शपथमा बालेनको बदलिएको गेटअप, तर छाडेनन् चस्मा

शपथमा बालेनको बदलिएको गेटअप, तर छाडेनन् चस्मा

काठमाडौंः काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर-उपमेयरसहितका जनप्रतिनिधिहरूले आज पदबहाली गरे। पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

राष्ट्रिय सभा गृहमा आयोजित शपथ ग्रहण कार्यक्रममा मेयर बालेन्द्र साह उर्फ बालेन भादगाउँले टोपी र दौरा सुरुवालमा सजिएर आएका थिए। शपथका लागि बालेनले गेटअप बदलेर आएका थिए। तर चस्मा भने छाडेनन्।

यता उपमेयर सुनिता डङ्गोल ढाका चोली र सारीमा थिइन्।

बालेन एक्लै आएका थिएनन्। श्रीमतीसहित आएका थिए। श्रीमती बालेनको छेवैमा बसिन्। फूलमाला र अबीर पनि लगाइन्। बालेन बीचमा बसे। दाहिनेपट्टी श्रीमती थिइन्। देब्रेपट्टी उपमेयर सुनिता।

तर निर्वाचनअघि, मतगणनाको बेला र निर्वाचित भइसकेपछि पनि खुशी र कन्फिडेन्ट देखिने सुनिता आजको समारोहमा भने निराश देखिइन्।

निराश मात्र होइन, हतारमा देखिइन्। घरिघरि घडी हेर्थिन्। माला र टीका लगाए पनि उल्लासविहीन थिइन्।

यता बालेन थोरै नर्भस देखिएका थिए। हुन त निर्वाचनको दिनसम्म मात्र बालेन कन्फिडेन्ट छन्। मतगणना चलेदेखि नै उनी बोल्दा लरबराउन थालेका छन्। नर्भस देखिन थालेका छन्। पहिला हरेक प्रश्नको ब्याक टु ब्याक जवाफ दिने बालेनको निर्वाचित भएपछि जवाफ दिने हाउभाउ नै बदलिएको छ।

बालेनले नेपाली र नेपाल भाषामा शपथ लिए। सुनिताले नेपाल भाषामा शपथ लिइन्।

मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाण पत्र लिएपछि बालेनले भने अबीर र माला लगाएनन्। उनले काठमाडौंको समस्या समाधान नगरेसम्म अबिर र माला नलगाउने घोषणा नै गरेका छन्।

१६ जेठ, २०७९, १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।