मधेस प्रदेशमा साढे तीन करोडको हेमोडाइलाईसिस मेसिन खरिदमा सेटिङ : सस्तो प्रस्ताव गर्नेलाई हचुवामा हटाएर लभ मेडिकललाई छानियो

मधेस प्रदेशमा साढे तीन करोडको हेमोडाइलाईसिस मेसिन खरिदमा सेटिङ : सस्तो प्रस्ताव गर्नेलाई हचुवामा हटाएर लभ मेडिकललाई छानियो

काठमाडौँ : मधेस ‘प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले २५ वटा हेमोडायलाईसिस मेसिन खरिद गर्दा कम मूल्यमा ल्याउन प्रस्ताव गर्ने कम्पनीलाई टेन्डर नदिएर बढी मूल्य कबुल्ने कम्पनीको टेन्डर स्वीकृत गरेको छ।

उकेरालाई प्राप्त तथ्य अनुसार हेमोडाइलाईसिस मेसिनको टेन्डरमा ‘मेडिक्युप्स नेपाल प्राली’ले प्रस्ताव गरेको रकम भन्दा २९ लाख ८६ हजार बढी रकम प्रस्ताव गर्ने ‘लभ मेडिकल हल’को टेन्डर स्वीकृतिको लागि केन्द्रले सूचना प्रकाशित गरेको छ।

केन्द्र’ले जेठ २१ गते जारी गरेको ‘बोलपत्र स्वीकृतिको आशयको सूचना’मा ‘दर्ता हुन आएको बोलपत्रहरूको मूल्याङ्कन गर्दा बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भई मूल्याङ्कन समितिबाट स्वीकृतिको लागि सिफारिस भई  आए अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) अनुसार र सोही ऐनको दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको’ उल्लेख छ।

ऐनको दफा २७ मा बोलपत्रको स्वीकृति र खरिद सम्झौता सम्बन्धी व्यवस्था रहेको छ। दफा–२७ को उपदफा–एकमा सार्वजनिक निकायले दफा–२५ बमोजिम न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही बोलपत्र मात्र स्वीकृतिको लागि छनोट गर्नुपर्ने व्यवस्था छ।

दफा २७ को उपदफा–दुई मा भनिएको छ,‘(एक) बमोजिम बोलपत्र छनोट भएको सात दिनभित्र सार्वजनिक निकायले सम्बन्धित बोलपत्रदातालाई निजको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दिनुपर्ने छ। त्यसरी छनोट भएको बोलपत्रदाताको नाम, ठेगाना र रकमको जानकारी अन्य बोलपत्र दातालाई समेत दिनुपर्नेछ।’

‘प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले जेठ २१ गते जारी गरेको ‘बोलपत्र स्वीकृतिको आशयको सूचना’ अनुसार महोत्तरीको जलेश्वर स्थित ‘लभ मेडिकल हल’लाई  हेमोडायलाईसिस मेसिन खरिदका लागि टेन्डर स्वीकृत गरेको छ। लभ मेडिकल हलले सो मेसिनको कबोल अङ्क भ्याट बाहेक तीन करोड ६८ लाख ७५ हजार उल्लेख गरेको सूचनामा उल्लेख छ।

२५ थान हेमोडायलासिस मेसिन खरिदका लागि चैत २४ गते बोलपत्र आह्वान भएको थियो। जसमा ‘मेडिक्युप्स नेपाल प्राली’ले मूल्य अभिवृद्धि कर बाहेक तीन करोड ३८ लाख ८८ हजार आठ सय ७५ मा सम्पूर्ण प्रक्रिया पूरा गरी सामाग्री (हेमोडाइलाईसिस मेसिन)उपलब्ध गराउने गरी बोलपत्र पेस गरेको थियो। ‘लभ मेडिकल हल’ले तीन करोड ६८ लाख ७५ हजारमा मेसिन खरिद गरेर ल्याइदिने गरी बोलपत्र पेस गरेको थियो।

तर केन्द्रले कम मूल्यमा मेसिन ल्याइदिने सप्लायर्स कम्पनीलाई मेसिन खरिदका लागि छनोट गरेन। बरु जेठ २१ मा बोलपत्र खोल्दै मेडिक्युप्सले पेस गरेको बोलपत्रमा उल्लेख भएको रकमभन्दा बढी रकममा मेसिन खरिद गर्ने गरी बोलपत्र पेस गरेको ‘लभ मेडिकल हल’लाई बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गर्यो।

सार्वजनिक खरिद ऐन–२०६३ को दफा–२५ को उपदफा–५ मा भएको व्यवस्था बमोजिम न्यूनतम बोल अङ्क कबुल गर्नेलाई नै टेन्डर स्वीकृत गर्नुपर्ने हुन्छ।

ऐनको दफा–२५ को उपदफा–५ मा भनिएको छ,‘बोलपत्रको मूल्याङ्कन बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको आधार र तरिका अनुसार गर्नुपर्नेछ र त्यसरी मूल्याङ्कन गर्दा प्रत्येक बोलपत्रको मूल्याङ्कित रकम अर्को बोलपत्रको मूल्याङ्कित रकमसँग तुलना गरी न्यूनतम बोल अङ्क कबुल गर्ने बोलपत्र निर्धारण गर्नुपर्छ।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादवले भने ‘मेडिक्युप्स नेपाल प्राली’ले हेमाडाइलाईसिस मेसिन ल्याउने आधार नदेखिएकाले ‘लभ मेडिकल हल’लाई टेन्डर स्वीकृति दिइएको तर्क गरे।

निर्देशक यादवले भने,‘उहाँ (मेडिक्युप्स नेपाल प्राली)को क्राइटेरिया पुगेको छैन। उहाँ डेफिनेट्ली दिन सक्नुहुन्न। उहाँको एक्सपर्टिज छैन।’

तर, प्राविधिक रूपमा पनि छनोट भएको अनि आर्थिक रूपमा पनि कम रकममा खरिद गरिदिने कबुल गरेको सप्लायर्सलाई छनोट नगरेर किन महँगो रकम कबुल गर्नेलाई टेन्डरका लागि छनोट गर्नुभएको त? भन्ने जिज्ञासामा निर्देशक यादवले भने,‘अरू मापदण्ड (क्राइटेरिया) पनि छन्। प्राविधिक रूपमा त जो सुकैले पनि दिन्छु भन्छ। त्यो आउनु पनि पर्यो।’

मेसिन दिन सक्ने/ नसक्ने पनि केही आधार पनि हुनुपर्ने उनले तर्क गरे।

तर, मेसिन खरिदका लागि राखिएका मापदण्ड अनुसार नै मेडिक्युप्स नेपाल प्रालीले प्रस्ताव पेस गरेको रहेछ अनि आर्थिक रूपमा मात्रै किन महँगो पर्नेलाई दिनुभयो त? भन्ने जिज्ञासामा केन्द्रका निर्देशक डा. यादवले भने,‘पहिला गरेको काम अनुभव पेस गर्नु पर्यो नि। उहाँ (मेडिक्युप्स)को डकुमेन्टले बोलेन। २५ वटा डायलाईसिस दिन सक्ने हुनुपर्यो नि।’

उनले पटक पटक मापदण्ड नपुगेको भन्दै कम रकम प्रस्ताव गर्ने मेडिक्युप्सले मेसिन ल्याउनका लागि ठोस आधार पेस गर्न नसकेको तर्क गरे। तर,  मेडिक्युप्सले के आधारमा मेसिन ल्याउन नसक्ने देखिएको हो भन्ने प्रस्ट पार्न सकेनन्।

टेन्डर पारेका कम्पनीहरूले पहिले दिन सक्छु भन्ने अनि पछि दिन नसक्ने धेरै उदाहरण भएको तर्क गर्दै उनले बरु डायलायसिस मेसिन संवेदनशील भएको भन्दै भावनात्मक तर्क गरे।

त्यति मात्रै कहाँ हो र निर्देशक डा. यादवले डायलाइसिसका लागि बिरामीहरू ६ महिना, एक वर्षको लाइनमा भएको भन्दै यस्तै विवाद निम्तने भएकाले कर्मचारीले कामै गर्न नचाहने प्रवृत्ति रहेको तर्क समेत गरे।

उनले भने,‘त्यही भएर यहाँ कर्मचारी काम गर्न खोज्दैन। यस्ता बाधा व्यवधान आउँछ।’

मेडिक्युप्सका म्यानेजिङ डाइरेक्टर केशव पाण्डे बोलपत्रको सबै प्रक्रिया पुरा गरेर हालेको टेन्डरमा सामान ल्याउने क्षमता छैन भन्ने तर्क बहाना मात्र भएको बताउँछन्।

टेन्डर परेपछि तोकिएको समयमा सामान नल्याए कम्पनीलाई कानुनी रूपमा कारबाही गर्न सक्ने व्यवस्था रहेको भन्दै उनले भने' मेरो कम्पनीको क्षमता छ या छैन भन्ने केन्द्रको निर्देशकले कसरी थाहा पाउनुभएछ?'

आफ्नो कम्पनी लामो समयदेखि स्वास्थ्य सामाग्रीको आपूर्तिमा सक्रिय रहेको बताउँदै उनले भने' क्षमतामाथि शङ्का लागेको भए पत्रमार्फत जानकारी लिन सकिन्थ्यो होला। तर उहाँहरूले त कम्पनीलाई कुनै पत्र पठाउनु भएको छैन।'

मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. मुक्ति नारायण साहसँग सम्पर्क गर्दा डाइलाईसिस मेसिन खरिदको विषयप्रति अनभिज्ञता जनाए।

सस्तोमा मेसिन ल्याइदिनेलाई टेन्डर नदिएर महँगोमा ल्याइदिन्छु भन्नेलाई टेन्डर स्वीकृत गर्ने केन्द्रलाई के गर्नुहुन्छ?भन्ने जिज्ञासामा प्रवक्ता साहले  भने,‘बुझेर मात्रै भन्न सक्छु। अध्ययन नै गर्नुपर्ने हुन्छ। बुझौँला।’

लभ मेडिकललाई पटक-पटक टेन्डर

मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आव्हान गर्ने टेन्डर पटक-पटक लभ मेडिकल हलले पाउने गरेको खुलेको छ।

यस अगाडि मधेस (दुई नं.) प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गरेको नौ करोड ५९ लाख ६३ हजार सात सय ८२ रकमको टेन्डर पनि ‘लभ मेडिकल हल’ले नै पाएको छ।

आइटी इफास्टक्चर, सफ्टवेयर, फर्निचर, फिक्स्चर, ब्लड बैङ्कको टर्नकी र ट्रान्सफ्युजन सेवाको खरिदका लागि जेठ २३ गते प्रयोगशालाले टेन्डर स्वीकृत समेत गरिसकेको छ।

प्रयोगशालाले ‘लभ मेडिकल हल’लाई टेन्डर स्वीकृत गरेको सूचना जेठ २४ गते प्रकाशित गरेको हो।

२६ जेठ, २०७९, २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।