थिए स्वेच्छाले। यो खुलासापछि रावणजित जेल चलान भए। तर कसैमाथि कारबाही भएन। 

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए। 

गृहमन्त्रीको सचिवालयका अनुसार प्रतिवेदनमा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरवाही र त्रुटि गरेको, कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख छ। 

जानकार स्रोत कारागार सरुवा र रोल्पा कारागारमा दर्ता गर्ने प्रक्रियासम्म कारागारका कर्मचारीको मिलेमतो देखिएको छ। सक्कली शाहबारे खोजी गर्दा उनी भारत उत्तर प्रदेशको बारबंकी जिल्लामा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेको खुलेपछि एक टोली त्यही पुगेर सोधपुछ समेत गरेको थियो। शाहले हरिजनलाई नै फकाएर पुर्जी साट्न सहमत गराएको दावी गरेका थिए। 

६ वर्षअगाडिको उस्तै घटना
कारागारका कैदी साटिएको यो नै पहिलो घटना होइन। ६ वर्षअगाडि यस्तै घटना खुलेको थियो। भूकम्पमा सिन्धुपाल्चोक कारागार भत्किएपछि केही कैदीबन्दी भागे। 

उनीहरू खोज्न प्रहरी खटियो। एक कैदी बेबिलोन डिस्कोमा नाचिरहेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली सुन्धारा आएर पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरे। प्रहरीले तिघ्रामा गोली हानेर समात्यो। 

ती थिए लागूऔषध मुद्दामा १० वर्ष कैद सुनाइएका रावणजित तामाङ। तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएर थप जाँचबुझ गर्न टेकु आएको प्रहरी टोली जिल पर्यो।


रावणजित तामाङ (बायाँ) र राजकुमार तामाङ

जेलबाट भागेका कैदी रावणजित त भीमफेदी कारागारमा रहेको विवरण आयो कारागार व्यवस्था विभागबाट। महाशाखाको सूचनामा उनी वैशाख १२ को भूकम्पपछि भागेका थिए। कारागार व्यवस्था विभागको रेकर्डमा भने उनी वैशाख ३१ गतेबाट कारागारमा थिए। 

कारागार भत्कँदा भागेका कैदीलाई नजिकको कारागारको सम्पर्कमा आउन विभागले सूचना जारी गरेलगत्तै रावणजित भीमफेदी कारागार पुगेर आत्मसर्मपण गरेका थिए। 

अनुसन्धानमा लागुऔषधको अभियोग पुष्टिसँगै काठमाडौं जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएका रावणजित भूकम्पपछि होइन, डेढ वर्षअगाडिबाटै स्वतन्त्र जीवन बिताइरहेको खुल्यो। रावणजितको सजाय  नुवाकोट काउलेका राजकुमार तामाङले भोगिरहेका थिए स्वेच्छाले। यो खुलासापछि रावणजित जेल चलान भए। तर कसैमाथि कारबाही भएन। 

उस्तै-उस्तै सेटिङ
काठमाडौंमा जबर्जस्ती रकम असुली र गुन्डागर्दीमा कहलिएका काभ्रे नारायणस्थान–९ का रावणजित लागूऔषधसहित काठमाडौंमा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतले २०६९ माघ १२ मा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो। 

उनी फैसलाअगाडि वैशाख २१ बाटै पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए। मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका तामाङ अदालतले मागेको ७५ हजार जरिवाना तिर्न नसकेपछि २०६९ वैशाख २१ गते डिल्लीबजार कारागारमै पुगे। जेलभित्र रावणजितको बल चल्थ्यो। राजकुमार उनको निकट भए। 

२०६९ फागुनमा रावणजितले कारागार स्थानान्तरणका लागि जेल प्रशासनमा निवेदन दिँदै सिन्धुपाल्चोक पठाउन माग गरे। रावणजितझैँ राजकुमारले पनि जेल सार्न निवेदन दिए।

दुवैको निवेदनअनुसार कारागार प्रशासनले फागुन ११ गते दुवैलाई जेल स्थानान्तरणको पत्रसहित सुरक्षाकर्मी साथ लगाएर सिन्धुपाल्चोक कारागार पठायो। दुवैलाई जेल प्रशासनमा बुझाएर सुरक्षाकर्मी फर्किए। 

दुवै घटनामा एक जेलबाट अर्को जेल पठाउँदा स्थानान्तरण पत्रका आधारमा मात्रै पठाएको, कारागार स्थानान्तरणका लागि अन्य कैदीबन्दीको निवेदन भए पनि कारागार प्रशासनले अहिले शाह र हरिजनको अनि ६ वर्षअगाडि रावणजित र राजकुमारको निवेदनलाई प्राथमिकता दिएर स्थानान्तरणको निर्णय गरेको खुलेकाले यो धन्दामा कारागार प्रशासनमा मिलेमतो हुने गरेको पुष्टि हुन्छ। 

सिन्धुपाल्चोक कारागार पुगेको ९ दिनमै १० वर्ष कैद सजाय सुनाइएका रावणजित राजकुमार बनेर जेलमुक्त भए। ७५ हजार जरिवाना तोकिएका राजकुमार रावणजित बनेर १० वर्ष कैद सजाय काट्न जेल बसे। 

उनी काठमाडौंमा खुल्लमखुल्ला भएपछि प्रहरीमा सूचना पुग्यो। जेलबाट भागेको कैदी भनेर पक्राउ गर्दा जेलमा भएको सेटिङ खुल्यो। यो घटनाको छानबिनमा रावणजितले राजकुमारको परिवारलाई आर्थिक सहयोगको प्रलोभनमा पूर्जी साटेर कैद साटेको मात्र भनियो। 

यता सुन्दर हरिजनको घटना पनि यस्तै देखिन्छ। सुर्खेत बराहताल गा.पा. वडा नं १ घोडाआँखेका २९ वर्षिय विजयविक्रम शाह हातहतियार तथा खरखजना र अपराधिक लाभ मुद्दामा पुर्पक्षको लागी बाँके कारागारमा थिए। 

उनलाई अपराधिक लाभमा ५ वर्ष कैद र ५० हजार जरिवाना र हातहतियार तथा खरखजाना मुद्दामा थप ८ महिना कैद ८० हजार जरिवाना हुनेगरी फैसला भएको थियो। 

शाह २०७४ फागुन २३ गते देखि प्रहरी हिरासत हुँदै कारागार चलान भएका थिए। शाह जरिवाना बुझाएमा २०७९ फागुन २३ गते छुट्ने र जरिवाना नबुझाएको खण्डमा २०८० भाद्र १० गते कैदमुक्त हुन्थे। 

हरिजन बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ घरवारी टोलका हुन्। उनी मोबाइल चोरीमा समातिए। बाँके जिल्ला अदालतले २०७५ फागुन १२ गते कैद र जरिवानाको फैसला गर्यो। 

सिन्धुपाल्चोकको सो घटनापछि नै कारागार प्रशासनले सबै कैदीबन्दीको डिजिटल रेकर्ड राख्ने दावी गरेको थियो। तर अहिलेसम्म सो कार्यान्वयनमा नआएको हरिजनको घटनाले देखायो।

हरिजनले जरिवाना तिरेमा २०७७ भाद्र १७ गते छुट्थे। जरिवाना नतिरी बसेका उनी २०७७ पुष २८ गते जरिवाना बुझाई ५ छुटे। छुट्नेको नाम हरिजन भए पनि छुटे शाह। 

२०७७ असोज ४ मा हरिजन समेत विजयविक्रम शाह, रणबहादुर रोका र धनराज बुढाले संयुक्त रूपमा कारागार स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभागमा निवेदन दिए पनि उही राजकुमार र रावणको केसमा झैँ दुई जनाको मात्र स्वीकृत भयो। 

२०७७ मंसिर ८ गते रोल्पा कारागारका कार्यालय सहयोगीले दुवै कैदी बुझेर भरपाई गरिदिए। कैदी हस्तान्तरण गर्दा कारागार ऐन नियम बमोजिम कैदीहरूको स्पष्ट पहिचानका साथ आवश्यक कागजातसहित कैदीलाई चिनाएर जिम्मेवार व्यक्तिलाई कैदी बुझाउनु पर्ने हो। तर त्यसो गरिएन। जसले जे दावी गर्यो त्यही रेकर्ड राखियो। हरिजन शाह बने शाह हरिजन। 

जानाजान लापरवाही 

कारागार व्यवस्था ऐन र नियमावलीअनुसार एक कारागारबाट अर्को कारागारमा पठाउँदा परिचयपत्रसहित पठाउनुपर्ने प्रावधान छ। तर न सुन्दर हरिजनको केसमा यो देखियो न हिजो राजकुमारको केसमा नै यसको पालन भएको देखिएको थियो। 

दुवै घटनामा एक जेलबाट अर्को जेल पठाउँदा स्थानान्तरण पत्रका आधारमा मात्रै पठाएको, कारागार स्थानान्तरणका लागि अन्य कैदीबन्दीको निवेदन भए पनि कारागार प्रशासनले अहिले शाह र हरिजनको अनि ६ वर्षअगाडि रावणजित र राजकुमारको निवेदनलाई प्राथमिकता दिएर स्थानान्तरणको निर्णय गरेको खुलेकाले यो धन्दामा कारागार प्रशासनमा मिलेमतो हुने गरेको पुष्टि हुन्छ। 

सिन्धुपाल्चोकको सो घटनापछि नै कारागार प्रशासनले सबै कैदीबन्दीको डिजिटल रेकर्ड राख्ने दावी गरेको थियो। तर अहिलेसम्म सो कार्यान्वयनमा नआएको हरिजनको घटनाले देखायो।

यसले कारागार प्रशासनमा मौलाएको धन्दाको संकेत त गरेकै छ यस्ता कैयौँ अपराधी रावणजित र शाहझैँ बाहिर बसेर अन्य हरिजन र राजकुमार जेलमा रहेको हुनसक्ने गम्भीर पक्ष समेत देखाएको छ।

१ असार, २०७९, ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।