संघले बनाएको सडकमा जस लिन होडबाजी, बिहान मेयर र बेलुका उपमेयर सडकमा

संघले बनाएको सडकमा जस लिन होडबाजी, बिहान मेयर र बेलुका उपमेयर सडकमा

बुटवल : व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडक अन्तर्गत बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सुरु भएपछि जस आफूले लिनका लागि बुटवलका नवनिर्वाचित मेयर र उपमेयरबीच होडबाजी नै सुरु भएको छ।

गत मंगलबार उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी लगायतको उपस्थितिमा भएको छलफलमा ठेकेदारलाई बुटवलको बाटो छिटो बनाउन निर्देशन दिइएको थियो। त्यसपछि ठेकेदार कम्पनीले धमाधम बुटवलको अस्पताल लाइनमा देखिने गरी काम गरिरहेको छ।

ठेकेदारले काम सुरु गर्नासाथ शुक्रबार बिहान र साँझ बुटवलमा दुई फरक/फरक दृश्य देखिए।  मेयर र उपमेयर छुट्टाछुट्टै समयमा बुटवलको सडकमा निस्किए। 

शुक्रबार बिहान सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले अस्पताल लाइनमा खाल्डा सम्याउन सुरु गर्यो। काम सुरु भएको स्थानमा पुगेका नवनिर्वाचित मेयर पाण्डेय त्यसपछि एकाएक चर्चामा आएका छन्।

बुटवल चौराह–गोलपार्क निर्माणाधीन सडक मर्मत गर्न नगरप्रमुख पाण्डेयले चासो देखाएको भन्दै अहिले उनको चर्चा चुलिएको हो। कतिपयले इच्छाशक्ति भए काम गर्न कुनै समय नलाग्ने भनेर टिप्पणी गरेका छन् भने कतिपयले कांग्रेसले बोल्ने मात्र नभई, काम गर्ने र त्यसको उदाहरण पाण्डेयले प्रस्तुत गरेको टिप्पणी गरेका छन्।

शुक्रबार बिहान अस्पताल लाइनमा मेन क्याजवेयको पुरानो कालोपत्रे उक्काएर मिस्कटलाई रोलर लगाउँदै गर्दा पाण्डेय सडकमा उत्रिएका थिए।

त्यही साँझ फेरि अर्को तस्बिर सञ्जालमा आयो, नवनिर्वाचित उपमेयर सावित्रादेवी अर्यालको। अस्पताललाइमा निर्माणाधीन सडकमा उभिएकी उपमेयरको चर्चा पनि फेरि सुरु भयो। त्यो तस्बिरलाई लिएर कतिपयले अर्यालको पहलमा राति पनि बुटवलको सडकमा काम भइरहेको भन्दै प्रशंसा गरे। कतिपयले दिउँसो मेयर र राति उपमेयर काममा खटिएको बताए।

आयोजना प्रमुख, ठेकेदारलाई काम छिटो गर्न निर्देशन दिनु, अन्तिम पटक थप भएको म्याद असारमा सकिनुअघि ठेकेदारले काम धमाधम गर्नु ‘बाघ कराउनु, बाख्रा हराउनु’ जस्तै संयोग मान्न सकिन्छ।

संघ सरकार माताहतबाट निर्माण भइरहेको यो आयोजना छिटो सम्पन्न गर्न यसअघिका मेयर शिवराज सुवेदीले पनि पटक–पटक कार्यालय प्रमुख, ठेकेदारलाई छिटो काम गर्न अनुरोध दिएका थिए। भलै ठेकेदारले यसतर्फ चासो दिएनन्। 

‘ठेकेदारलाई पटक–पटक ध्यानार्कषण गराउँदा चुनावअघिसम्म उसले टेरेन। निर्वाचन सकिए लगत्तै ठेकेदारले काम देखाउनु भनेको बुटवलको सडकमा कांग्रेसले चुनावी रणनीति अनुसार शक्ति प्रयोग गरेर काम रोकेको प्रमाणित हुन्छ,’ बुटवलका एक व्यवसायीले भने।

संविधानमै नभएको अधिकार पाण्डेले ‘सस्तो लोकप्रियता’ कमाउन चुनावअघि पनि बुटवलको सडक केन्द्र सरकारले नबनाउने भए उपमहानगरले बनाउने भन्दै निर्वाचनअघि वाणिज्य क्याम्पसको खेल मैदानमा भएको चुनावी सभामा बोलेका थिए। 

त्यसो त अस्पताल लाइनको मेन कजवेयको ६ सय मिटर सडक चुनावअघि अर्थात् वैशाख ३० गतेभित्र सम्पन्न गर्ने माइन्युट ठेकेदारले गरेको थियो। बुटवल बेलहिया व्यापारिक आयोजनाको आयोजना प्रमुखको रूपमा दीपक झाले समेत ठेकेदारले विभागमा वैशाख मसान्तसम्म ६ सय मिटर सडक कालोपत्रे गर्ने सम्झौता गरेर आएको गत वैशाख ९ गते नै उकेरालाई बताएका थिए।

ठेकेदार कम्पनीलाई विभागमै हाजिर गराएर वैशाख मसान्तसम्म अस्पताल लाइनको ६ सय मिटर मेन कजवे कालोपत्रे गर्नेगरी माइन्युट गराएको भए पनि ठेकेदारले भने कांग्रेसी चुनावी रणनीति अनुसार वैशाख महिनाभित्र सडक कालोपत्रे नगरेको यहाँका एमाले नेताहरु बताउँछन्। 

व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख झाले चुनावअघि गर्ने भनेको काम अहिले ठेकेदारले बल्ल सुरु गरेको बताए। विभागमा वैशाख ३० गतेभित्र मेन कजवेमा कालोपत्रे गर्ने म्याइन्युट गरेको भए पनि चुनावमा कामदार मतदान गर्न घरमा गएकाले काम गर्न नसकेको र अहिले कामदार काममा फर्केकाले कालोपत्रेका लागि काम ठेकेदारले गरिरहेको उनले बताए।

‘मैले वैशाखमा काम नगरेपछि यसको जानाकारी विभागलाई पनि गराएँ। विभागले ठेकेदारलाई सचेत समेत बनायो। अहिले बल्ल धमाधम काम भएको छ। अहिले ग्रेडिङको काम भएको छ। अब छिट्टै ठेकेदारले कालोपत्रे अस्पताल लाइनमा गर्दैछ,’ उनले भने।

उनले अझै पनि सडक निर्माण क्षेत्रमा खानेपानीका पाइपहरु र विद्युत पोल, ट्रान्सफर्मरहरु हटाउन बाँकी रहेकोले सर्भिस लेनको काम गर्न अप्ठ्यारो भइरहेको बताए। ‘विद्युत प्राधिकरणलाई ट्रान्सफर्मर हटाउन भन्दा गर्मीमा हटाउन गाहो हुन्छ कि भन्ने कुरा गर्नुभएको छ। त्यही कारण सर्भिस लेन छाडेर मेन कजवे कालोपत्रे हुन्छ,’ उनले भने।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले १० गते उपमहानगरपालिकामा ठेकेदार, आयोजना प्रमुखलाई छिटो कालोपत्रे गर्न निर्देशन दिएकाले त्यही निर्देशन अनुसार काम भए/नभएको हेर्न सडकमा पुगेको बताइन्। उनले छलफलका वर्षा अगावै मेन कजवेमा कालोपत्रे गर्ने काम ठेकेदारले गर्ने बताएको बताइन्।

असार मसान्त सम्म सडक सम्पन्न नहुने
व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकअन्तर्गत बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक निर्माणको पछिल्लो थपिएको म्याद असार मसान्तसम्म हो। तर असार मसान्तसम्ममा पनि सडक निर्माण सम्पन्न नहुने निश्चित जस्तै भएको छ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले सुस्त गतिमा काम गर्दा असारमा काम नसकिने निश्चित भएको हो। २०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो। 

अहिले पनि कतिपय स्थानमा विद्युतका पोलहरू समेत स्थानान्तरण गर्न बाँकी रहेको उनले बताइन्। चार लेनको सडकलाई ६ लेनको बनाउन ०७३ देखि निर्माण थालिएको भए पनि बुटवलका घरधनी अदालतमा क्षतिपूर्तिको माग गर्दै पुग्दा ढिला भएको हो।

२०७३ देखि विस्तार थालिएको बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकको दूरी करिब साढे ३ किलोमिटर छ। सर्वोच्च अदालतले २०७७ पुस २० गते काम–कारबाही अगाडि बढाउन आदेश जारी गरेपछि विस्तारको काम गर्ने बाटो खुलेको थियो। तर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा कामले गति लिन सकिरहेको छैन।

१६ जेठ, २०७९, २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।