अर्कैको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी मानेभञ्याङबाट पक्राउ

अर्कैको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी मानेभञ्याङबाट पक्राउ

काठमाडौँ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्। कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेको हुन्। पक्राउ पर्नेमा भोटखोला–४ की मनिशा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। 

खाँदबारी–३ को महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्। बाल विकास सिकाइ विषयको परीक्षामा नक्कली परिक्षार्थी बनेर परीक्षा दिँदै गर्दा प्रहरीले मनिशालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले बताए। 

अरुणोदय माध्यमिक लिङ्गम कक्षा १२ का विधार्थी अनुषा गुरुङकोसट्टामा परीक्षा दिइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परिक्षार्थी मनिसालाई परिक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए। 

पक्राउ परेकी मनिशालाई परीक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख केशव भट्टराईले बताए। नक्कली परीक्षार्थी पक्राउ परेको सङ्खुवासभाको पहिलो घटना हो।
 

२० जेठ, २०७९, २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।