पोखरा विश्वविद्यालय र नाष्टबीच सहयोग आदानप्रदानको समझदारीपत्रमा हस्ताक्षर

पोखरा विश्वविद्यालय र नाष्टबीच सहयोग आदानप्रदानको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौंः पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदानप्रदान गर्ने सझदारीपत्रमा हस्ताक्षर भएको छ। विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक विषयमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिने समझदारीपत्रमा उल्लेख छ।

त्यस्तै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तर तह एवं विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नाष्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकको पनि संलग्नता गराइनेछ।

समझदारी पत्रले दुवै संस्थालाई संयुक्तरूपमा विज्ञान तथा प्रविधि उन्नयन, जैविक विविधता, पर्यावरण, दिगो सहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटोसमेत खोल्ने विश्वास दिइएको छ।

२३ जेठ, २०७९, ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।