टिकटक बनाएर भाइरल हुनुपर्ने दबाबमा बालापन गुमाउँदै बालबालिका

टिकटक बनाएर भाइरल हुनुपर्ने दबाबमा बालापन गुमाउँदै बालबालिका

३३ वर्षकी आमा गोमा ठकुरी तीन वर्षकी आफ्नी छोरीलाई पार्कमा लगेर भिडियो खिच्दै थिइन्। उनी त्यहाँ छोरीलाई के गर्ने, कसो गर्ने भनेर सिकाउँदै टिकटक भिडियो बनाइरहेकी थिइन्। 

मानिसहरू रमिते बनेर हेरिरहेका थिए। त्यत्रा मान्छेका अगाडि गोमा भने, आफ्नो बच्चाले भनेकै नमानेको गुनासो गर्दै थिइन्। उन भन्थिन्, 'अरूका बच्चा जे भन्यो त्यही मान्छन्, जस्तो एक्सप्रेसन दे भन्यो त्यस्तै दिन्छन्। आफ्नो भने यस्तो छ। एउटा भिडियो भाइरल भएको थियो, अनि त भाउ बढिहाल्यो नि यसको। भने जस्तो गर्दै गर्दिन।'

अभिभावक हुनु सबैभन्दा गम्भीर जिम्मेवारी हो। तर यसलाई नेपालमा हलुका ठानिने अधिवक्ता बाबुराम अर्याल बताउँछन्। 

गोमाकी तीन वर्षीया छोरी आमाको टिकटक भिडियोको दबाबले झिँझो मानिरहेकी थिइन्।

तर, आमाको टिकटक बनाउने काम रोकिएन। बरू टिकटक बनाउनै भनेर नयाँ लुगा किनिदिएको भन्दै गाली पो गर्न थालिन्।

रत्नपार्क फनपार्कको यो दृश्य अहिले पार्क र घुम्ने ठाउँहरूमा सामान्य बन्न थालेको छ। प्रायः अभिभावक बालबालिकालाई टिकटक बनाउँदै गरेको भेटिन्छ।

साना बालबालिकाहरूको पनि रमाउने थलो बनेको छ- टिकटक। उनीहरू समय हुनेबित्तिकै टिकटकमा होमिन्छन्। कार्टुन या बालबालिकाको फिल्म, गीत लगायतले उनीहरूको ध्यान तान्न छाडेको छ। पढाइमा मन लगाउने कुरा त परै जाओस्।

छोटो भिडियो, त्यसैमाथि मन नपर्नेबित्तिकै स्क्रोल गर्न मिल्ने भएकाले बालबालिका मात्रै होइनन्, ठूला मानिसहरू समेत यसमा अम्मली भएको बताउँछिन् मनोविद् गंगा पाठक। 

उनले भनिन् 'कोही टिकटक हेरेर दिन बिताउने गरेका छन् त कोही भाइरल बन्ने चक्करमा छन्। यी दुवै मानसिक समस्याका उपज हुन्।'

पहिले पढाइमा प्रेसर, अहिले भाइरल हुनलाई प्रेसर
अभिभावक हुनु सबैभन्दा गम्भीर जिम्मेवारी हो। तर यसलाई नेपालमा हलुका ठानिने अधिवक्ता बाबुराम अर्याल बताउँछन्। 

उनले भने, 'अन्य देशमा प्याराग्लाइडिङ प्यारेन्टिङ प्रयोगमा छन्। बालबालिकालाई कसरी सुरक्षित इन्टरनेटमा भिजाउने भन्ने छलफल दिनदिनै भइरहेको हुन्छ। एक युवतीले त बच्चा बेलामा बिनाअनुमति फोटो इन्टरनेटमा राखिदिएको भनेर बाउ आमालाई मुद्दा हालेर जरिवाना समेत तिराइन्। बालबालिका भाइरल हुँदा उनीहरूमा पर्ने मानसिक समस्याको बारेमा चर्चा सुरु भएको छ। तर हाम्रोमा भने बालबालिकालाई भाइरल बन्नुपर्ने प्रेसर बढेको छ। उनीहरूको पीडालाई भिडियो खिचेर मजा लिइरहेका छौं।'

'भोलि पेट दुख्छ', 'स्कुल जान्न', 'मलाई टेन्सन छ' देखि उनीहरूले झगडा गर्दा बोलेका अश्लील गाली, रिस लगायतलाई खिचेर भाइरल बनाइएको छ। यो भनेको ती बालबालिकामाथि गरेको अपराध हो।

'बच्चाकै अगाडि श्रीमान्-श्रीमती झगडा गर्ने, साना बच्चालाई एडल्टको जस्ता प्रश्न गर्ने लगायतका काम अन्तर्वार्ताकारले गरिरहेका हुन्छ। यो भविष्यका कर्णधारमाथिको ज्यादती हो'

अहिले पनि र विशेषतः केही समयअगाडि यस्तै दबाब पढाइमा हुन्थ्यो। अर्यालले भने, 'अभिभावकले आफूले गर्न नसकेका, पढ्न नसकेका काम र विषयको पढाइमा जबर्जस्ती प्रेसर दिन्थे। त्यो समयमा पनि उनीहरूको रुचि ध्यान दिइँदैनथ्यो। अहिले पढाइमा प्रेसर छैन, तर उस्तै प्रकृतिको प्रेसर टिकटकमा भाइरल भइदिनुपर्नेमा सरेको छ।'

सेलिब्रेटी बच्चा व्यवस्थापन गाह्रो काम
कलाकार कविता रेग्मीले बाल कलाकार अनुभव रेग्मीलाई हुर्काइन्। अहिले अनुभव १५ वर्षका भए।

यो बीचमा बच्चामा आउने परिवर्तन उनले राम्रोसँग देखेकी छन्। भन्छिन्, 'आफैं मनोरञ्जन क्षेत्रको मानिस भएकाले पनि मलाई यो क्षेत्र सबैका लागि असुरक्षित लाग्छ। छोरो हुर्कियो, एसईई दिने बेला भयो अब त एक्लै छाडे भयो नि भन्छन्। मलाई मेरो छोराको विश्वास छ। तर यो क्षेत्रको विश्वास लाग्दैन।'

चर्चित बच्चा हुर्काउन विशेष ध्यान दिनुपर्ने अभिभावकले नै हो। 

कविताले पनि अनुभवलाई राम्रो संस्कारमा हुर्काएको बताउँछिन्। 'घरमा तिमी हाम्रो छोरा हो, स्कुलमा सर मिसको विद्यार्थी हो। फिल्मको कार्यक्रममा जाँदा या अन्तर्वार्तामा जाँदा मात्रै तिमी कलाकार हौ। उसलाई यो कुरा सधैं भनिरहेकाले त्यही अनुसारको व्यवहार गर्न जान्यो। नत्र धेरै वटा जिन्दगी बाँच्न ठूलै मानिसलाई त गाह्रो हुन्छ, बालबालिकाले कसरी सक्नु!', उनले भनिन्। 

अहिले दिनैपिछे बालबालिका भाइरल भइरहेको देखेर भने कवितालाई डर लाग्छ रे। उनी आफूले अन्तवार्ता दिने समयमा मिडिया हाउस कस्तो, के कुरा सोध्ने, कस्तो कार्यक्रममा जाने जस्ता कुरा तय गर्थिन्। अहिले बालबालिका समातेर आफैं चर्चामा आउन खोज्ने अभिभावक भएको उनले बताइन्। 

'बच्चाकै अगाडि श्रीमान्-श्रीमती झगडा गर्ने, साना बच्चालाई एडल्टको जस्ता प्रश्न गर्ने लगायतका काम अन्तर्वार्ताकारले गरिरहेका हुन्छ। यो भविष्यका कर्णधारमाथिको ज्यादती हो', उनले भनिन्।

'काखमा बसिरहेको सानो बच्चा जब आफ्नो प्रशंसा सुन्छ, खुशीले गजक्क पर्छ। छुच्चो छ, नराम्रो छ भनेर कसैले कुरा गरे रिसाउँछ। झनै झगडा गर्छ'

अनुभवलाई हुर्काउँदा उनलाई सधैँ क्यानेडेली गायक जस्टिन बिबरको याद आउने पनि बताइन्। परिपक्व अभिभावक नहुँदा जस्टिन कुलतमा फसे, उनको घमण्डले सीमा नाघ्यो। क्यामेराअगाडि र पछाडि गर्ने हर्कतहरूका कारण डबल पर्सनालिटी डिस्अर्डर भयो। त्यसबाट उनलाई जोगाउने प्रयास अहिले पनि जारी छ।

कन्फिडेन्स बढाउने भन्दै बालबालिकाको सौन्दर्य प्रतियोगिता
हाइड एण्ड सिक किन्डरगार्डेनकी प्रिन्सिपल कुमुद भट्ट आफ्नो विद्यालयमा ब्युटी प्याजेन्ट गर्ने गरेको बताउँछिन्। उनले भनिन्, 'आजभोलिका बालबालिकालाई स्टेजमा बोल्न, हिँड्न सिकाउने भएकाले यो प्याजेन्ट उनीहरूको आत्मविश्वासका लागि निकै महत्त्वपूर्ण छ।'

तर, यदि त्यसलाई प्रतियोगिताको रूपमा गरिएको छ भने त्यो गलत हुने उनको धारणा छ। भन्छिन्, 'हामी प्याजेन्ट शो गराउँछौं। जसमा विभिन्न भेषभुषाका ड्रेस लगाएर स्टेजमा हिँडाउने, उनीहरूको प्रतिभा सुन्ने काम हुन्छ। सबैलाई ताज दिन्छौं, सबैलाई उत्कृष्ट बनाउँछौं। अहिलेका बालबालिकालाई यो अति आवश्यक भइसक्यो।'

अभिभावकको ध्यान समेत आजभोलि पढाइभन्दा यस्तै कुरामा धेरै जान थालेकाले पनि साना बालबालिकाको सौन्दर्य प्रतियोगिता हरेक विद्यालयले अनिवार्य गर्न थालेको उनको भनाइ छ। 

तर, यो प्रतियोगिताभन्दा शोको रूपमा मात्रै लिनुपर्ने उनको धारणा छ।

कुमुदका अनुसार यसलाई प्रतिस्पर्धाका रूपमा गरियो भने चाहिँ बालबालिकालाई असर गर्छ। त्यसैले आफूहरूले शो मात्रै गरेको र प्रतियोगिता नगरेको उनको भनाइ छ।

बाल मनोविज्ञानका बारेमा झण्डै २२ वर्षको अनुभव रहेको भन्दै उनले भनिन्, 'बालबालिको प्रकृति सधैं उनीहरूलाई मात्रै ध्यान दिओस् भन्ने खालको हुन्छ। ठूला मानिसहरू बसेर कुरा गरिरहेको ठाउँमा हल्ला मच्चाउँछन्, ताकी उनीहरूले आफ्ना कुरा सुनिदिऊन्, आफूलाई हेरिदिऊन्।'

यही कुरामा जोड दिइन् मनोविद् पाठकले। 'काखमा बसिरहेको सानो बच्चा जब आफ्नो प्रशंसा सुन्छ, खुशीले गजक्क पर्छ। छुच्चो छ, नराम्रो छ भनेर कसैले कुरा गरे रिसाउँछ। झनै झगडा गर्छ', उनले भनिन्।

त्यसमाथि अभिभावकहरू आफ्ना बालबालिका चर्चित बनेको हेर्न चाहन्छन्। अनेक गरेर बालबालिकालाई चर्चित बनाउँछन् पनि। चर्चा कसलाई मन पर्दैन र? सबैलाई मनपर्छ। बालबालिकालाई पनि मनपर्छ।

एउटा भिडियो भाइरल हुनेबित्तिकै बालबालिकालाई आफ्नो सबै भिडियो भाइरल होस् भन्ने चाहना हुन्छ। तर, थोरै लाइक र कमेन्ट आयो भने उनीहरू निराश बन्छन्। बालबालिका निराश हुनु, बालापन गुमाउनु भनेको राम्रो संकेत हुँदै होइन।

२१ जेठ, २०७९, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।