आयोजक कमिटीका पदधिकारीले पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै पुरस्कार नलिने घोषणा

आयोजक कमिटीका पदधिकारीले पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको भन्दै पुरस्कार नलिने घोषणा

काठमाडौं : पत्रकार रीना मोक्तानले चलचित्र पत्रकार संघले वितरण गरेको पुरस्कार नलिने घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मोक्तानले आयोजक कमिटीका एक पदधिकारीले आफूलाई पाँच वर्षअघि यौन दुर्व्यवहार गरेकाले पुरस्कार नलिने कारण खुलाएकी छन्।

उनले लेखेकी छन्, ‘जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालले 'चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गरेको थियो। पुरस्कार पाउनेको सूचीमा मेरो नाम पनि परेकाले खुसी भएँ। मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद। तर घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो। घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो। ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु। त्यही संस्थाका अन्य पदाधिकारीको साथ-सहयोग पहिले पनि थियो, अब पनि सहकार्य चलिनै रहन्छ। 

उनले आफ्नो स्टाटसमा थप लेखेकी छिन्, 'महिलालाई आफू यौन हिंसापीडित हो भनेर परिचय दिन पक्कै सहज छैन। तर आत्मविश्वास र आत्मसम्मानपूर्ण जीवनको महसुस गर्ने चाहनाले यो स्ट्याटस लेखेको हुँ। यो दुर्व्यवहारबारे मैले बोल्नुको अर्थ व्यक्ति र संस्थालक्षित भन्दा पनि यौन दुर्व्यवहारका प्रत्येक घटनाले मलाई जस्तै थुप्रै महिलाको आत्मविश्वासमा ठेस पुगेको छ, विशेष गरी चलचित्र क्षेत्रमा। र, यस्तो प्रवृत्तिबारे अब खुलेर बोल्ने वातावरण हामीले बनाउनुपर्छ।'

२३ जेठ, २०७९, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।