सिसडोल लाइभ : स्थानीय डाँडामा चढेर ढुङ्गा हान्न थालेपछि फर्काइयो फोहोर बोकेका गाडी

सिसडोल लाइभ : स्थानीय डाँडामा चढेर ढुङ्गा हान्न थालेपछि  फर्काइयो फोहोर बोकेका गाडी

सिसडोल : मंगलबार स्थानीयमाथि प्रहरी दमन भएको विरोधमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढामा उत्रिएपछि काठमाडौँबाट फोहोर बोकेर गएका ट्रक प्रहरीको स्कटिङमा फिर्ता ल्याउन थालिएको छ।

बुधवार बिहानै फोहोर बोकेर गएका ट्रकलाई सिसडोलमै स्थानीयले रोकेर अवरोध सुरु गरेका थिए। उनीहरूले मङ्गलवार केन्द्रमा भएको सहमति स्वीकार्य नहुने भन्दै विरोधमा उत्रिएपछि १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीयवासीको घर-घरमा छिरेर लाठी प्रहार गरेका थिए।

घरमै छिरेर प्रहरीले स्थानीयलाई कुटेपछि आक्रोशित बनेका उनीहरूले को हो बालेन ?, को हो झाँक्री भन्दै सहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहको विरोध गरेका थिए।

प्रहरीले दमन गर्न सक्ने भनेर स्थानीयहरू डाँडाहरूमा चढेका थिए। सुरक्षाकर्मीले जब फोहोर बोकेको ट्रक अगाडि बढाउन खोज्थे स्थानीयले डाँडाबाट ढुङ्गाले हान्थे। झडपका क्रममा ढुङ्गा लागेर २ जना प्रहरी घाइते भए।

सिसडोल लाइभ : भ्रष्टाचारी सेक्ने लौरोले स्थानीय सेकाउँदा सिसडोलमा तनाव, झडपमा २ प्रहरी घाइते

केही गरे पनि बञ्चरेडाँडासम्म फोहोर बोकेको ट्रक लैजान सक्ने अवस्था नदेखेपछि प्रहरीले बिहान जसरी स्कटिङ गरेर फोहोर बोकेका ट्रक बञ्चरेडाँडा लैजान सिसडोलसम्म पूर्याएको थियो उसै गरी स्कटिङ गरेर फर्काइरहेको छ।

सोही स्थानमा ट्रक राख्दा स्थानीयले फुटाइदिने जोखिम छ। बिहानै स्थानीयवासीले फोहोर बोकेर गएको २ वटा ट्रक फुटाई दिइसकेका छन्।

२५ जेठ, २०७९, १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।