थ्रेसहोल्डको के कुरा, राप्रापा राष्ट्रिय शक्ति बन्छ : धवलशमशेर राणा [अन्तर्वार्ता]

थ्रेसहोल्डको के कुरा, राप्रापा राष्ट्रिय शक्ति बन्छ : धवलशमशेर राणा [अन्तर्वार्ता]

२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले एक उपमहानगरसहित चार जिल्लाका ६ पालिका जितेको थियो। २०७९ मा पनि चार पालिकामा प्रमुख जितेको छ। अघिल्लो स्थानीय निर्वाचनमा १२ वडामा वडाध्यक्ष जितेकोमा यस पटक राप्रपाले ६० भन्दा धेरै वडामा जित हात पारेको छ।

राप्रपाले यस पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा प्रमुख जित्दै एमालेलाई झस्काइदियो। राप्रपाले तीन लाखभन्दा बढी मत ल्याएको र त्यो मत संघीय चुनावमा अझै बढ्ने पार्टीका महामन्त्री धवलशमशेर राणा बताउँछन्।

राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट अनिवार्य जित्नुपर्नेछ। संघीय चुनावमा राप्रपा राष्ट्रिय दल बन्नेमात्र नभएर राष्ट्रिय शक्ति बन्ने बताउँछन् धवल।

राप्रपाले राजनीतिक र जनजीविकाका सवालमा १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवा र ७७ वटै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूलाई पनि ज्ञापनपत्र बुझाउँदै आन्दोलन सुरु गर्ने तयारी गरेको छ। चरणबद्ध आन्दोलनमा हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापनाजस्ता राजनीतिक मुद्दामा केन्द्रित हुनेछ।

स्थानीय निर्वाचन तथा आगामी संघीय निर्वाचनमा रहेर राप्रपाका महामन्त्री धवलशमशेर राणासँग उकेराकर्मी दिपेन्द्र अधिकारीले गरेको कुराकानीको सम्पादित अंश : 

२०७४ सालको निर्वाचनमा पार्टीले चार जिल्लामा ६ स्थानीय तह जितेको थियो अहिले चार जिल्लामा चार स्थानीय तह जितेको छ। सिटको हिसाबले पार्टी त सानो देखियो तर समग्रमा चुनाव कस्तो रह्यो? 

पार्टी धेरै ठूलो भयो। तीन गुणा ठूलो भयो। यस हिसबले राम्रो भयो। 

कसरी?
पहिला एक जना मेयर थिए। अहिले तीन जना छन्। वडा तहसम्म गरी तीन सयभन्दा बढी ठाउँमा जितेका छौं, भोट पनि बढेको छ। जिल्लाभन्दा पनि पहिले म मात्र मेयर थिएँ। वडा र पालिकास्तरमा राम्रो भएको छ। धेरै स्थानमा चुनाव लड्यौं हामी। सञ्जाल तलसम्म गएको छ।

समग्रमा कसरी हेर्नुभएको छ स्थानीय निर्वाचन? 
हामीले बुझेका थियौं, स्थानीय तह निर्वाचनको लागि पार्टी तयार थिएन। जनताले पार्टीलाई पछ्याउँदै थिए। हामी संगठन बनउँदै थियौं, झ्याप्पै निर्वाचन आयो। राष्ट्रिय निर्वाचनका मुद्दाहरु फरक हुन्छन्। स्थानीय निकायका मुद्दाहरु फरक हुन्छन्। त्यहाँ संगठन र व्यक्तिको धेरै महत्व हुन्छ। सबै काम गर्न हामीले भ्याएका थिएनौं। हाम्रो लक्ष्य भनेको राष्ट्रिय निर्वाचन नै हो जसको लागि हामी सुरुबाटै लागेका छौं। राम्रो सम्भावना पार्टीले बोकेको छ। 

अरु दलहरु रणनीति बनाउँदै गर्दा तपाईंहरु तयारीमा हुनुहुन्छ। तयारीमा अगाडि भए पनि नतिजा दिनेमा शंका छ नि? 
असार १ गतेबाट देशव्यापी आन्दोलनको रापतापमा जनताको सहभागिता र बदलमा संगठन पनि निर्माण गर्ने, उम्मेदवार चयन गर्ने र चुनावमा पनि जाने हो। हाम्रो आन्दोलन वारपारकै आन्दोलन हो। यसको नालेबेली बन्दै छ। 

आन्दोलन पनि चुनावको मुख्य हतियार हो तपाईंहरुको? 
नेपाली जनतालाई जगाउने, हिन्दुत्वको भावना जगाउने, अनियमितता र राष्ट्र असफल भएको बुझाउने, यो सबैको उपचार भनेको राप्रपाले निर्वाचनबाटै परिवर्तन ल्याउने योजना अन्तर्गत हो। 

पार्टी विभाजन भयो नेतृत्वको लामो लिगेसी पार्टी बाहिर छ...! 
त्यो च्याप्टर सकियो। उहाँले (कमल थापा) हामीलाई डिस्ट्रब गर्नु भए पनि अब पूर्वअध्यक्षले पार्टी फोड्दिसकेपछि खलबलिन्छ। तर यो स्थानीय निर्वाचनपछि उहाँको परिस्थिति उहाँको तान र जनताको रुझान सबै देखियो। अब कमल थापाजीले डिस्टर्ब गर्ने, अप्ठेरो पार्ने स्थिति  रहेन। जनताले टोटल्ली रिजेक्ट गरेको प्रष्टै भएको छ। 

अब नपर्ने भए पनि स्थानीय चुनावमा फुटको असर कत्तिको पर्यो? 
प्रत्यक्ष देखिएन। निर्वाचनमा २/४ भोट, १०/२० भोटले जितहार हुन्छ। त्यसो बेला मान्छेको मनस्थिति पनि बिग्रन्छ। थोरै कारणले पनि निर्वाचन परिणाम उल्टिने भएकाले त्यसको असर परिहाल्छ नि। केही जिल्लाहरुमा त्यस्तो देखियो। 

तपाईंहरुले झापामा एमाले हराउन कांग्रेससँग तालमेल गर्नुभयो। चितवन आएर कांग्रेस हराउन एमालेसँग तालमेल गर्नुभयो नि? 
हामीले देशव्यापी रुपमा केन्द्रीय तहमा गठबन्धन गरेनौं तर जिल्ला तहमा कुनै पार्टीले सहयोग दिने वा लिने भन्न आएमा जिल्लालाई हामीले अधिकार दिएका थियौं, त्यही अधिकारमा काम भएका हुन्।

निर्वाचनमा सफल भयौं भन्नुभयो। यो भन्दा बढी स्थानमा जित निकाल्नुपर्ने होइन र सफल हुनलाई? 
अघि नै निवेदन गरें, हामी स्थानीय निर्वाचनको लागि तयारै थिएनौं। हाम्रो पार्टी बन्दै थियो, अहिले पनि बन्दै छ। उतातिर पाँच दलीय गठबन्धन, यतातिर एमाले छ। हामी भर्खरै अधिवेशनबाट आएले असर गर्यो। 

एमाले, कांग्रेस, माओवादी लगायतका अरु पार्टीले पनि त महाधिवेशन गरेरै आएका थिए? 
अरुको महाधिवशेन र हाम्रो महाधिवेशन फरक थियो। महाधिवेशन भए पनि हाम्रो एकता महाधिवेशन थियो। तीन दल वा गुट जे भने पनि एक हुनु थियो। अघि भनेजस्तै केही साथीहरु पार्टीबाट बाहिरिनु भयो। हाम्रो केस फरक हो भन्ने लाग्छ। 

राजतन्त्रको वकालत गर्दै आएको, कुनै समय संसदको चौथो शक्तिको रुपमा रहेको दल आज फेरि अजेण्डा जनतालाई बुझाउने भन्ने पुरानै कुरामा अल्झिरहेको छ नि? 
यसबीचमा पार्टी ८/९ पटक फुट्ने र जुट्ने काम भयो। नेतृत्वमा एकता भएन। त्यसले हामीलाई अहिलेसम्म असर पार्यो। बल्ल नयाँ नेतृत्व, नयाँ जोश-जाँगर सहितको नेतृत्वमा पार्टी हातमा आएको छ। जनताले पनि रुचाएको जस्तो देखिन्छ। अब बल्ल पार्टी अगाडि बढ्ने र जनताले रुचाउने देखिन्छ। 

निर्वाचनअघिको दृश्य हेर्दा चुनावी सभा वा आमसभामा ठूला दलहरुकोझैं भीड हुने गरी कार्यकर्ता उतार्नुभएको थियो। त्यो अनुसार ब्यालेटमा भोट त खसेन नि?
त्यो मास राष्ट्रिय निर्वाचनमा काम लाग्छ क्या। तल-तल वडा-वडामा जाँदा एउटा वडामा हजार मत हुन्छ। दस जना लडेका हुन्छन्। मासले त असर गर्दैन तर पार्टी ठूलो भयो। अहिले पन तीन गुणा ठूलो भएकै छ। सबै ठाउँमा जरो गाडेको छ। 

पार्टी प्रवक्ता चार जना, संगठनमा पदाधिकारी थपिएको छ। पद बाँड्नैका लागि सिर्जना गरिएको जस्तो भएन र? 
राजनीतिक व्यवस्थापन गर्न प्रयोगात्मक स्थितिहरु छ। त्यस्तो अवस्थामा गर्नैपर्ने छ। व्यवस्थापन गर्दा त्यो भएको हो। 

जम्बो पदाधिकारी भएको पार्टीमा कार्यकर्ता कति छन् त? 
सबै जिल्लामा सदस्य भएका छन्। अन्तिम पटकको तथ्याकंमा ५० हजार सक्रिय कार्यकर्ता थिए। त्यसपछिको आउन बाँकी छ। सबैको कार्ड वितरण भैरहेको छ, थाहा पाइन्छ। 

संसदीय निर्वाचनमा कति सिट जित्ने आकलन छ? 
म अहिले भन्न सक्दिनँ। अहिले भन्दा अप्ठेरो हुनसक्छ। हाम्रो आन्दोलन कसरी उठ्छ। जनताले कुन रुपमा लिन्छन्। त्यसमा निर्भर रहन्छ।

यस्ता आन्दोलन त राप्रपाले पहिले पनि गर्दै आएको हो। मेची-महाकाली रथयात्रा होस् वा धार्मिक रथयात्रा। यसको परिणाम के आउँछ?
राप्रपा नेपालले मेची-महाकाली रथयात्र गर्दा २७ सिट ल्याएकै थियो। 

त्यही आन्दोलनको लिगेसी लिन खोज्नुभएको हो कि यो आन्दोलन फरक तरिकाले जान्छ? 
लिगेसी त राप्रपा त राप्रपा नै हो। तर यो पटक हामी फरक तरिकाले अघि बढ्छौं। देशमा धेरै प्रकारको विकृतिहरु छन्। धेरै प्रकारका जनगुनासो छ। हिन्दुराष्ट्रका आवाज पनि परिपक्व बन्दैछ। यसै कारणले हामी फरक रुपले जान्छौं। 

संगठन भएन, मदन दाइको उमेर पनि ढल्केको देखियो। वर्तमान प्रविधिको समयमा उहाँ पछि पर्नुभएको हो। जेनेरेसन ग्याप भएको हामीलाई महसुस भयो।

संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र अजेण्डा बोकेर पार्टी हिँडिरहेको छ। अझ पनि राजाको पक्षमा भोट माग्दा जनताले पत्याउलान् र? 
देखिइरहेको छ त। नेपाली जनता राजतन्त्रप्रति सरकरात्मक हुँदैछन्। त्यो त देखिएको छ नि। आजभन्दा दुई साल पहिले के थियो, आज के छ। अब गर्दा-गर्दा राजालाई पार्टीहरुले पनि प्रोटोकलमा राख्ने भए। विस्तारै रुझान त बढ्दै छ। 

राजाको अप्रत्यक्ष सहयोग तपाईंहरुलाई छ रे। कमल थापा त्यही भएर बाहिरिनुभयो? 
त्यस्तो होइन। स्थानपनाकालदेखि नै हाम्रो अजेण्डा यही नै हो। स्थापना नै राजाले गर्दिएका त होइनन्। पार्टी छाड्ने, प्रवेश गर्ने कुरा त स्वभाविक रुपमा चलिरहन्छ। 

संविधानले दुई तिहाइबाट संसदले अनुमोदन गरे त राजतन्त्र मात्र होइन, जुनसुकै व्यवस्था ल्याउन सकिन्छ भन्छ। दुई तिहाइबाट राजतन्त्र संवैधानिक रुपमा फर्काउन सकिने अवस्था त छैन? 
दुई वटा उपाय छ। दुई तिहाइ बहुमत ल्याउनुपर्यो, कि जनमत संग्रह गर्नुपर्यो। 

जनमत संग्रह गर्नुपर्ने तपाईँहरुको माग त सुनुवाइ नै भएन नि? 
जनमत संग्रह गर्ने तागत हुनुपर्यो हामीसँग। जनताले हामीलाई दुई तिहाइको बहुमत वा जनमत संग्रहको तागत दिनुपर्यो। हामी गोल हान्दै, मान्छे मार्दै त हिँड्दैनौं। आतंक मच्चाएर जनमत संग्रह त गराउँदैनौं। जनताकै अभिमतबाटै परिवर्तन ल्याउने पार्टी हो यो। 

तपाईंले गत निर्वाचनमा जित्नुभएको नेपालगञ्ज अहिले हार्नुभयो। काठमाडौंको शंखरापुरमा जित्यो। पहिले जितेको ठाउँ गुमाउने अनि नयाँ ठाउँमा जित्ने भइरहँदा तल्ला तहमा कसरी विस्तार भयो? 
भएको छ नि। अब त सबै जिल्लामा राप्रपा छ नि। 

समानुपातिकमा कति सिट जित्ने आकलन छ? 
व्यापक रुपले सिट आउँछ। त्यस्तो आभास हामीलाई भइरहेको छ। ठ्याक्कै यति नै त भन्न सकिँदैन। 

प्रत्यक्षबाट फाइदा हुन्छ कि समानुपातिकबाट, राप्रपालाई त पहिला समानुपातिकबाट फाइदा भएको हो! 
प्रत्यक्षमा पनि प्रयास गरिरहेका छौं, समानुपातिकबाट पनि प्रयास गरिरहेका छौं। आह्वान पनि गरेका छौं। राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुलाई, टेक्नोक्र्याट्सहरुलाई, युवाहरुलाई इच्छा भए आउनुस्, लड्नुस् भनिरहेका छौं। पार्टीभित्र पनि छनोट गरिराखेका छौं। हामी अर्जुन दृष्टिले राष्ट्रिय निर्वाचनमा लागेका छौं। अब छिट्टै नै आफ्नो क्षेत्रमा निर्वाचनको तयारीमा लाग्नुस् भन्दैछौं।

सेलिब्रिटी फेस आउँदैमा जनताको मत ब्यालेटसम्म खस्छ भन्ने ग्यारेन्टी हुन्छ र?
सेलिब्रिटी पनि, केही गर्छु भन्ने युवाहरु पनि हुनुहुन्छ। पार्टीभित्र पनि छन्। परम्परा नै छ चलिआएकै छ। देखिरहेकै छौं। 

सेलिब्रिटी भन्दैमा मदनदास श्रेष्ठको मत आएन काठमाडौं महानगरको प्रमुखमा! 
संगठन भएन, मदन दाइको उमेर पनि ढल्केको देखियो। वर्तमान प्रविधिको समयमा उहाँ पछि पर्नुभएको हो। जेनेरेसन ग्याप भएको हामीलाई महसुस भयो। 

थ्रेसहोल्डको त के कुरा, राप्रापा राष्ट्रिय शक्ति बन्छ। राष्ट्रिय पार्टी मात्र होइन, हामी ठूलो पार्टीको रुपमा १ नम्बर, २ नम्बर ३ नम्बरमै आउँछौं जस्तो हामीलाई आभास भइरहेको छ।

प्रविधिलाई अपनाउने योजना छ? 
हाम्रो आइटी डिपार्टले त्यसको तयारी गरिरहेको छ।

घोषणापत्रको तयारी? 
अहिले नै घोषणापत्रको तयारी छैन। आन्दोलनको तयारी भइरहेको छ। आन्दोलनका अजेण्डा र घोषणापत्रको अजेण्डा फरक हुन्छन्। 

राजेन्द्र लिङ्देनलाई समर्थन गर्नु युवालाई अघि बढाउने काम हो भन्नुभएको थियो। पार्टीमा युवाको आकर्षण कत्तिको छ? 
राम्रो छ, युवाहरु आएकै छन्। प्रवेश गरेका छन्। उनीहरुलाई व्यवस्थापन गर्ने काम भइरहेको छ। 

सबै राजनीतिक दलमा पार्टी प्रवेश भए पनि ब्यालेटमा मत त देखिएन नि? 
नयाँ मान्छेमा कसले भोट हाल्यो, कसले हालेन त्यो त थाहा हुँदैन। तर हाम्रो भोट तीन गुणा बढेकै छ। पार्टी विस्तार भएको छ। 

अजेण्डा भयो, विचार भयो त्यसलाई कार्यान्वयन गर्ने आन्दोलनमा जाने भन्नुभयो। अब तपाईंहरुलाई थ्रेट कोबाट छ? 
कसैबाट छैन। नेपाली जनताले विश्वास गर्नुपर्यो। पत्याउनुर्यो। हामीले योसित थ्रेट, त्यो सित थ्रेट भन्दा पनि नेपाली जनता माझमा हाम्रो कुरा लिएर जाने हो। सबैसँग प्रतिस्पर्धा छ। 

त्यसमा जनताले राप्रपालाई विश्वास गर्ने आधार के? 
अहिले भएका यी पार्टीहरु पूर्ण रुपमा असफल भए। देश नै असफल हुने स्थितिमा छ। गणतन्त्रको सिस्टम पनि असफल भएको छ। संघीयता खारेजीको माग तीव्र रुपमा उठिरहेको छ। मान्छेहरु राजसंस्थाप्रति सकारात्मक हुँदै गएका छन्। हिन्दुराष्ट्र पुनःस्थापना हुनपर्छ भन्ने ठूलो आवाज उठिरहेको छ। यो सबै कुरालाई राप्रपाको भोट बैंकको रुपमा हामीले हेरेका छौं। भ्रष्टाचार र महँगी व्यापक रुपमा बढेको छ। अरु पार्टीहरु पटक-पटक सत्तामा पुगेका छन्। उनीहरुले जनताको माग सम्बोधन गर्न नसक्ने देखिइसक्यो। 

रवीन्द्र मिश्रसँग पार्टी एकताको कुरा के भइरहेको छ? 
बीचमा प्रयास भएको थियो, त्यो प्रयास अहिले असफल भएको छ। 

संघीय चुनावमा त्यो सम्भव छ कि छैन? 
कुरा भइरहेको छ। अहिले नै भन्न सकिँदैन। तालमेलको कुरा पनि चलिरहेको छ। अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन। 

वैकल्पिक राजनीतिलाई जनताले रुचाएको पाइँदैन। अब राप्रपालाई सानो बनाउलान् कि ठूलो? 
मैले बोल्दा त्यो सुहाउँदैन। तर ६ महिनापछि हेर्नुहोला। प्रतिनिधि सभाको चुनावपछि राप्रपा राष्ट्रिय शक्ति बन्छ। 

अहिले त राप्रपा राष्ट्रिय पार्टी छैन। स्थानीय निर्वाचनको मतले पनि त्यो देखाउँदैन। थ्रेसहोल्ड कटाउन सक्ला पार्टीले? 
थ्रेसहोल्डको त के कुरा, राप्रापा राष्ट्रिय शक्ति बन्छ। राष्ट्रिय पार्टी मात्र होइन, हामी ठूलो पार्टीको रुपमा १ नम्बर, २ नम्बर ३ नम्बरमै आउँछौं जस्तो हामीलाई आभास भइरहेको छ।

२७ जेठ, २०७९, ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।