कक्षा ११ र १२ को पाठ्यपुस्तक पनि साझा प्रकाशनलाई छाप्न दिइनेः शिक्षामन्त्री पौडेल

कक्षा ११ र १२ को पाठ्यपुस्तक पनि साझा प्रकाशनलाई छाप्न दिइनेः शिक्षामन्त्री पौडेल

काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ११ र १२ को  पाठ्यपुस्तक साझा प्रकाशनलाई छाप्न दिने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुराको जानकारी दिएका हुन्। 

उनले भने, 'पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशन मार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ।'

सांसदहरुले धर्म परिवर्तन गराउने कार्यमा संलग्न भएर सरकारले पाठ्युस्तक तयार गरेर वितरण गरेको भन्दै आपत्ति जनाएका थिए। सोही विषयमा जवाफ दिँदै मन्त्री पौडेलले सरकारले स्वीकृति दिएका पाठ्यपुस्तकमा यस्ता कुरा समावेश नभएको दाबी गरे। बरु केही जिल्लामा केही संस्थाले वितरण गरेको पुस्तकमा उक्त विषय समावेश भएको देखिएकाले अविलम्ब यस कार्यमा संलग्नमाथि कारबाही गरिने उनको प्रतिबद्धता छ। 

‘स्वीकृत भएका पुस्तकमा केही माननीय सदस्यहरुले उठाएका कुरा पाठ्यक्रममा काहीँ पनि समावेश छैन। हामीलाई जानकारी पनि छैन। हामीले बजारमा बुझ्दाखेरी, तथ्य बुझ्दाखेरी, तराईको कुनै जिल्लामा यस प्रकारका किताबहरु, त्यस प्रकारका संस्थाले अतिरिक्त अध्ययनका लागि वितरण गरेको प्रारम्भिक सूचना आएको छ,’ बैठकमा मन्त्री पौडेलले भने, ‘अनाधिकृत रुपमा त्यस्ता पुस्तक कसले वितरण गरेका छन्। खोजबिन गरेर अविलम्ब कानुनी कारबाही गरिनेछ।’

३१ जेठ, २०७९, १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।