काठमाडौँ : सोर्हखुट्टेमा रहेको अस्कल क्याम्पसको रूपमा परिचित अमृत साइन्स क्याम्पसमा अधिकांश प्राध्यापकहरू अनुपस्थित छन्। जो आएका छन् उनीहरू पनि त्रासमा देखिन्छन्।
उकेरा शिक्षा
क्याम्पसको छाप दुरुपयोग गरेर पैसा असुल्ने विद्यार्थीविरुद्ध जाहेरी दिँदा अस्कल अस्तव्यस्त, उल्टो उपप्राध्यापक कुटिए

विध्यार्थीहरु कक्षा कोठामा भन्दा बाहिर समूहमा बसेर छलफल गरिरहेका भेटिए शुक्रवार।
एक समूहका विद्यार्थीले क्याम्पस प्रमुखलाई फोन गरेर वार्ता गर्ने प्रस्ताव गरिरहेका थिए। क्याम्पसको स्थिति किन यस्तो भयो भन्ने बुझाउन विभिन्न विद्यार्थी सङ्गठन अनि प्राध्यापक सङ्घको ’ध्यानाकर्षण’ विज्ञप्तिले भरिएको सूचना पाटी नै काफी थियो।
यसको प्रमुख कारण देखियो प्रमुख प्रतिपक्षी दल एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु (अखिल) अस्कल इकाई कमिटी। माग आफ्नो सङ्गठनका विद्यार्थी नेतामाथि लागेको किर्ते मुद्दा फिर्ता र क्याम्पस प्रमुखको राजीनामा।
उनीहरूको मुख्य ध्यान किर्ते मुद्दा फिर्ता नै हो। त्यो मात्र उठाउँदा अपराधका आरोपीको पक्षमा लागेको देखिने भएर अर्को मुद्दा पनि थपिदिए क्याम्पस प्रमुखको राजीनामा।
विवाद बढिरहेकै बेलामा आइतबार विद्यार्थी कल्याणकारी तथा खेलकुद विभागका प्रमुख उपप्राध्यापक दिवाकर पाण्डेलाई अनेरास्ववियुका क्याम्पस इकाई सहसचिव पङ्कज पाण्डेयले कुटे।
कक्षा सक्काएर बाहिर निस्कने क्रममा केही बेर एकान्तमा कुरागरौ भन्दै उनले उपप्राध्यापक पाण्डेमाथि हातपात गरेको सहायक क्याम्पस प्रमुख रवीन्द्र महत बताउँछन्। त्यस लगत्तै उपप्राध्यापक पाण्डेले प्रहरी वृत्त सोह्रखुट्टेमा जाहेरी दिए।
त्यसपछि क्याम्पसको वातावरण थप धमिलियो। अहिले क्याम्पसमा प्रयोगात्मक परीक्षा भइरहेको छ। त्योबाहेक पठनपाठन, नयाँ विद्यार्थी भर्ना र प्रयोगात्मक बोर्ड परीक्षा लगायतका काम ठप्प छ।
प्रयोगात्मक परीक्षाको लागि उपस्थित प्राध्यापकहरू पनि त्यत्ति कुरा गर्न इच्छुक देखिएनन्। प्राध्यापकहरुसँग फोन मार्फत कुरा गर्न खोज्दा फोन उठाउँदैनन्। उठाइहाले पनि आफ्नो परिचय दिए पश्चात् ’वरिपरि कुनै विद्यार्थी त छैनन्? विद्यार्थी भए अलि पर आएर कुरा गर्नुस् न!’ भन्छन्।
क्याम्पस सहायक प्रमुख महत राजनीति भागबन्डाले विद्यार्थी सङ्गठनहरूमा असर गरेको र त्यसले क्याम्पसको पठनपाठनमा प्रत्यक्ष समस्या भइरहेको बताए।
क्याम्पसका प्राध्यापकहरूका अनुसार हरेक दिन कुनै न कुनै विद्यार्थीले वार्ता गर्नुपर्यो भनेर क्याम्पस प्रमुखलाई बोलाइ रहन्छन्।
अस्कलका क्याम्पस प्रमुख लोक बराल माओवादी निकटका रूपमा परिचित रहेछन्। विद्यार्थीबाट कुटिएका उपप्राध्यापक पाण्डेको परिचय पनि माओवादी निकटै।
यसरी सुरु भयो विवाद
अनेरास्ववियु केन्द्रीय सदस्य कमलराज जोशी र क्याम्पस अध्यक्ष रुद्रहरि पोखरेलले क्याम्पसको छाप र लेटर प्याड दुरुपयोग गरेको भन्दै क्याम्पसले प्रहरीमा जाहेरी दिएपछि यो समस्या सुरु भयो अस्कलमा।
प्रवेश परीक्षाका आधारमा पहिलो र दोस्रो मेरिट लिस्ट त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले तयार गरेको थियो । विद्यार्थी अपुग भए पछि तेस्रो लिस्ट क्याम्पसले नै तयार गरेर विद्यार्थी छनोटसहित भर्ना गराउने व्यवस्था गरिएको छ ।
बीएस्सी सीएसआईटीको प्रवेश परीक्षामा अस्कल क्याम्पसमा १ सय ४४ जनाको कोटा थियो । तर, अनेरास्ववियु विद्यार्थीले विद्यार्थीसँग भर्ना गराइदिन्छु भन्दै शुल्क असुल्दै क्याम्पसको छाप दुरुपयोग गरेको प्रशासनको आरोप छ।
क्याम्पस प्रमुख बरालले ती दुई विद्यार्थी विरुद्ध सरकारी छाप दुरुपयोगमा जाहेरी दिए। अनि सुरु भयो राजनीति। अनेरास्ववियुमा आबद्ध ती विद्यार्थीको मुद्दा फिर्ता लिन सङ्गठनले दबाब दिन थाल्यो। क्याम्पसले जाहेरी फिर्ता लिन मानेन।
जति आग्रह गरे पनि मुद्दा फिर्ता हुने सङ्केत नआएपछि उनीहरूले प्रशासनमा तालाबन्दी गरे नै उपप्राध्यापक पाण्डे समेत कुटिए।
उपप्राध्यापक पाण्डेले पनि कुटपिटमा संलग्नविरुद्ध जाहेरी दिएका छन्। तर उनी पक्राउ परेका छैनन्।
छाप दुरुपयोगको आरोप लागेकालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरिसकेको छ। उनीहरू पनि पक्राउ परेका छैनन्। यसले समेत प्राध्यापकहरूमा त्रास देखियो।
विद्यार्थी सङ्गठनहरू आफ्नो माग पुरा नभएसम्म तालाबन्दी गर्ने अडानमै छन्। तर आपराधिक गतिविधिमा संलग्न विरुद्धको जाहेरी फिर्ता बाहेक अन्य माग पुरा भएको देखियो।
सहायक क्याम्पस महतका अनुसार उनीहरूले राखेका मागमध्ये क्याम्पस पारीको जग्गा क्याम्पसको नाममा गर्ने पनि थियो। त्यो गुठीको जग्गामा हो। त्यो पुरा गर्न क्याम्पसले मात्र सक्दैन।
छात्रावासको शौचालय बनाउने माग पनि थियो। त्यो पुरा भइसक्यो। अन्य पुरा हुने प्रक्रियामै छ।
उनी भन्छन्, 'क्याम्पसले सक्ने जति माग पुरा हुँदै गएका छन्। तर यसरी क्याम्पस आउनै डर लाग्ने वातावरण सिर्जना गरेर के हुन्छ ? राजनीतिले क्याम्पस त ध्वस्त नै बनाउने भयो।'
क्याम्पसका ४ विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेविसंघ, राप्रविसंघ र अखिल क्रान्तिकारी क्याम्पसको अनेरास्वियुको सह–सचिव पङ्कज पाण्डेयले खेलकुद विभाग प्रमुखमाथि गरेको कुटपिटको विपक्षमा छन्। उनीहरूले विज्ञप्तिमार्फत ’गुन्डागर्दी शैलीको आक्रमणले क्याम्पसको शैक्षिक वातावरणलाई खलल पुर्याएको’ बताएका छन्।
उक्त घटनालाई लिएर त्रिवि प्राध्यापक सङ्घ एकाइ र त्रिवि कर्मचारी सङ्घ क्याम्पस एकाइले पनि ’विद्यार्थीले शिक्षकलाई कुटी अश्लील शब्दले गाली गर्नु अप्रिय घटना’ भएको भन्दै क्याम्पसको अवस्था झन् गम्भीर भएको बताएको छ।
एमाले निकट अनेरास्वियुका नेताहरू भने यसबारे केही बोल्ने मुडमा देखिएनन्।
२०७९ जेठ २७ गते १८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।