स्थानीयले मानेनन् फोहोर फाल्न, फोहोरमाण्डु भयो काठमाडौँ

स्थानीयले मानेनन् फोहोर फाल्न, फोहोरमाण्डु भयो काठमाडौँ

काठमाडौँ : काठमाडौँको ल्यान्डफिल्ड साइट रहेको सिसडोल र बञ्चरेडाँडाका स्थानीय निकासका प्रतिनिधि र सहरी विकास मन्त्रालयका प्रतिनिधिबिच सोमबार बेलुका फोहोर व्यवस्थापनबारे प्रतिवद्धतापत्रमा सहमति भएसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेद्र शाह उत्साहित थिए। मङ्गलवार बिहानैबाटै काठमाडौँको फोहोर बञ्चरेडाँडामा पुर्याउने तयारी पनि भयो। फोहोरले भरिएका ट्रक गन्तव्यतिर लागेका पनि हुन्। तर प्रतिवद्धताविपरित स्थानीयले फोहोर बोकेको गाडी जान दिएनन्।

दैनिक पानी पर्दा काठमाडौँ महानगर क्षेत्र नै अहिले ल्यान्डफिल्ड साइट झैँ दुङदुङती गन्हाइरहेको छ। सहरका चोक र गल्लीमा फोहोरको रास लागेको छ। टेकुको अस्थायी ट्रान्सफर सेन्टर पनि फोहोरले भरिएपछि स्थानीयले थप फोहोर आउन दिएका छैनन्। उता नुवाकोट र धादिङमा पर्ने सिसडोल र बञ्चरेडाँडामा पनि फोहोर फाल्न सकेको छैन महानगरले।

मेयर बालेन्द्रले मङ्गलवारै लामो समयदेखि काठमाडौँको फोहोर उठाउन नसकेकोमा क्षमा माग्दै अब समस्या समाधान हुने अनि अब घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्टाए सङ्कलन नगर्ने भन्दै सहयोगका लागि महानगरवासीलाई आग्रह गर्दै सामाजिक सञ्जालमा सन्देश राखेका थिए। तर त्यो सन्देश मङ्गलवार मध्यदिनबाटै प्रभावहीन देखियो। बञ्चरेडाँडाका स्थानीयले सहरी विकास मन्त्रालय र प्रभावित ककनी र धुनीबेसीका स्थानीय निकायका प्रमुखबिच भएको प्रतिविद्धतामा विश्वास गरेनन् र फोहोर बोकेको ट्रक जान दिएनन्।

काठमाडौँका चोक र गल्लीहरूका फोहोर उस्तै अवस्थामा रहे। दुर्गन्धित काठमाडौँको पहिचान हटाउने मेयर बालेन्द्रको प्रयास सफल भएन।

२४ जेठ, २०७९, १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।