बलात्कार उजुरी रोक्न असफल पल पीडित होस्टायल बनाउँदा पनि धरौटी निकाल्न भएनन् सफल, म्युजिक भिडियोको तयारी गर्ने भए निराश

बलात्कार उजुरी रोक्न असफल पल पीडित होस्टायल बनाउँदा पनि धरौटी निकाल्न भएनन् सफल, म्युजिक भिडियोको तयारी गर्ने भए निराश

काठमाडौँ : विवाहको प्रलोभनमा पारेर आफूलाई पटक-पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाको अभिभावकबाट जिल्ला अदालत तनहुँमा जाहेरी दर्ता गर्नु अगाडि नै अभिनेता पल शाहका धेरै गति धी बाहिरिइसकेको थियो।

नाबालिग गायिकासँग म्युजिक भिडियोमा सँगै अभिनय गर्नेक्रममा दुवै निकट भएको, शारीरिक सम्बन्ध भएको, पलले विवाहको आश्वासन दिए पनि पछि विवाह नगर्ने भनेपछि नाबालिका उजुरीको तयारीमा रहँदा पलका समर्थकहरू मिलेर होस्टायल बनाउँदै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी नाबालिका र उनको परिवारलाई फकाएको।

यी सबै प्रयास बलात्कारको जाहेरीको हदम्याद नघाउने प्रयास मात्रै देखिएपछि नाबालिकाको परिवार जाहेरीका दिन पुगे जिल्ला प्रहरी कार्यालय तनहुँ। अनि इलाका प्रहरी कार्यालय गैँडाकोट। तनहुँमै जाहेरी परे लगत्तै पल फरार भए। पाँच दिनपछि मात्रै नाटकीय रूपमा प्रहरी कार्यालय पुगेर सरेन्डर गरे।

यो बिचमा उनको पक्षमा अनेक नाटक मञ्चन भए। पीडितलाई ह्यारेस गराउन विशेषतः युट्युबहरूको समूह नै सक्रिय देखिए। नाबालिकाको पक्षमा रहेका कृष्ण जोशीले सबै मिलेर पललाई फसाउन खोजेको दाबी गर्दै अन्तर्वार्ताहरू दिए। यो प्रकरणमा जोडिएका दुर्गेश थापा लगायतकाहरुको चर्को विरोध भयो।

फिल्म क्षेत्रका अधिकांश पलकै पक्षमा उभिए। रेखा थापा, ऋचा शर्मा, शृङ्खला खतिवडा लगायतकाले महिलामाथि हुने यौन हिंसाबारे सामाजिक सञ्जालमा लेख्दा उल्टो ट्रोल गरियो। नयाँमा अभिनेत्री पूजा शर्मादेखि पुराना कलाकारमा वसुन्धरा भुसालसम्म पलको पक्षमा मिडियामा आए। के अभिनेत्री के अभिनेता अनि के फिल्म निर्देशक सबै पलको रिहाइको कामना गरिरहे।

नाबालिका बयष्य भइसकेको, उनको जन्म दर्ता र पासपोर्टमा अलग जन्म मिति रहेको, पीडित पहिल्यै अर्कै युवासँग लिभिङ टुगेदरमा रहेको लगायतका काल्पनिक तर्कहरू बढिरहेका थिए। कानुनले १८ वर्ष मानिकासँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि त्यो बलात्कार हुने उल्लेख गरिसक्दा पनि केही विज्ञ यस्तो पनि बलात्कार हुन्छ चिच्याएको खै भन्दै बहसमा सक्रिय थिए।

हरेक विषयमा विज्ञ बनेर युट्वमा छाउने बानी लागेकाहरू पलको पक्षमा नारा लगाउन तनहुँमा भेला भएपछि प्रहरीको साइबर ब्युरोले जथाभाबी बोल्ने विरुद्ध कारबाही सुरु गरेपछि मात्रै उनीहरू मौन भएका थिए।

तनहुँ अदालतमा सुनुवाइ सकिँदासम्म पलका पक्षमा रहेकाहरू उनी सहजै धरौटीमा छुटेर आउनेमा विश्वस्त देखिएका थिए। चैत १० मा आदेश आउँदा उनको धरौटी निस्किएन। लगभग फैसलाकै शैलीमा न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले ७ पन्ने आदेश जारी गरे। अदालतले उनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कारागारमै बसेर कानुनी प्रक्रियामा सहभागी हुन आदेश दिएपछि उनी जिल्ला कारागार दमौली पुगे।

अदालतबाट यौन अपराधसँग जोडिएका घटनाको अनुसन्धान र अदालती प्रक्रियामा मानव बेचबिखन कानुनमा रहेको ' पीडितको बयान सिधै न्यायाधीशको सामुन्ने गराउने र पछि पीडितले थप बयान नदिए या तारेख गुजारे पनि त्यही बयान प्रमाणित हुने'  उल्लेख गरिदिए मात्रै भोलिका यस्ता घटनामा पलहरूको चलखेलको बाटो बन्द हुन सक्थ्यो।

त्यही बिचमा उनको वकिलहरूले उच्च अदालत पोखरामा धरौटीको माग गर्दै जिल्लाको आदेशको पुनरावलोकनको माग गरे। उता जिल्ला अदालत नवलपुरबाट पनि तनहुँकैझैँ आदेश आयो।

अदालती प्रक्रियाको क्रममा जिल्ला अदालत तनहुँले पीडित नाबालिकाको बकपत्र गराउँदा भित्रभित्रै बदलिएको वातावरण सार्वजनिक भयो। नाबालिकाले पलविरुद्ध अनुसन्धानकोक्रममा दिएको सबै बयान अस्वीकार मात्र गरिनन् अर्काको उक्साहटमा बयान दिएको दाबी गरिन्।

अनि स्वास्थ्य परीक्षणबारे इजलासमा जिज्ञासा राख्दा उनले आफ्नो नभएकोसम्म दाबी गरेपछि यो बिचमा पीडित पिडक पक्षको कुनै प्रभाव वा दबाबमा होस्टायल भएको देखिएको थियो।

उता नवबालिकापछि जाहेरीकर्तासँगै पहिला पलको अभियोग पुष्टि हुने गरी बयान गरेकाहरूको पनि बकपत्र बदलिन थाल्यो। बकपत्र मात्रै अभियोग पुष्टि हुने या सफाइ पाउने प्रमाण हैन। अन्य प्रमाणहरूले बकपत्र काटेमा बयान बदलिएको आधारमा मात्रै अदालतले हेर्ने नजर बदलिन सक्दैन।

तर पलका पक्षधरहरूका लागि बकपत्र बदलिनु नै सफाइ पाउनु बराबर थियो। यता उच्चमा जोशीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध पनि पुनरावलोकनको निवेदन पर्यो। पललाई थुनामा पठाउने नवलपुर अदालतको आदेशको समेत पुनरावलोकनको निवेदन परेपछि उच्चले सबै निवेदनलाई एकै इजलासमा सुनुवाइ गर्न आदेश दियो।

यता काठमाडौँमा पल पक्षकाहरुले अब पल छुट्ने अनि उनलाई म्युजिक भिडियोमा अभिनय गराउन २० वटा गीत तयार रहेको अनि ती नाबालिका अनि पललाई अभिनय गराउने फिल्मको तयारी समेत भइसकेको चर्चा चलाएर बसे।

यहीबिच एक युवतीले टिकटक र इन्टाग्रामबाट आफूमाथि ८ वर्ष अगाडि भएको बलात्कार घटना सार्वजनिक गरिन्। पीडक मनोरञ्जन क्षेत्रकै मोडलिङ एजेन्सी अनि सौन्दर्य प्रतियोगिताको आयोजक मनोज पाण्डे रहेको खुलेसँगै समाज पीडितको पक्षमा उभियो। अरू त अरू नाबालिग बलात्कार आरोपमा पल हिरासतमाहुँदा ' पल तिमि मेरो मुटुमा छौँ' छौँ भन्ने अभिनेत्री पूजा शर्मा समेत पीडितको पक्षमा उभिइन्।

यौन हिंसाविरुद्ध समाजमा बन्दै माहौलले बन्दै गयो। उता पलका वकिलहरूले सुनुवाइ सारिरहे २ साता। तर तेस्रो पटक सुनुवाइको मिति सरेन। सुनुवाइ भयो। उता पोखरामा बहस सकिएको सूचना पाएका पलका केही समर्थक उनी धरौटीमा छुट्ने र काठमाडौँ आइहाल्ने विश्वासका साथ २ वटा गाडीमा माला राखेर त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पुगेका थिए।

उता उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ र नवलपुर जिल्ला अदालतको आदेश सदर गरेपछि धरौटीमा छुटेर म्युजिक भिडियो अनि फिल्ममा सक्रिय गराउने पल पक्षको तयारी चकनाचुर बन्यो।

अब के ?

जिल्लाको आदेश पुनरावेदनबाट सदर भएकाले अब पल पक्षबाट धरौटीमा रिहा भएर बाहिरै भएर मुद्दा लड्न पाउँ भन्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिन सक्छन्। उता दुवै अदालतमा फैसलाका लागि अदालती प्रक्रिया चलिनै रहेको छ।

यो बिचमा अदालतबाट फैसला आएमा त्यो फैसला चित्त नबुझाउने जुनसुकै पक्ष यसै गरी उच्च हुँदै सर्वोच्चसम्म आउन पाउँछन्।

उच्च अदालत पोखराको बिहीबारको आदेशले नाबालिग बलात्कार जस्तो गम्भीर अपराधको प्रमाण केवल बयान मात्रै हुँदैन भन्ने कानुनी सन्देश दियो। अब फैसला आउँदा अदालतले कानुनी रूपमै पीडित पक्ष होस्टायल हुने बाटो बन्द गरिदिए यौन अपराधका गम्भीर घटनामा पीडकबाट हुने चलखेल एक हदसम्म रोकिन सक्थ्यो।

यसका लागि अदालतबाट यौन अपराधसँग जोडिएका घटनाको अनुसन्धान र अदालती प्रक्रियामा मानव बेचबिखन कानुनमा रहेको ' पीडितको बयान सिधै न्यायाधीशको सामुन्ने गराउने र पछि पीडितले थप बयान नदिए या तारेख गुजारे पनि त्यही बयान प्रमाणित हुने'  उल्लेख गरिदिए मात्रै भोलिका यस्ता घटनामा पलहरूको चलखेलको बाटो बन्द हुन सक्थ्यो।

१९ जेठ, २०७९, २१:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।