तारा एयर विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौंमा [फोटो कथा]

तारा एयर विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौंमा [फोटो कथा]
तस्बिरहरू: कृष्पा श्रेष्ठ

काठमाडौंः मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा तारा एयरको विमान दुर्घटनाग्रस्त भएर मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ। हिजो दुर्घटनामा परी मृत्यु भएका १० र आज १२ जनाको शव ल्याइएको हो।

काठमाडौं ल्याइएका शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। त्यसपछि शव आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन भइसकेको छ। मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो।

आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

विमान आइतबारदेखि सम्पर्कविहीन भएर मानापाथी हिमालको फेदीमा रहेको पहाडमा ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो।

पोखराबाट बिहान ९ः५५ मा जोमसोमका लागि उडेको तारा एयरको ९ एन- एईटी विमान बिहान १०ः०७ बजे सम्पर्कविहीन भएको थियो।

१७ जेठ, २०७९, १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।