ब्लाइन्ड डेट-२ : राष्ट्रिय टेलिभिजनमा 'सी ग्रेड'को रियालिटी शो

ब्लाइन्ड डेट-२ : राष्ट्रिय टेलिभिजनमा 'सी ग्रेड'को रियालिटी शो

युट्युबमार्फत सुरु भएको रियालिटी शो 'ब्लाइन्ड डेट' चर्चामा आएसँगै उसले राष्ट्रिय टेलिभिजनमा स्थान पायो दोस्रो सिजनका लागि। जुन फर्म्याटमा कार्यक्रम बनेको थियो त्यो नौलो हैन। धेरै देशका टेलिभिजनहरूमा विभिन्न शैलीमा पार्टनर खोज्ने कार्यक्रमहरू प्रशारण भइरहेका छन्।

नाटकीयता अनि ग्यामर यस्ता कार्यक्रमका मुख्य कन्टेन्ट हुन्। कन्ट्रोभर्सी त छुट्ने नै भएन। तै पनि एक हदसम्म यस्ता कार्यक्रममा पनि पात्र चयन र फ्रेमका सीमा तोकिएका हुन्छन् नै।

अब कसका श्रीमती कोसँग पोइला गइन् भन्ने वाहियात कन्टेन्ट हिट भइरहेको बेला युट्युबमा ब्लाइन्ड डेट प्रशारण हुँदा हिट हुनु स्वाभाविकै थियो। दर्शकहरूलाई झुक्याएर पात्र निर्माण गरिए पनि केही पात्रका एटिच्युडका कारण शो चल्यो पनि।

निर्माता रोशन दाहालले आफ्नै साथीभाइहरू जम्मा पारेर लो-बजेटमा सुरु गरेर आफ्नै च्यानलमा अपलोड गरेका थिए कार्यक्रम। शोका पात्रहरूसँगै युट्युबबाटै रोष्टरको पहिचान बनाएकाहरूले पनि यसलाई हिट हुन सघाए।

पहिलो डेटमा भर्जिनिटी चेक गर्ने भनेर थाइल्यान्ड लैजाने, मलाई छोएको मन पर्दैन भन्दै भद्रीले बाथटबमा देवेन्द्रलाई नुहाइदिने मात्रै होइन टावल बेरेका देवेन्द्रसँग भद्रीले टावल माग्दा 'शिवजी देखिन्छ' भन्नेजस्तो वाहियात संवादले हिमालय टेलिभिजन जस्तो टेलिभिजनबाट प्रशारित कार्यक्रमको स्तर भने सी ग्रेडको देखियो।

पिवाइ अमृत, सजन श्रेष्ठ, बिटी कान्छा लगायतले ब्लाइन्ड डेटमाथि भिडियो बनाएर राम्रै भ्युज पनि कमाए भनेपछि कार्यक्रम निर्माताले पनि कमाए नै। त्यसैले दोस्रो सिजनका सेटदेखि गेटअपसम्म कामचलाउ छैन। थाइल्यान्डसम्म पुगेर छायांकन गरेका छन्।

तर पात्र चयन र उनीहरूको नक्कली चरित्र चित्रणले भने कार्यक्रमलाई सी ग्रेडको रियालिटी शोको श्रेणीमा पुर्याएको देखियो दोस्रो एपिसोडमै।

दोस्रो सिजनका पात्रमा पहिलो सिजनका हिट क्यारेक्टरको छवि हावी भएको देखियो। पहिलो सिजनमा सिलु दिदीको नामले परिचित र्यापर सिलु पोखरेल र गोल्डीको नामले परिचित किरण खाती क्वीन र किङ भएर अष्ट्रेलिया सिफ्ट भइसके। नर्मदा ब्लाइन्ड डेटले बनाइदिएको छवि मेटाउन गायनतिर सक्रिय छिन्।

निर्माता रोशनका मित्र देवेन्द्र दोस्रो सिजनमा पनि दोहोरिएका छन् फेक छवि व्यापारीको रूपमा। जबकी उनको हैसियत के हो भन्ने पहिलो सिजनमै छरपष्ट भइसकेको छ।

पहिलो सिजनमा सिलुको बोल्ड छवि अनी बोल्ने शैली चर्चित भएको थियो। व्यापारी बनेका गोल्डीको क्यारेक्टर त्यति जमेन। उनको नक्कली छवि प्रारम्भबाटै देखियो। सिलु र गोल्डी पहिल्यै विवाहित भए पनि उनीहरूले शोकै लागि पुनः विवाहको अभिनय गरे। 

अहिले दुवै अष्ट्रेलिया पुगेका छन्। सिलु दिनरात टिकटकमा 'ट्यापट्याप गाइज' भन्दै सक्रिय देखिन्छिन्।

देवेन्द्रलाई 'केही नभएको तर धेरै भएको देखाउनुपर्ने' व्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो। जसले हाम्रो वरपर भेटिने आम मानिसको प्रतिनिधित्व गरेको थियो। 

कार्यक्रमका सञ्चालक, निर्देशक तथा निर्माता रोशन दाहालको गेटअप दर्शकले मन पराएका थिए। साथमा राम र नर्वदाको जोडीले पनि दर्शकको मन जितेको थियो।

दोस्रो सिजनका क्यारेक्टर चयनमै समस्या देखियो दुई एपिसोडमै। कन्टेन्ट त तत्लोस्तरका छन् नै। क्यारेक्टरको हाउभाउ र बोली पनि उस्तै नाटकीय। 

दोस्रो सिजनको पहिलो एपिसोडमै देवेन्द्र र भद्रीको डेट देखाइएको छ। देवेन्द्र बिजनेस म्यान बनेर आएका छन्। भद्री चाहिँ हलिउडबाट आएको मेकअप आर्टिस्ट रे! तर उनको लवजको शैलीले नै उनको क्यारेक्टरलाई फिक्का बनाउने पक्का छ।

देवेन्द्र आफूलाई भर्जिन (कुमार) बताउँछ। भद्रीले नपत्याएर देवेन्द्रलाई परीक्षणका लागि थाइल्याण्ड पुर्याउँछिन्। त्यहाँको समुन्द्रमा बिकिनीमा पोज दिन्छिन्। 

निर्माताले विश्वासिलो चरित्र चित्रण गराएर दर्शकलाई डेटको फिल गराउने भन्दा इरोटिक सर्ट मुभी बनाउन बढी केन्द्रित भएको देखिन्छ।

उनमा सिलुको ह्याङ बढि नै देखिन्छ। पहिलो एपिसोडमा सिलुको क्यारेक्टर प्राकृतिक देखिएको थियो। दोस्रोमा भद्दा र नाटकीय। 'तो देवेन्द्र छ नि' भन्ने अनि 'पताया'लाई 'पठाया' भन्ने उनको लवजले दर्शकले उनी हलिउडबाट आएको मेकअप आर्टिस्ट भनेर पत्याउलान् र! अझ देवेन्द्रले त थाइल्यान्डको पतायालाई पथलैया भनेर उच्चारण गरेका छन्।

ग्लामर बनाउने लोभमा भद्दा दृश्य हावी भएका छन्। समुन्द्री तटमा विनाप्रशंग भद्रीलाई गरेको मसाजसँगै नरिवलको जुस ल्याउँदा' खुवाउन त अर्कै जुस खुवाउन मन थियो नि के गर्नु!' भन्ने द्विअर्थी संवादको अर्थ के हो?

यो शोको फर्म्याट जीवनसाथी बन्न सकिन्छ या सकिन्न भनेर आनीबानी, स्वभाव, रुचि बुझ्न केही समय सँगै रहने हो नि। पहिलो डेटमा भर्जिनिटी चेक गर्ने भनेर थाइल्यान्ड लैजाने, मलाई छोएको मन पर्दैन भन्दै भद्रीले बाथटबमा देवेन्द्रलाई नुहाइदिने मात्रै होइन टावल बेरेका देवेन्द्रसँग भद्रीले टावल माग्दा 'शिवजी देखिन्छ' भन्नेजस्तो वाहियात संवादले हिमालय टेलिभिजन जस्तो टेलिभिजनबाट प्रशारित कार्यक्रमको स्तर भने सी ग्रेडको देखियो।

उमेर समूह छ्ट्याएर भिडियो अपलोड गर्न सकिने युट्यबमै पच्न गार्हो यस्ता दृष्य र संवाद हिमालय जस्तो प्लेटफर्म सुहाउँदो देखिएन।

दोस्रो एपिसोडमा सरिन देवकोटा र रजिना खतिवडाको डेट हुन्छ। द्विअर्थी शब्दमा मात्रै उनीहरूको गफ हुन्छ। सरिन आफूलाई मुलाजस्ती केटी चाहिएको तर भान्टाजस्ती भेटिएको भन्छन्। 

पहिलो डेटमा कुरा नमिलेपछि आयोजकले दोस्रो डेटका लागि अवसर दिन्छन्। रजिनाले सरिनलाई कुकुर जसरी भुक्न लगाउँछिन्, निकै बेइज्जत गर्छिन्। 

देखावटी र वडीसेमिङ
पहिलेको सिजनमा संसारकै सफल विजनेसम्यान देवेन्द्र, सुनै सुन भएको गोल्डी किरण खाती, पचास हजारको बडीलोसन लगाउने शिलु पोखरेल जस्तो फेक क्यारेक्टर भए पनि कार्यक्रम ठीकै देखिएको थियो। 

उनीहरूको काम आफूलाई जसरी हुन्छ धनी देखाउने, सम्पत्ति नहुनेको कामै छैन भन्नेखालका अभिव्यक्ति दिने थियो।  केटीहरूको शरीरलाई लिएर भद्दा टिप्पणी गर्ने, सुन्दरता र शारीरिक बनावटको मापदण्ड तोक्ने लगायतका काम भएका थिए पहिलो एपिसोडमा। 

एकै कोठामा कपल राखे पनि उनीहरूका दृश्य स्किप गरिहाल्नुपर्ने खालको थिएन। नोकझोँक नेचुरलै देखिएका थिए। सिलु र देवेन्द्रको जोडी होस् या पछि सिलु र गोल्डीको जोडी होस् जमेकै थिए।

तर, अहिलेको सिजनमा पात्रको चरित्र चित्रणै अपत्यारिलो देखिन्छ। निर्माताले विश्वासिलो चरित्र चित्रण गराएर दर्शकलाई डेटको फिल गराउने भन्दा इरोटिक सर्ट मुभी बनाउन बढी केन्द्रित भएको देखिन्छ।

भद्दा डायलग अनि बडिसेमिङ गराउने शब्दहरूले नै प्राथमिकता पाएको छ। 

कस्ता दर्शक हुन् टार्गेट?
राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आएको कार्यक्रम कसले हेर्न मिल्ने, कसले नमिल्ने केही तोकिएको छैन। डिस्क्लेमर दिइएको छ, तर त्यसमा दर्शक नै जिम्मेवार बन्नुपर्ने छ।

अंग्रेजी भाषामा लेखिएको छ, 'यो विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम हो। यहाँ प्रस्तुत गरिएका सूचना र विचार कलाकार/सहभागीको व्यक्तिगत दृष्टिकोण हो। च्यानलको दृष्टिकोण होइन। यहाँ प्रस्तुत गरिएका संवादहरू केही दर्शकका लागि बनिबनाउ र अपाच्य पनि हुनसक्छन्। दर्शकलाई विवेक प्रयोग गर्न कडाइका साथ सल्लाह दिइन्छ। यहाँ प्रयोग गरिएका वार, योजना र कन्टेन्टहरू मनोरञ्जन र क्रियटिभिटी उद्देश्यका लागि मात्रै हो।'

समाज पुनर्निर्माण भएपछि मात्रै विकृत मानसिकता भएका युवाको सोच स्वस्थ बनाउन सकिने उनको भनाइ छ। उनीहरूको सोचाइ स्वस्थ भएपछि ब्लाइन्ड डेट जस्ता कार्यक्रमहरू अस्तित्वमा नरहने उनले बताइन्।

कार्यक्रममा दर्शकलाई विवेक प्रयोग गर्न आग्रह गरिएको छ। तर विवेक प्रयोग गर्न नसक्ने उमेरका बालबालिकाले के गर्ने? कति उमेर समूहले हेर्न मिल्ने, कतिले हेर्न नमिल्ने? 

साना उमेर समूहका मानिसलाई हेर्न नदिन कार्यक्रम प्रसारण गरिरहेको टेलिभिजन कत्तिको उत्तरदायी छ? कार्यक्रम निर्माण समूहले यो विषयमा किन चासो देखाएन भन्ने विषयमा उकेराकर्मीले कुराकानी गर्न खोज्दा सम्बन्धित व्यक्ति सम्पर्कमा आएनन्।

युवापुस्ताको सोचाइ र यसको मनोविज्ञान
ब्लाइन्ड डेटमा सहभागीको सोच, विचार र त्यसलाई मन पराउने जमातले नेपाली युवाको प्रतिनिधित्व गर्छ। यस्ता कार्यक्रममा युवापुस्ताको आकर्षण देखिनु दुःखद् भएको बताउँछिन्, समाजशास्त्री डा. मीना पौडेल। 

उनले भनिन्, 'हाम्रो देशको राजनीतिक स्थिति डामाडोल बन्यो। राजनीति बिग्रने बित्तिकै त्यसले समाजमा प्रत्यक्ष प्रभाव पार्छ। समाजले परिवार र परिवारमा युवा।' 

अहिलेको अवस्थामा युवा अझ विशेषगरी किशोर किशोरीहरू निकै विकृत मनस्थितिमा पुगेको उनको भनाई छ।

'पहिले-पहिले किताब पढ्थे', मीनाले भनिन्, 'नेपालका युवावर्गले किताब पढ्न छाडेको त जुग बित्यो। अध्ययन गर्ने समय सामाजिक सञ्जालमा बिताउन थालेपछि उनीहरू अस्थिर हुनथाले। नयाँ कुरा गरेर समय बिताउने वातावरण उनीहरूले सिर्जना गर्नुपर्ने भयो। जसले गर्दा युवाहरू काम न काजका सस्तो मनोरञ्जनमा अल्झिन पुगे।'

सरकारले सञ्चारमाध्यम सञ्चालनमा कडाइ नगरेका कारण च्याउ जसरी टेलिभिजन खुल्नु पनि एउटा कारण भएको उनको धारणा छ। बग्रेल्ती खुलेका टेलिभिजनले देखाउने कन्टेन्ट बनाउन हम्मे हम्मे परेपछि कन्टेन्ट चाखलाग्दो बनाउने च्यालेञ्जसँगै यस्ता सस्ता कार्यक्रममा ध्यान दिइएको उनको तर्क छ।

मीनाले भनिन्, 'अनि त्यही अन्य माध्यमको सस्तो मनारञ्जन उठायो अनि २४ सै घण्टा प्रसारण गरिरह्यो।'

देशको राजनीति स्थिर नभएसम्म समाज निर्माण हुँदैन। समाज पुनर्निर्माण भएपछि मात्रै विकृत मानसिकता भएका युवाको सोच स्वस्थ बनाउन सकिने उनको भनाइ छ। 

उनीहरूको सोचाइ स्वस्थ भएपछि ब्लाइन्ड डेट जस्ता कार्यक्रमहरू अस्तित्वमा नरहने उनले बताइन्। तर, यो सहज काम भने नभएको उनको स्वीकारोक्ति छ।

२७ जेठ, २०७९, १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।