अवरोध गर्नेलाई लाठी हानेर बञ्चरेडाँडामा फालियो १५७ ट्रक फोहोर

अवरोध गर्नेलाई लाठी हानेर बञ्चरेडाँडामा फालियो १५७ ट्रक फोहोर

काठमाडौँ : स्थानीयको अवरोध चिर्दै काठमाडौँ महानगरपालिकाले १ सय ५७ ट्रक फोहोर बञ्चरेडाँडाको डम्पिङ साइडमा फालेको छ। सोमबार बेलुकाको सहमतिपछि पनि केही स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि बल प्रयोग गरेर फोहोर फालिएको हो।

मङ्गलवार करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो। जेठ १४ गतेसम्म बन्चरे डाँडामा फोहोर फालिए पनि त्यसपछि स्थानीयले अवरोध गरेका थिए।

निरन्तर अवरोधका कारण काठमाडौँसहित उपत्यकाका पालिकाका सार्वजनिक स्थल डम्पिङ साइड जस्तै बनेपछि सोमबार बेलुका सहरी विकास मन्त्रालय र ककनी र धुनिवेशीका स्थानीय तहका प्रमुखबिच सहमति भएको थियो।

सहमति अनुसार मङ्गलवारबाट फोहोर फाल्न अवरोध नहुने उल्लेख भए पनि केही स्थानीयले भने सहमति अस्वीकार गर्दै अवरोध गरेपछि प्रहरी बल प्रयोग भएको थियो।

प्रहरीले प्रदर्शनमा संलग्नहरूलाई पक्राउ गरेपछि महानगरको फोहोर बोकेको ट्रक बञ्चरेडाँडामा पुगेका थिए। मङ्गलवार बल प्रयोग गरेर फोहोर फालिए पनि बुधवार फोहोर जान्छ जाँदैन एकिन छैन।

२४ जेठ, २०७९, २२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।