पोखराका नवनिर्वाचित मेयर आचार्यसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण 

पोखराका नवनिर्वाचित मेयर आचार्यसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण 

पोखराः पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। बिहीबार प्रदर्शनी केन्द्रमा आयोजना गरिएको विजय उत्सव समारोहमा मेयर आचार्यले निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नलाई सही तरिकाले नराखेका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको अभिव्यक्ति दिएका थिए।

यही कारण उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो।

आयोगले आचार्यलाई उनले बोलेको विषय तथा श्रव्यदृश्य सामग्रीहरू के कति कारणले अभिव्यक्त गरेको हो? भन्दै प्रश्न सोधेको छ। यस्तै निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ?, मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ वा छैन? भन्दै स्पष्टीकरण सोधेको छ।

स्पष्टीकरण माग गरिएको पत्रमा आयोगले राजनीतिक दल, विज्ञ, सरोकारवालाहरूको सहमति तथा रायका आधारमा ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनदेखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्र तयार गरिएको उल्लेख गर्दै आयोगप्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो भनी प्रश्न सोधेको छ।

त्यसैगरी स्पष्टीकरणमा आयोगले विज्ञ टोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णयले व्यक्तिगत दुराग्रह राखेर आक्षेप लगाउन मिल्छ वा मिल्दैन भन्ने प्रश्न पनि गरेको छ।

आयोगले निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा ३५ मा कसैले पनि यस ऐनमा उल्लेख गरिएका निर्वाचन सम्बन्धी कार्यमा प्रतिकूल हुनेगरी कुनै पनि कार्य गर्न वा गराउन नहुने उल्लेख भएको सन्दर्भमा आयोग र पदाधिकारीविरुद्ध बोलेको भन्दै आचार्यलाई प्रश्न गरिएको छ।

यस्तै आयोगले मेयर आचार्यलाई कानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याईँ गर्ने आधार, प्रमाण र कारण के छ? भन्दै प्रष्ट पार्न समेत निर्देशन दिएको छ।

त्यस्तै आयोगका पदाधिकारीको विरुद्धमा आम नागरिकमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य मार्फत स्थानीय तह निर्वाचनको निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाउनुको कारण खुलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

१४ जेठ, २०७९, १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।