बस दुर्घटनामा बाँचेका रोहन भन्छन्- 'झ्याल फोरेर निस्किएँ, साथीको टाउको च्यापेको थियो, उनलाई पनि निकालेँ'

बस दुर्घटनामा बाँचेका रोहन भन्छन्- 'झ्याल फोरेर निस्किएँ, साथीको टाउको च्यापेको थियो, उनलाई पनि निकालेँ'

 

बुटवलः आज बिहान भएको यात्रुबाहक रात्रिबस दुर्घटनामा बाँचेकामध्ये एक हुन्- रोहन चौधरी। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१३ का २० वर्षीय चौधरीले गत वर्षको साउनमा विहे गरेका थिए।

त्यसपछि कामको सिलसिलामा उनी भैरहवा आए। भैरहवामा वल्डिङको काम गर्थे उनी। भैरहवामा काम गरेको ७ महिना भइसकेको थियो।

विहे गर्नासाथ काममा आएका चौधरीलाई घरको न्यास्रो र श्रीमतीको याद भने आइरह्यो। त्यसपछि चौधरी केही दिनका लागि बिदा लिएर घर गए। 

घर फर्केपछि एक कम्पनीमा काम गर्न थाले। तर साइकल चलाएर काम गर्नुपरेपछि उनलाई खासै चित्त बुझेन। केही दिनमै काम छाडे। त्यसपछि पुरानै काम गर्ने भन्दै भैरहवा फर्किने निधो गरे।

२०/२५ दिन घर बसेपछि उनी भैरहवा आउने बस चढे। पश्चिम नेपाल प्रालिको लु२ख ३८४१ नम्बरको बसमा कर्मथलो भैरहवा आउँदै गर्दा आइतबार बिहान रुपन्देहीको भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी खोलामा बस दुर्घटनामा पर्यो। उनै चौधरी धन्नले बाँचे।

‘भैरहवामै काम गर्छु भनेर यहाँ आएको हो’, भैरहवा मेडिकल कलेजमा उपचार गरिरहेका चौधरीले भने, ‘भाग्यले बाँचे। निदाएको थिएँ। बस खोलामा खसेपछि मात्र व्युँझिएँ’, उनले भने।

खोलामा बस खस्नासाथ आफू झ्यालतिर भएकाले झ्याल फोरेर निस्किएको उनले बताए। ‘झ्यालबाट म निस्केपछि अर्को साथीलाई पनि झ्याल फोरेर निकालेँ। उसको टाउको झ्यालले च्यापेको थियो’, उनले भने।

उनले चालक निदाएकै कारण दुर्घटना भएको हुनसक्ने बताए। बस तीव्र गतिमा पनि रहेको र राति चालक निदाएर बस पुलबाट तल झरेको आशंका उनले गरे। उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ। 

बुटवलमा काम गर्ने भन्दै पहिलो पटक धनुषा हंसपुर नगरपालिका- ३ कामुफिद मन्सुरी पनि त्यही बसमा सवार थिए। पहिलो पटक कामको सिलसिलामा आउँदै गर्दा दुर्घटनामा परेको मन्सुरीले घटनाको प्रमुख कारण चालक नै निदाएर भएको हुन सक्ने बताए।

‘म सुतेको थिएँ। ओभरटेक गरे जस्तो पनि लाग्छ। स्पीड थियो। पछि खोलामा खसेपछि एक्कासि थाहा भयो’, उनले भने।

मन्सुरीको टाउकोको भाग झ्यालमा अड्किएको अवस्थामै बसको झ्याल फोरेर रोहन निस्किसकेका थिए। अनि रोहनले नै निकाले उनलाई। मन्सुरीको हात, खुट्टा र टाउकामा सामान्य चोट लागेको छ।

सो यात्रुबाहक बस दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा रुपन्देही ओमसतिया- ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा- ८ कि ३७ वर्षीय तुलसी बस्याल, तिलोत्तमा- २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल- ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास र जनकपुरका ४० वर्षीय अरविन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ। 

नौ जना मृतकमध्ये अझै तीन जनाको सनाखत हुन सकेको छैन। तीन जना ३० देखि ४५ वर्ष उमेरका पुरुष हुन्।

२२ जेठ, २०७९, १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।