चुनावको मौका पारेर गरियो डेढ अर्बको स्वास्थ्य टेन्डर, मन्त्री विरोधदेखि महाशाखा प्रमुख डा रुद्रसम्मको भूमिका शङ्कामा

चुनावको मौका पारेर गरियो डेढ अर्बको स्वास्थ्य टेन्डर, मन्त्री विरोधदेखि महाशाखा प्रमुख डा रुद्रसम्मको भूमिका शङ्कामा

काठमाडौँ : स्थानीय तह निर्वाचनको मौका छोपेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाको नेतृत्व मिलेर डेढ अर्बको स्वास्थ्य सामाग्री खरिद गरेको देखिएको छ। 

उकेराको अनुगमनमा महाशाखाले टेन्डर निकाल्दा नै निश्चित कम्पनीले नेपालमा ल्याउने स्वास्थ्य सामाग्रीको मापदण्ड मात्रै स्वीकृत हुने गरी लक्ड स्पेशिफिकेशन बनाएर मिलेमतोमा टेन्डर गरेको देखिन्छ। 

टेन्डर प्रक्रियामा स्वास्थ्यमन्त्री विरोध खतिवडा, उनका विज्ञ सल्लाहकार डा. रमेश ढकालसँगै महाशाखाको निर्देशक डा. रुद्र मरासिनीको संलग्नता देखिन्छ। यसमा स्वास्थ्यमन्त्री खतिवडाका निजी सचिव मधु मिजारको समेत संलग्नता देखिन्छ।

मरासिनीलाई तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले केन्द्रीय युनिफाइड अस्पतालको कार्यकारी प्रमुखमा नियुक्त गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेपबाट निर्णय कार्यान्वयन हुन सकेन। उनलाई श्रेष्ठको व्यवसायिक साझेदारको आरोप लागेपछि प्रधानमन्त्रीले हटाएका थिए। त्यसपछि उनलाई ट्रमा सेन्टरबाट स्वास्थ्य सेवा विभाग अन्तर्गतको महाशाखा निर्देशकमा सरुवा गरियो।

डा. मरासिनी २०७८ मङ्सिर १५ मा महाशाखा निर्देशकमा नियुक्त भएका थिए। उनले निर्देशकको जिम्मेवारी सम्हालेको एक महिनापछि २०७८ पुस १८ देखि जेठ २२ गतेसम्ममा महाशाखाले गरेको टेण्डरको उकेराले विवरण संकलन गरेर विश्लेषण गरेको थियो। यो अवधीमा एक अर्ब ६६ करोड ४७ लाख रकमको स्वास्थ्य सामाग्रीको टेन्डर भइसकेको छ। 

खतिवडा स्वास्थ्यमन्त्री भएपछि मरासिनी महाशाखामा पुगेका थिए। उनी महाशाखा प्रमुख हुनुभन्दा अगाडि प्रदेश र जिल्लाका अस्पतालले नै अत्यावश्यक स्वास्थ्य सामाग्री किन्ने गर्थे। अहिले महाशाखाले सामान्य ऐना समेत केन्द्रबाटै किन्न टेन्डर भएको छ।

अत्यावश्यक र नियमित रुटिनको खरिदको बहानामा एकै दिन ४७ करोडसम्मका सामानको टेन्डर भएका छन्। जानकार स्रोत अधिकांश ठुला टेन्डरको स्पेशिफिकेशन निश्चित कम्पनीले आपूर्ति गर्ने स्वास्थ्य उपकरणसँग मात्र मिल्ने बनाइएको छ। 

अहिले कोरोना सङ्क्रमण न्यून भए पनि कोरोना नियन्त्रणभन्दै ठुलो मात्रामा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामाग्री खरिद गर्न टेन्डर गरिएको छ। झुल, ऐना र कोल्पोस्कोप मेसिनसम्मको टेन्डर केन्द्रले नै गरेको छ।

मरासिनी महाशाखा प्रमुख भएको प्रारम्भमा नियमित गर्नुपर्ने खरिदका खोप, सिरिन्ज लगायतको टेन्डर भएको देखिन्छ। चुनाबी माहौल शुरु भएसँगै ठुलो रकमका मेसीनरी लगायतका सामानको टेन्डर शुरु भयो।  

महाशाखाले टेन्डर आव्हान गर्दा तोकेको मेसिनरी सामानहरूको मूल्य झन्डै दोब्बर तोकिएसँगै आव्हान गर्नेदेखि आपुर्तीकर्ताको छनौटसम्ममा मन्त्रालयदेखि महाशाखाका जिम्मेवार अधिकारीबिच मिलेमतो हुने गरेको छ। ठुलो रकमको टेण्डर आफु निकटलाई दिने र मिलेमतो नदेखियोस् भनेर साना रकमका टेण्डर भने अन्य कम्पनीलाई समेत पार्ने गरिएको जानकारस्रोतले उकेरालाई बतायो।

तर ठेक्का प्रकरणमा जोडिएका तीनै जना नियम अनुसारै काम भइरहेको दाबी गर्छन्। चुनावको समय पारेर ठुलो परिणामका स्वास्थ्य सामाग्री किनेकोबारे जिज्ञासा राख्दा स्वास्थ्यमन्त्री खतिवडाले भने,‘हस्पिटलमा चाहिने सामान, वार्षिक बजेटले दिएको सामान पनि खरिद गर्ने कुरो चुनावको बेला, वर्षा लागेका बेला, दसैँको बेला भन्ने हुन्छ र?'

सेटिङमा संलग्न देखिएका व्यवस्थापन महाशाखाका प्रमुख डा. मरासिनीले ‘डेढ अर्बको टेन्डर भएको स्विकारे। उनले पनि स्थानीय चुनावी माहौलको मौका छोपेर सेटिङमा टेन्डर नगरी टेन्डर गरिएकोमध्ये करिब आधा रकम नियमित स्वास्थ्य सामग्री खरिद लगायत(रुटिन) कार्यक्रमकै भएको दाबी गरे। उनकै भनाई अनुसार पनि ८० करोडको रुटिनको ठेक्का भए पनि ८० करोड बढिको खरिद रुटिन बाहिर देखियो नै।

'सेटिङको कुरै हैन। ७०-८० करोड त हाम्रो रुटिन टेन्डरै हुन्छ’ उनले भने।

मन्त्री खतिवडा अनि डा मरासिनीले जे दाबी गरे पनि उकेराको खोजमा फेला परेका तथ्यले भने नियमित प्रक्रिया अन्तर्गत भन्दा पनि सञ्चारमाध्यम लगायतका खरिदमा निगरानी राख्नेहरूको ध्यान चुनावमा केन्द्रित भएको मौका छोपेर बजार मूल्यभन्दा दोब्बरसम्म रकम राखेर ठेक्का गरिएको देखिन्छ। केही ठेक्का पास भइसके भने केही प्रक्रियामै छन्। 

पास भएका अधिकांश ठेक्का निश्चित कम्पनीलाई मात्रै परेका देखिन्छन्। पास हुन बाँकी ठेक्काको स्पेशिफिकेशन निश्चित कम्पनीका सामानलाई मात्र मिल्ने बनाएकाले ती कसलाई दिने भन्ने पहिल्यै फिक्स भइसकेको देखिन्छ।  

त्यसमा स्वास्थ्य मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालको समेत भूमिका देखिन्छ। तर ढकाल मन्त्री खतिवडा र डा मरासिनीझैँ खरिदमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन्।

‘पैसा सुरुमा आउँदैन। अर्थ मन्त्रालयले दिँदैन। त्यसैले चुनावको समय देखिएको होला। तर सेटिङमा ठेक्का गरिएको हैन’ उनले दाबी गरे' टेन्डर स्वीकृत गर्नलाई फागुन–चैत देखि सुरु गरेको हो।' डा ढकाल निजी अस्पतालका सञ्चालक समेत हुन्। उनको नाममा काठमाडौँको नारायणटारमा शंकरापुर अस्पताल रहेको छ।

खरिद सेटिङ सहज बनाउन अहिले महाशाखाले प्रदेश र जिल्लातहबाट खरिद गरिने सामानको ठेक्का पनि केन्द्रबाटै गर्न थालिएको छ। यसको पुष्टि ढकालले नै गरे।

उनले उकेरासँग भने' सेन्ट्रल बिड(टेन्डर)बाटै खरिद गरेर बाँड्न लागेका छौँ हामीले।’जहाँबाट पनि सामान खरिद गर्दा सामानमा एक रुपता नआएकाले केन्द्रबाटै सबै सामान खरिद गरेर बाँड्ने योजना बनाएर टेन्डर भएको डा. ढकालले दाबी गरे।

तर वास्तविकता उनले भनेझैँ देखिएन। प्रदेश र जिल्ला तहबाट सामान खरिद गर्न स्विकृतर्दिँदा आफूले चाहेको आपूर्तिकर्ताले नै ठेक्का पाउने निश्चित नभएकाले नै मन्त्रालयले सामान खरिद प्रणालीलाई केन्द्रीकृत गरेको देखिन्छ।

खरिद प्रक्रिया मिलेमतोमा हो भन्ने अर्को तथ्य कतिपय सामान अस्वाभाविक रूपमा खरिद भएकोले समेत देखाउँछ। त्यसमा ढकालको तर्क छ ‘केन्द्र सरकार, प्रदेश र पालिकाले खरिद गर्दा स्वास्थ्य सामग्री तथा मेसिन औजार लगायतको मूल्य फरक फरक परेकाले केन्द्रबाटै खरिद गरिएको हो। केन्द्रबाट नकिन्दा आर्थिक चलखेल हुन थाल्यो। त्यसलाई कम गर्न सेन्ट्रलबाट नै (टेन्डर) गरिएको हो।’

यस्ता सामान किनिए

महाशाखाले पुस १८ गते ७२ लाख मूल्य बराबरको कार्यालयमा प्रयोग हुने लगायतका सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको देखिन्छ। सोही मितिमा नै २८ लाख मूल्य बराबरको १० हजार भायल ‘रेबिज इम्युनोग्लोबुलिन’ खरिदको लागि टेन्डर आह्वान भएको छ।

माघ तीन गते करिब २० लाख मूल्यको एफपी सामग्री-मेट्रियल्स (मिनिल्याब कीट सेट, एनएसभी कीट सेट, आइयुसिडी इन्सर्सन र रिमेअेभल कीट सेट,  इम्प्लान्ट इन्सर्सन र रिमेओभल कीट सेट) खरिदका लागि टेन्डर आह्वान भएको छ।

सोही मितिमा आईएमएनसीआई कार्यक्रमका लागि दुई करोड ११ लाख भन्दा बढी मूल्यको मेसिन तथा स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान भएको थियो।

माघ पाँच गते करिब १४ लाख ८० हजारको ७५ पिस न्योनेटल मनेक्वीन खरिदका लागि टेन्डर गरियो।.माघ पाँच गते तीन करोड मूल्य बराबरको  ‘एफ–७५ र एफ–१००’ खरिदका लागि टेन्डर आह्वान भयो।

माघ १० गते करिब आठ करोडको दुई लाख भायल एन्टी रेबिज भ्याक्सिन खरिदका लागि टेन्डर आह्वान भएको देखिन्छ। सोही मितिमा एक करोड आठ लाख मूल्यको एक एमएलको डिस्पोजेबल ‘एड सिरिन्ज’ खरिदका लागि टेन्डर आह्वान भयो।

माघ १६ गते निर्देशक डा. मरासिनीले करिब ३२ लाखका ४ वटा डेक्सटप कम्प्युटर, ९ वटा ल्याप्टप, १२ वटा प्रिन्टर, ३ वटा फोटोकपी मेशिन र ४ वटा प्रोजेक्टर खरिदका लागि टेन्डर आह्वान गरे। सोही मितिमै करिब ६४ लाखका दुई सेट ‘थर्मल स्क्यानर’ खरिदका लागि टेन्डर आह्वान भएको थियो।

झुल, ऐना र कोल्पोस्कोप मेसिनसम्म

एक करोड, ७२ लाख भन्दा बढी रकमको ४० हजार पिस झुल खरिदका लागि फागुन पाँच गते महाशाखाले टेन्डर आह्वान गरेको थियो। महाशाखाले फागुन २६ गते करिब ३२ लाख मूल्यको फर्निचर तथा फिक्सचर खरिदको लागि समेत केन्द्रबाटै टेन्डर गरेको छ।

फागुन २६ गते नै करिब दुई करोड २८ लाख रकमको घरमा राख्ने ऐना दुई लाख ९० हजार पिस र घरमा राख्ने नमुना ड्यांग्लर दुई लाख ९० हजार पिस खरिदका लागि टेन्डर आह्वान भएको थियो। फागुन २७ गते २६ लाख मूल्यको ४ सेट ‘कोल्पोस्कोप मेसिन’ खरिदका लागि टेन्डर आह्वान भएको छ।

३० करोडको एक सय ७८ वटा यूएसजी

महाशाखाले चैत सात गते करिब ३० करोड मूल्य बराबरको एक सय ७८ सेट ‘पोर्टेबल यूएसजी मेशिन’ खरिदका लागि टेन्डर आह्वान भयो। यो माग निक्कै ठुलो संख्याको हो। डा मरासिनी ३० करोडको युएसजी खरिद समेत नियमित कार्यक्रम नै भएको दाबी गर्छन्।

‘राम्रै कम्पिटिशन भएको हो,’उनले भने,‘हामीले खरिद गरेको (युएसजी) मधेस प्रदेश र कर्णालीका लागि हो।’ युएसजी खरिद गर्नुको मुख्य उद्देश्यै मातृ मृत्युदर घटाउन हो।'

चैत सात गते करिब चार करोड ८०  लाख मूल्यको ‘प्रयोगका लागि तयारी थेरापिटिक फुड (आरयूटीएफ)’ खरिदका लागि टेन्डर भएको थियो। कोटेसनमा दश हजार पिस ‘आरके–३९ टेस्ट कीट’ चैत १४ गते मागिएको थियो।

 १३ करोडको नौ वटा डिआर

चैत २१ गते डा. मरासिनीले करिब १३ करोड २० लाख रकमको नौ सेट ‘मोबाइल डिजिटल रेडियोग्राफी (डिआर)’ मेसिन खरिदका लागि टेन्डर गरेका छन्। यसको स्पेशिफिकेशनै २ वटा कम्पनीलाई मात्र मिल्ने गरी बनाइएको स्रोतको दाबी छ।

यो मेसिन सात वटा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पतालका लागि टेन्डर गरिएको दाबी गर्दै उनले यसमा ६-७ वटा सप्लायर्स कम्पनी टेन्डर प्रक्रियामा सहभागी भएको र कुनै एक निश्चित कम्पनीलाई मात्रै टेन्डर पर्ने गरी स्पेशिफिकेशन नबनाइएको दाबी गरे। तर उकेराले प्राप्त गरेको तथ्यले भने यस्तो देखाउँदैन।

चैत २३ गते ‘आइस प्याक ०.६ लिट’ तीस हजार पिस र ‘आइस प्याक ०.४ लिट’ २५ हजार पिस खरिदका लागि समेत टेन्डर आह्वान भएको थियो।

एकै मितिमा ठुलो रकमको टेन्डर

वैशाख १६ गते ६० लाख मूल्यको ‘कोल्ड चेन स्पेयर पार्टस्’ खरिदका लागि टेन्डर आह्वान भएको थियो। सोही मितिमा डा. मरासिनीले पाँच करोड २० लाख रकमको २१ वटा ‘फुल्ली अटो इन्डोस्कोप रिप्रोसेसिङ मेसिन’ खरिदका लागि टेन्डर आह्वान गरे। वैशाख १६ गते नै चार करोड ८० लाख रकमको ‘सीएचएक्स जेल’ खरिदका लागि टेन्डर आह्वान गरेका थिए।

वैशाख १६ गते नै कोभिड–१९ कन्ट्रोल र प्रिभेन्सनका लागि भन्दै ‘ल्याब इक्युप्मेन्ट’हरूको खरिदका लागि टेन्डर भएको छ। करिब तीन करोडको दश सेट सेमि अटोमेटेड बायोकेमेष्ट्रि एनालाईजर‘ र दश सेट ‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाईजर’ खरिदको लागि टेन्डर आह्वान भएको थियो।

सोही मितिमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भन्दै ४० लाख रकमको स्टेथेस्कोप सहितको बिपी सेट एक हजार र नेबुलाईजर पाँच सय सेट खरिदका लागि टेन्डर आह्वान गरेको थियो। वैशाख १६ गते करिब तीन करोड ८० लाखको एक सेट ‘इआरसिपी’ मेसिन खरिदको लागि टेन्डर भएको छ।

वैशाख १९ गते कोभिड–१९ नियन्त्रण र रोकथामका लागि भन्दै करिब एक करोड ६८ लाखको १० सेट ‘मेडिकल किट बक्स’ खरिदका लागि टेन्डर आह्वान भएको थियो।

वैशाख २६ गते एक करोड ४४ लाखको रेडियन्ट वार्मर र मनिटर (एसएसीयू एनआइसियु इक्युप्मेन्ट) खरिदका लागि  टेन्डर आह्वान भएको थियो। सोही मितिमा कोभिड–१९ कन्ट्रोल र प्रिभेन्सनका लागि भन्दै एक करोड ६८ लाख रकमको दश सेट ‘सिएलएलए मेसिन’ खरिदका लागि टेन्डर आह्वान भएको थियो।

वैशाख २६ गते चार करोड ८० लाखको डिजिटल फ्ल्याट प्यानल डिटेक्टर सहितको पोर्टेबल मोबाइल एक्स–रे मेसिन खरिदका लागि टेन्डर आह्वान भएको थियो। 

 २४ करोडका एक सय ३० वटा हेमोडाईलाइसिस मेसिन

वैशाख २६ गते  २४ करोड रकमको एक सय ३० वटा(सेट) हेमोडाइलाइसिस मेसिन खरिदका लागि महाशाखाले टेन्डर आह्वान गरेका थियो। नियमित बाहेकको हेमोडायलाईसिस मेसिन खरिदका लागि टेन्डर गरिएको डा. मरासिनीको दाबी छ।

उनले तत्कालीन स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीकै पालामा निर्णय भए बमोजिम सो मेसिन खरिदका लागि टेन्डर गरिएको दाबी गरे। डा. मरासिनीले भने,‘त्यति बेलै निर्णय भएर बजेट माग भएको हो। कार्यक्रम स्वीकृत त्यति बेलै भएको हो। बजेट अलि पछि आयो। पछि आएपछि मैले खोलिदिएको(टेन्डर गरिदिएको) हो।’

वैशाख २९ गते कोभिड–१९ नियन्त्रण र रोकथामका लागि भन्दै एक करोड ६८ लाखको दश सेट मेडिकल कीट बक्स खरिदका लागि टेन्डर भएको छ। वैशाख ३० गते ‘ल्याबोरेटोरी टेष्टिङ’ मेडिकल सामग्री खरिदका लागि २४ लाखको टेन्डर भएको छ।

तीन करोड २८ लाखका तीन सेट सी–आम मेसिन

जेठ १३ गते करिब पाँच लाख ६० हजार रकमको दुई सेट ‘ईईजी’ मेसिन खरिदका लागि महाशाखाले टेन्डर आह्वान गरेको छ। जेठ २९ गते करिब तीन करोड २८ लाखमा तीन सेट ‘सी–आर्म’ मेसिन खरिदका लागि टेन्डर भएको छ।

त्यसै गरी जेठ ३० गते कोभिड–१९ कन्ट्रोल र रोकथामका लागि भन्दै ४८ लाखको सय सेट सामान्य बेड र ५० डेलिभरी बेड खरिदका लागि टेन्डर भएका छन्।

एकै दिन ४७ करोडको टेन्डर

महाशाखाले एकै दिन जेठ २२ गते ४७ करोड ५२ लाख मूल्य बराबरको टेन्डर आह्वान गरेको छ। जेठ २२ गते ‘युरिक एसिड एन्ड ग्लुकोमिटर’, ‘हेल्थ केयर वेस्ट म्यानेजमेन्ट’ सामग्री, ‘इन्टग्रेटेड हस्पिटल म्यानेजमेन्ट सिस्टम’, ‘फुल्लि अटोमेटेड लो टेम्प्रेचर प्लाज्मा स्टेरिलाईजर’ शीर्षकमा टेन्डर आह्वान भएको हो।

उनले एकै दिन हतार हतार यति ठुलो रकम बराबरको टेन्डर गरेका छन्। अर्थ मन्त्रालयबाट बजेट नै ढिलो निकासा भएको हुनाले पछिल्लो महिना धेरै टेन्डर भएको डा. मरासिनीको तर्क छ।

फोहोर व्यवस्थापनको रकम भने विश्व बैङ्कको भएको निर्देशक डा. मरासिनीले बताए। ‘फोहोर व्यवस्थापनको पैसा विश्व बैङ्कको हो,’उनले भने,‘सरकारको पैसा असार मसान्तमा खाता क्लोज गर्नुपर्यो। विश्व बैङ्कको पैसामा त्यो लागु हुँदैन।’

यसरी निकालियो टेन्डर रकमको आँकडा

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५३ मा बोलपत्र जमानत सम्बन्धी व्यवस्था रहेको छ। सो नियमको उपनियम ‘१’ मा भनिएको छ,‘सार्वजनिक निकायले खरिदको प्रकृति अनुसार सबै बोलपत्रदातालाई समान रूपले लागू हुने गरी स्वीकृत लाग अनुमान रकमको दुईदेखि तीन प्रतिशत रकमको सीमाभित्र रही निश्चित रकम तोकी बोलपत्र आह्वानको सूचनामा बोलपत्रदाताले बोलपत्रसाथ पेस गर्ने बोलपत्र जमानत रकम उल्लेख गर्नुपर्नेछ।’

सोही नियम अनुसार औसतमा दुई दशमलव पाँच (२.५) प्रतिशत बोलपत्र जमानत रकम (बीड सेक्युरिटी अमाउण्ट) लाई आधार मानेर एक अर्ब ६६ करोड ४७ लाख २० हजार रकमको महाशाखाले टेन्डर गरेको आँकडा निकालिएको हो।

कसरी हुन्छ सप्लायर्ससँग मिलेमतो उकेराको अर्को शृङ्खलामा 

२४ जेठ, २०७९, २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।